Logo

नेपाल महिला विश्वकप क्रिकेटपनि चम्कियो : चीनलाई पराजित गर्दै ग्लोबल छनोट सम्भावना ब्युत्यायो



काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया क्षेत्र छनोटमा नेपालले चीनलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले ५ रनले पराजित गरेको हो । थाइल्यान्डको बैंककमा सोमबार नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गरेको थियो ।

सोमबारको खेलमा चीनलाई पराजित गरेपछि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना राखेको छ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अङ्क तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै छ अङ्क बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै छ अङ्क नै छ । रन रेटका आधारमा नेपाल चीनभन्दा एक स्थान तल छ ।

अङ्क तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहेको छ । उसले खेलेका सबै चार खेलमा जित निकाल्दै आठ अङ्क जोडेको हो । त्यसैगरी पाँच खेल खेलेको यूएई एकमा हार तथा चारमा जित निकाल्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । अब नेपालपनि तेस्रो स्थानमा उक्लिएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । प्रतियोगिताको एशिया छनोटमा सात राष्ट्रले भाग लिएका छन् । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

जारी प्रतियोगितामा नेपाल ग्लोबल छनोटमा पुग्न आजको खेल जित्नै पर्ने थियो । अब कुबेतसँग १५ गते हुने खेल जितेर थाइल्याण्डले एक खेलसमेत हार्यो भने नेपाल शीर्ष बन्नेछ । त्यसैले गणितीयरूपमा मात्र नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना छ । छनोट खेलमा नेपाल, थाइल्याण्ड, यूएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्