Logo

सडक सञ्जाल तथा यातायात क्षेत्रको व्यवस्थापनमा पूर्ण सफलता : भौतिक पूर्वाधार तथा यातायात मन्त्री



काठमाडौं,२९ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक सञ्जाल तथा यातायात क्षेत्रको व्यवस्थापनमा पूर्ण रुपमा सफलता हासिल गर्न नसकेको स्वीकार्नु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्री महासेठले सडक तथा यातायात क्षेत्रको व्यवस्थापनमा पूर्ण सफलता हासिल नभएपनि सन्तोषजनक रहेको बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले संघीय संसद सचिवालयमा दर्ता गराउनु भएको सडक सुरक्षा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आजको बैठकमा छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री महासेठले बढ्दो दुर्घटना न्यूनिकरणका लागि आवश्यक काम अगाडि बढाएको बताउनुभयो । काठमाडौंको कोटेश्वर–कलंकी सडक खण्डमा सडक पार गर्न आकाशे पुल र जेब्राक्रसिङ अपुग भएकाले थप निर्माण गरिने पनि उहाँले बताउनुभयो । उपत्यका बाहिरका मुख्य शहरहरुमा सडक निर्माण गर्दा अनिवार्य रुपमा फुटपाथ बनाउन निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
२६ वर्ष पहिला बनेका सवारी तथा यातायात व्यवस्था ऐन र नियमावली संशोधनका लागि निर्देशन दिइसकेको जानकारी दिंदै मन्त्री महासेठले संशोधनको काम जारी रहेको बताउनुभयो । सडक सुरक्षाका लागि रोड सेफ्टी काउन्सिल ऐन निर्माण गरिसकेको र सुझावका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको जानकारी दिनुभयो । सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या अत्यधिक बढेको भन्दै सांसद संग्रौलाले गत पुष २३ गते सो प्रस्ताव संसद सचिवलयमा दर्ता गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्