Logo

उपेन्द्र महतो, अजेय सुमार्गी, चन्द्र ढकालदेखि शशिकान्त अग्रवाल र चौधरी गुप्र सम्मले लुकाए विदेशमा पैसा



काठमाडौं– गैरकानुनी रुपमा आर्जित धन विदेशमा लुकाउनेमा प्रतिष्ठित व्यापारी उपेन्द्र महतो, अजेय सुमार्गी, चन्द्र ढकालदेखि शशीकान्त अग्रवालसम्म परेका छन्। खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजले यस्तो खुलासा गरेको हो।

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ,’ खोपकेले भनेको छ। यसरी गैरकानुनी रुपमा विदेशमा लगानी गर्नेमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत परेका छन्।

हेर्नुहोस् खोपकेको खुलासा 
५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ ।

विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगी÷व्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन् । केहीको ठेगाना खुल्न सकेको छैन । नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो । गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ ।

पूर्व सांसद् वीरेन्द्र महतो
हाल संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य, पूर्व सांसद् वीरेन्द्र महतोको बेलारुसमा ‘ओजेएससी एम्कोडोर होल्डिङ लिमिटेड कम्पनी’ मा लगानी छ । चार जना लगानीकर्ता रहेको एम्कोडोरका साझेदारहरूमा गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ, वीरेन्द्रका दाइ गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष उपेन्द्र महतो र उनका विदेशी साझेदार रोमियो अब्दो हुन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो कर छली प्रकरण– एनसेलमा पनि जोडिन्छन अब्दो । एनसेल बिक्री प्रकरणमा झन्डै ६१ अर्ब रुपैयाँ (हाल ७२ अर्ब पुगिसक्यो) कर छली गरेर बाहिरिएको टेलियासोनेराको तर्फबाट एनसेलमा प्रतिनिधित्व गर्थे उनी । अब्दो टेलियासोनेराले नेपालको एनसेल कम्पनीमा लगानी गरिरहेका वेलाका अध्यक्ष हुन् । कागजातहरूले लेवनानी मूलका अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् भन्ने देखाउँछ ।

वीरेन्द्र महतोले सात वर्षअघि लगानी गरेको स्वीकार गरे । “करीब सात वर्ष पहिले मेरो लगानी थियो, अहिले छैन” उनले भने, “नेपालबाट अन्य लगानीकर्ता को को थिए त्यसबारे मलाई थाहा छैन ।” बेलारुस छाडेर अहिले नेपालमा नै बसिरहेको उनले बताए । महतोले भने “पहिले गैरआवासीय नेपाली थिएँ । अहिले छैन ।” आफूले रोमियो अब्दोलाई नचिनेको उनको भनाइ थियो ।

निरज, समता र उपेन्द्र
सन् २०१५ मा आईसीआईजेको ‘पनामा पेपर्स’ खुलासामा उपेन्द्र महतोका नाममा ‘ट्याक्स हेवन’ मुलुकमा कम्पनीहरू रहेको उल्लेख थियो । हामीले प्राप्त गरेका कागजातहरूले महतो, उनकी श्रीमती समता र उनका साझेदार निरजगोविन्द श्रेष्ठका नाममा ब्रिटिश भर्जिन आइल्यान्डस्, साइप्रस, बेलारुस, बेलायत र भारतमा लगानी रहेको देखाउँछ । उनीहरूमध्ये कुनै दुई वा तीनैका नाममा रहेका कम्पनीहरूमा स्पार्टली भेन्चर, पंकुर फाइनान्स, टिपोलोजिया, मनिस्टार, एम्कोडोर, बिएन्डके, यज्ञदिप, युमि नेपाल अर्थक्वेक, नोष्टल बिजनेश कर्व, मावेल एपरेल, युमि अपिल नेपाल अर्थ क्वेक छन् । यसबारेमा महतोले कुनै प्रतिक्रिया दिन मानेनन् ।

अजेयराज सुमार्गी र अर्जुन शर्मा
व्यवसायी अजेयराज सुमार्गीको पनि विदेशमा लगानी रहेको भेटिएको छ । आईसीआईजेसँग आवद्ध साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले ट्याक्स हेवन मुलुक साइप्रसको ‘डिपार्टमेन्ट अफ रजिष्ट्रार अफ कम्पनिज एन्ड अफिसियल रिसिभर’ का विवरणहरू खोपकेलाई उपलब्ध गराए । ती दस्तावेजका अनुसार, सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा लगानी गरेको भेटियो । साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलिएको हो । ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक ल फर्मले दर्ता गराइदिएको एयरबेलका लगानीकर्ताहरूमा अजयराज सुमार्गी पराजुली, नेपालस्थित सुमार्गीको कम्पनी मुक्तिश्री प्रालिमा काम गर्ने अर्जुन शर्मा, ब्रिटिश भर्जिन आइल्यान्डस्को जोधार इन्भेष्टमेन्ट्स प्रालि र अरू १२ जना विदेशी नागरिक छन् । सुमार्गीको ठेगाना हेटौंडा–५ मकवानपुर नेपाल लेखिएको छ भने शर्माको कमलादी काठमाडौं–२ उल्लेख छ ।

