Logo

धुर्मुसेलाई चन्दा किन नदिने ? : कुसुम भट्टराई



कुसुम भट्टराई

धर्मुसेलाई ‘माग्ने’ बनाई जनतासँग मागेको पैसाले क्रिकेट रँगशाला बनाउनुथियो भने यो देशमा गणतन्त्र किन ल्याएको ? पंचायतकालमा पनि कलाकारहरुले चन्दा उठाएर धेरै ठाउँमा पंचायत रजत स्तम्भ र द्वारहरु बनादिएकै थिए, एउटा रँगशाला पनि बनाइदिन्थे ।

गणतन्त्र आएपछि राज्यले नै जनताका लागि सबथोक गर्छ भन्ने सपना देखाएर जनताका छोराछोरीलाई जर्बदस्ती हतियार बोकाइयो । पढिरहेका कलिला युवालाई जनवादी शिक्षाको दुहाइ दिएर युद्धमा होमियो र कालान्तरमा तिनलाई अयोग्य भनेर लत्याइयो, जो आज विदेशमा सस्तो मुल्यमा श्रम बेच्न बाध्य छन् ।

जनयुद्धका नाममा विसौं हजार नेपालीको बेफवाँकमा ज्यान गयो । आज ‘गणतन्त्र हामीले नै ल्याएका हौं’ भनेर दावी गर्नेहरुले तिन अर्बको जाबो एउटा रंगशाला बनाउन धुर्मुसेको सहारा लिनु लज्जाको विषय हो कि हैन ?

मेयर रेणुजी, बिक्न नसकेर बारीमै सडीरहेका बन्दाकोवीका कृषकहरुको घाउमा मल्हम दल्नुस् । उचित मुल्य नपाएर किसानहरु बारीमै तरकारी नष्ट गरीरहेका छन्, उनीहरुको समस्यामा ध्यान दिनुस् । फालतुको क्रिकेटका चक्करमा नलाग्नुस्, यसले तपाई र तपाइको परिवारको राजनीतिक उचाई घटाइरहेको छ ।

मुलपानीको बन्दाबन्दै अलपत्र परेको रँगशालालाई पूर्णता दिउँ । धुर्मुसे चन्दा माग्न आएमा सोधौं, ‘नमुना नेपाल बनाउने भनेर दिएको चन्दा कहाँ गयो ?’

हल्का चर्चामा आउने र आफ्नो ख्यातीलाई भजाएर आर्थिक वैभवता हासिल गर्ने धेरै छट्टुहरु यो देशमा हामीले देखेकै हो । राजनीतिक रुपमा ख्याती कमाएका नेताहरु त्यही ख्याती भजाएर मालामाल भए । हाम्रो देशका कलाकार विचराहरुको भविश्य सुरक्षित छैन । कलाकारिताको क्रेज घटेपछि विरामी हुँदा औषधि मुलो गर्ने रकम समेत हुँदैन । सायद यही सोचेर धुर्मसे र सून्तलीले पनि अली दरीलै फन्डा आँटेको हुनसक्छ । त्यत्रा धेरै पात्रहरुको चरीत्र निर्वाह गर्ने धुर्मुसेलाई के गर्दा आफुहरुलाई लाभ हुन्छ भन्ने हेक्का नभएको हैन । उनले सोचे होला, दुइ तिहाई कम्युनिष्ट सरकारलाई अबका पाँच वर्ष कसैले ढाल्न सक्दैन, अब यीनकै शरणमा नपरी धरै छैन । प्रचण्ड भनेका आजका सबैभन्दा नामुद खेलाडि । खेल खेल्ने नै हो भने अब उनीसँगै मिल्नु मनासिब ठाने, धुर्मुसले ।

दाहालजीलाई पनि आफ्ना बिगतका काला करततुहरु पखाल्नुथियो । धुर्मुसेजस्ता लोकप्रिय कलाकारको साथ पाएपछि दाहाल परिवारलाई पनि जनताले भावनात्मक रुपमा आत्मसात गर्ने भए । धुमुसेको काँधमा बन्दुक राखेर सस्तो लोकप्रियताको फायर खोल्न सकिने भो । यसरी दुबै पक्षको स्वार्थ यहाँनेर मिल्न पुग्यो ।

हामी जनताको स्वार्थ चाहिँ के त ? हामीले रँगशाला बनेर के पाउने ? के टिकट फ्रि हुन्छ ? के त्यो संरचनाको शेयर पाइन्छ ? के रँगशालाबाट उठेको रकम जन हितमा खर्च हुन्छ ? थोरै रकम सरकारको खातामा राखेर बाँकी रकममा नेकपाका ठेटनाहरुले मस्ती मार्ने न हो । अनि किन दिने चन्दा ?

धुर्मुसे ब्रो, हामी त सुको चन्दा दिन्नौं । यस्तो धन्दा छाड र फिल्म बनाउनतिर लाग । बरु, मसँग दामी स्टोरी र स्क्रीप्ट छ । सल्लाह गरौं । छक्का पन्जा नै गर्ने हो भने दिपकराज र दिपाश्रीले झैं हरेक वर्ष पर्दामै छक्का पन्जा गर न । कर्म पनि भो, कमाइ पनि भो ।

हामी एकातिर ‘डा. गोविन्द केसी चिकित्सक भएकाले उनले उपचार मात्र गर्नुपर्छ, अनसन बस्ने काम उनको हैन’ भनिरहेका छौं । यही प्रश्न हामी धुर्मुस र सुन्तलीलाई गरौं न ।

प्रतिक्रिया दिनुहोस्