Logo

तिलाठी कोईलाडी गाउँपालिकालाई मुलुककै नमुना गाउँपालिका बनाउन लागि परेको छुः सतिश सिंह



काठमाडौं । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले मुलुककै नमुना गाँउपालिका बनाउन आफु लागि परेको बताएका छन् । टुडेखबर सँग आज विशेष कुराकानी गर्दै उनले भने, पच्छिलो एक वर्षमा आफु गाउँपालिकाको विकासका लागि दिनको १८ घण्टा र हप्ताको सातै दिन निरन्तर काम गरी रहेको छु । आम जनताको सरोकार र विकासका लागि म १८ घण्टा जति बेला पनि खटेको छु । उनले भने, मैले गाँउपालिकाको नेतृत्व गरी रहँदा राजनीति भन्दा बढी विकासका लागि समय खर्चेको छु ।

उनले भने, मेरो लागि राजनीति पेशा होइन, मैले राजनीतिलाई सेवाको रुपमा लिएको छु, मलाई थाहा छ, म सधैं गाउँपालिकाको यही पदमा रहँदिन, तर, जनताको सरोकार र चासोको विषय मेरो पहिलो प्राथमिकता हो । हो काम गर्दा कतिपय अप्ठयाराहरु आएका छन्, म त्यस अप्ठयाराहरुलाई चिर्दै जनताले प्रत्यक्ष अनुभूमि हुने गरी काम गरी रहेको छु ।

अर्काे एक प्रसंगमा उनले भने, म कमाउनको लागि राजनीतिमा आएको होइन, भगवानको दयाले म सँग खान लगाउन कसै सँग हात जोडनु पर्दैन न त राजनीति नै गर्नु पर्छ, त्यही भएर म राजनीतिमा आफनो लागि भन्दा पनि समाज र देशका योगदान दिन आएको हुँ । मेरो एक मात्र इच्छा छ, मैले नेतृत्व गरेको तिलाठी कोइलाडी गाउँपालिकालाई मुलुकको नमुना गाँउपालिकाको रुपमा स्थापित गराउनु, त्यसको लागि म हरसम्भव प्रयास गरी रहको छु । यसमा मलाई सबैको साथ, सहयोग र सल्लाहको जरुरी छ ।

बाढीबाट जोगाउने प्रयासः

तिलाठी कोईलाडी गाउँपालिकाका जनताले २०७२ सालमा गएको भिषण बाढीले सबैभन्दा बढी क्षति र पिडा भोग्नु पर्यो । त्यसको केही वर्षमै उनी गाउँपालिका अध्यक्ष निर्वाचित भए । त्यसपछि उनको एउटै ध्याउन्न रह्यो बाढीबाट बस्ती जोगाउने । जनधनको क्षति न्यून गर्ने । खाँडोसँग जोडिएको सरकारी परियोजनाले बजेट नभएको जनाउ दिएपछि अध्यक्ष सिंहले गाउँपालिकाका दुईवटा ठूला योजनाको रकम एकै ठाउँमा ल्याएर बाँध निर्माणको काम सुरु गरे । करिब एक करोड रुपैयाँ छुट्याइएको बाँध निर्माणका लागि गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ खर्च गरिएको छ ।

अब तीन किलोमिटरको दूरीमध्ये जम्मा तीनचार सय मिटर बाँध बनाउन बाँकी छ ।  अहिले मुद्दा परेकाले  बाँधलाई पूर्णता दिने काम रोकिएको छ । बाँध निर्माण भएपछि बाढी प्रभावित बस्ती सुरक्षित हुने उनले विश्वास व्यक्त गरे।