साइप्रसका खोज पत्रकार स्तेलियोसका अनुसार, “साइप्रसमा सुमार्गीको कम्पनी दर्ता हुँदा नेपालको मात्रै हैन, साइप्रसको समेत कानून उल्लंघन भएको छ । विदेशमा लगानी गर्न नपाउने देशका नागरिकले साइप्रसमा पनि लगानी गर्न पाउँदैन । म्याग्नमसर्भ ल फर्मले नेपालीले विदेशमा लगानी गर्न नपाउने कानूनी व्यवस्थाबारे थाहा पाउनु जरूरी थियो ।”

सुमार्गी र शर्माले विदेशमा लगानी गरेर कानूनको स्पष्ट उल्लंघन गरे । त्यति मात्रै होइन नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीका नाममा विदेशको आफ्नै कम्पनीबाट नेपालमा रकम भित्र्याउने काम समेत गरे । यसअघि सार्वजनिक भएको विवरण अनुसार, उनीहरूले नेपालका सरकारी निकायसँग अनुमति नलिई विदेशी लगानीको नाममा आफ्नै एयरबेल कम्पनीबाट नेपाल रकम भित्र्याएका थिए । २०७४ पुसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तयार गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार, “सन् २००८ देखि २०१३ सम्ममा सुमार्गीले ९ पटक गरेर ६ करोड ३१ लाख ८५ हजार ५३३ अमेरिकी डलर (६ अर्ब ३१ करोड ८५ लाख ५३ हजार ३५५ रुपैया“) एयरबेलबाट आफ्ना नेपाली कम्पनीमा भित्र्याएको देखिन्छ ।” यस बाहेक पनि सुमार्गीले अरू विभिन्न विदेशी कम्पनीबाट करीब ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब रुपैयाँ) अहिलेसम्म नेपाल भित्र्याइसकेका छन् ।

सुमार्गीले एयरबेलमा आफ्नो लगानी नभएको बताए । “साइप्रसको एयरबेल भन्ने कम्पनीमा कसरी मेरो लगानी हुनु ? तपाईंले पाउनुभएको डकुमेन्टमा त्यही सूचना छ भने लेख्नुस् ।” उनले विदेशबाट सबै रकम सरकारमार्फत औपचारिक रूपमा नै ल्याएको दाबी गरे । सुमार्गीले भने, “मेरो टेलिफोन कम्पनीको मालिक नै एयरबेल हो । एयरबेलको मालिक टेलियासोनेरा हो ।” उपेन्द्र महतो र टेलियासोनेरासँगको साझेदारीको विषयमा उनले भने, “मलाई थाहा छैन । यसबारे उपेन्द्र महतोलाई नै सोध्नुस् ।”
सुमार्गीकै कम्पनीमा काम गर्ने शर्माले चाहिं साइप्रसको एयरबेल कम्पनीमा तपाईंको लगानी रहेछ नि भन्ने प्रश्न सोध्ने बित्तिकै टेलिफोन काटिदिए । दोस्रो पटक फोन उठाए, बोलेनन् । तेस्रो पटक फोन गर्दा काटे । चौथो पटकमा फोन नै अफ गरे ।

परिवारकै लगानी 
चौधरी परिवारका चार जनाको नाममा विदेशमा लगानी रहेको भेटियो । अरुणकुमार चौधरी र उनकी श्रीमती शिला, छोरा करण र सुुर्भान्सको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा अर्सिन लिमिटेड कम्पनी दर्ता छ । आईसीआईजेका अनुसार, सन् २००४ मा दर्ता भएको यो कम्पनीको नेपालको ठेगाना सरस्वती सदन, ठमेल उल्लेख छ । आईसीआईजेका अनुसार, अर्को ट्याक्स हेवन टापु गर्नजीमा दर्ता रहेका दुुई विदेशी कम्पनी यो कम्पनीका साझेदार छन् । टेन्बी नोमिनिज लिमिटेड र ब्रोक नोमिनिज लिमिटेड चौधरीका साझेदार कम्पनी हुन् । टेन्बी र ब्रोक कम्पनीमा को को शेयर होल्डर छन् भन्ने चाहिं खुल्न सकेन । उक्त कम्पनी अहिले अस्तित्वमा नभएको चौधरीको भनाइ छ । चौधरीले भने, “मेरो बच्चा धेरै सानो हुँदा बेलायतका साथीहरूले छोरालाई बेलायतमा पढाउने हो भने तिमीलाई सजिलो हुन्छ कम्पनी खोल भनेका थिए तर खोलिनँ । आईसीआईजेमा कताबाट त्यो खबर आयो थाहा भएन । त्यो आएपछि मलाई धेरै अप्ठेरो पर्‍यो ।”

राजेन्द्रकुमार काव्रा र उनकी श्रीमती रेखा काव्रा विदेशमा लगानी गर्ने अर्को परिवार हो । उनीहरूले एउटै कम्पनीमा लगानी गरेका छन् । शुक्रपथ काठमाडौं ठेगाना उल्लेख उनीहरूले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्यान्डस्मा फ्रेगे्रन्स टाउन लिमिटेड नामक कम्पनी दर्ता गरेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, राजेन्द्र काव्रा भृकुटी कागज उद्योगका लगानीकर्तामध्ये एक हुन् । विदेशमा लगानीबारे काव्रा समूहले केही बताउन चाहेन । रेखाले सबै कुरा श्रीमान्लाई मात्रै थाहा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्