विपद व्यस्थापनमा जोडः

गाउँपालिकाले विपत्सम्बन्धी ऐननियम बनाएर नेपालमै पहिलोपटक विपद् कोष स्थापना गर्न सफल भएको छ । उनले भने, कोषमा अहिले २५ लाख रुपैयाँ छ । कोषको रकमबाट अग्नि र बाढी पीडित, सर्पदंशजस्ता घटना तथा शीतलहर प्रभावित आदि विपद्का शिकार भएकाहरूलाई उद्धार तथा राहत कार्यमा उपयोग गरिने छ ।

गुणात्मक शिक्षामा जोडः

गाउँका विद्यालयमा शिक्षक बस्दैनथे । जसले गर्दा पठनपाठन अस्तव्यस्त थियो । शिक्षकको हेलचेक्रयाइँका कारण विद्यार्थीको शिक्षाको स्तर पनि निकै कमजोर थियो । त्यसपछि अध्यक्ष सिंहले विद्यालयको निर्धारित समयमा शिक्षकको अनिवार्य उपस्थिति र सिकाइ प्रक्रिया पूरा भएको वा नभएको जाँच गर्ने प्रणाली विकासमा ध्यान दिए । ‘प्रत्येक शिक्षकलाई डायरी दिइयो ।

कक्षामा उनले पाठ्यक्रमअनुसार पढाएका कुरालाई दैनिक उल्लेख गर्नुपर्ने भयो । जसमा विद्यालयका प्रधानाध्यापक र कक्षाका ‘मोनिटर’ ले अनिवार्य रुजु गरेको हुनुपर्ने बनाइयो,’ अध्यक्ष सिंह सम्झन्छन्, ‘यसले गर्दा पठनपाठनप्रति शिक्षक र विद्यार्थी दुवैमा एक खालको गम्भीरता वृद्धि भयो । गलत गर्नेहरूका बारेमा सही जानकारी संकलन हुने पद्धति बस्यो । जसबाट हिजोआज हामीले सटीक ढंगले अनुगमन गर्न सकिरहेका छौं ।’

विद्यार्थीलाई पढ्न र अपेक्षित सफलता प्राप्त गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिका कार्यालयले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा एसइईमा पहिलो स्थान हासिल गर्दा एक–एकजना गरी छात्रछात्रालाई यो वर्ष साइकल र गाउँपालिकास्तरमा पहिलो हुनेलाई ल्यापटप दिएको छ । यो पुरस्कार प्रत्येक वर्ष निरन्तर प्रदान गरिने उनले बताए । राष्ट्रियस्तरमा उच्च स्थान हासिल गर्ने गाँउपालिका विद्यार्थीलाई समेत उचित ठुलो राशीको पुरस्कारको व्यस्था गर्न मेरो प्रयास जारी रहने उनको भनाई छ ।

युवा र वृद्धिवृद्धा लक्षित कार्यक्रम :

गाउँपालिकाका उल्लेख्य संख्यामा युवा पनि रोजगारका लागि विदेशिएका छन् ।युवाहरु विदेशिएको कारण गाउँमा वृद्धवृद्धा र बालबालिकाको उपस्थिती बढी छ  । प्रत्येक महिनामा सामान्य स्वास्थ्य जाँच र पिसाब जाँचबाट प्रोटिन, सुगर र किडनीको अवस्था पहिचान गरी सामान्य समस्या भए तत्काल उपचार र जटिलता देखिए उपयुक्त स्वास्थ्य संस्थामा पठाउने  कार्य भइरहेको छ ।

गाउँपालिकामा रहेका वेरोजगार युवाको लागि लक्षित गरी विभिन्न तालिमहरुको लागि प्रयास जारी रहेको छ । निकट भविष्यमा युवाहरुलाई लक्षित गरी प्राविधिक तालिम, कृषि तालिम लगायतका विषयमा विभिन्न सम्बन्धीत निकाय सँग सहकार्य गरी तालिमको लागि प्रयासरत रहेको छु, आशा गरौं छिटो भन्दा छिटो यो कार्यक्रम सुरु हुनेछ, उनले बताए ।

प्रतिक्रिया दिनुहोस्