Logo

सिके राउत अचानक “मधेश” शब्दलाई परित्याग गरी किन “तराई” शब्द प्रयोग गरे ? (पुरा भाषण)



चन्द्रकान्त रावत (सि.के रावत) को भाषण !
२४/११/०७५ (सरकारसँग सम्झौता गर्दा)
*************************************
आजको यो दिन निकै नै ऐतिहासिक रहेको छ । हामीले विगत केही वर्षदेखि देशमा जुन एउटा विकराल समस्याका रुपमा जुन मुद्दा उठिरहेको थियो, जसबाट राज्यपक्ष पनि उत्तिकै चिन्तित थियो र हामी पनि उत्तिकै चिन्तित थियौं कि यसले भविश्यमा कस्तो मोड लेला भनेर ।

देश कसको निणयन्त्रमा रहला, रहला कि नरहला भनेर हामी पनि चिन्तित थियौं । जुन मुद्दाले देशका समस्त जिम्मेवार नागरिकलाई चिन्तित बनाउँदै आएको थियो । त्यसले कस्तो भयावह रुप लेला भनेर हामी दिनरात चिन्ता गर्दै थियौं । त्यसको आज बडो सहज रुपमा, बडो शान्तिपूर्ण रुपमा, बडो सुरक्षित रुपमा आज अवतरण यहाँ हुँदैछ । त्यही भएर नेपालका समस्त जनताका लागि खुशीको कुरा हो ।

हामी सबै देशका नागरिकका लागि ऐतिहासिक पल हो, र यस्तो महत्वपूर्ण समय जुटाउनका लागि सम्माननीय प्रधानमन्त्रीज्यू स्वयंले आफ्नो स्तरबाट पहल गरेर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई कदर गर्दै, मुद्दाको संवेदनालाई बुझ्दै, उहाँले आफ्नो स्तरबाट जुन पहल गरेर यसरी सुरक्षित अवतरण गराउनुभएको छ, हामीलाई राजनीतिक स्पेस प्रदान गर्नुभएको छ । त्यसका लागि निश्चय नै सम्माननीय प्रधानमन्त्री धन्यवादको पात्र हुनुहुन्छ ।

०६९ साल जेठ ८ गते हामीले यही काठमाडौंमा एउटा पत्रकार सम्मेलन गरेर देश स्वराज आन्दोलनको उद्घोष गरेका थियौं । यो आन्दोलन विभिन्न प्रधानमन्त्रीहरुको कार्यकालबाट गुजि्रयो । उहाँहरुले भने यस शान्तिपूर्ण आन्दोलनलाई कदर नै गर्नुभयो । यस आन्दोलनको संवेदनालाई उहाँहरुले पनि कतै बलजफ्ती बलप्रयोग गर्नुभएन । त्यसले पनि यो आन्दोलन कुनै पनि चरणमा बिस्फोट हुने डर थियो । यसले नकारात्मक मोड लिने डर थियो । त्यसबाट हाम्रा पूर्वप्रधानमन्त्रीज्यूहरुले पनि जोगाउनुभयो । त्यही भएर माननीय पूर्वप्रधानमन्त्रीज्यूहरु डा. बाबुराम भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल पनि उत्तिकै धन्यवादको पात्र हुनुहुन्छ ।

हामी बुद्धका सन्तान हौं । अहिंसा हाम्रो रगतमा बसेको छ । अहिंसा हामीलाई कसैले सिकाउनै पर्दैन । अहिंसा हाम्रो शरीरभित्र अन्तरनिहीत भएरै बसेको छ । हामी तराईमा जाऔं या पहाडमा जाऔं जहाँ जाँदा पनि अहिंसाको भावले छोइराख्छ । हामीले यो आन्दोलन सुरु गर्दा वुद्ध र गान्धीको आदर्शलाई मान्दै अगाडि बढायौं ।

निश्चय नै हामीसँग राज्यसँग विमति थिए । केही कुरा संविधानले सम्वोधन गर्न सक्यो । केही कुरा तत्कालीन संविधानको दायराभन्दा बाहिरका कुराहरु पनि थिए र हामीले आफ्नो विचारहरु जनतासमक्ष लग्दाखेरि, जुन स्वाभाविक आन्दोलनमा हुने गर्छ जुनसुकै राजनीतिक प्रक्रियामा हुने गर्छ, केही कदमहरु चालिए । त्यस क्रममा हाम्रा हजारौं कार्यकर्ता गिरफ्तार गरिए । हाम्रा सयकडौं कार्यकर्ता घाइते भए ।

हामीमाथि सयकडौं मुद्दाहरु लाग्यो राज्यविरुद्धका अपराधका मुद्दाहरु… । केही महिना अघिमात्रै हाम्रो बाँके जिल्ला संयोजक राममनोहर यादवको हिरासतमा मृत्यु पनि भयो । व्यक्तिगतरुपमा कुरा गर्दा म दुई दर्जनभन्दा बढीपटक पक्राउ परेँ । महिनौं हिरासतमा बसेँ । महिनौं जेलमा पनि बसेँ । यहाँसम्म कि ०७१ सालमा मोरङमा एउटा आमसभामा प्रहरी दमनमा पर्दा मेरो खुट्टा पनि भाँचियो । त्यसको केही महिना पछाडि झापाको राजगढमा पुग्दा त्यहाँ पनि प्रहरी आक्रमणमा पर्दा म नराम्रो तरिकाले घाइते भएको थिएँ । हाम्रा अन्य नेताहरुले पनि, अन्य कार्यकर्ताहरुले पनि दुःख पाए ।

तर, यति हुँदाहुँदै पनि शान्तिपूर्ण मार्गमाथि हाम्रो आस्था कहिल्यै पनि कमजोर भएन । हामी वुद्धका सन्तान हौं भन्ने ठानेर शान्तिपूर्ण मार्गमा लागिरहृयौं । हामी कहिले पनि विचलित भएनौं । त्यसको परिणाम आज सुखद परिणाम देख्दैछौं । यो आफैंमा एउटा उदाहरण हो । ती पक्षका जनता, जसले हिंसाका साथ आन्दोलन गर्न तयार भइदिन्छन्, तिनीहरुका लागि पनि एउटा यो पाठ बनेर रहलाजस्तो लाग्छ ।

हामीमाथि राज्यद्वारा विभिन्न दमन भएता पनि हामी कहिले पनि प्रतिशोधका भावना आफ्नो मनमा पालेनौं । मेरो खुट्टा भाँचिए पनि, हाम्रा कार्यकर्तामाथि दमन भए पनि त्यसको प्रत्युतरमा फूल आन्दोलन चलायौं । मेरीगोल्ड मुभमेन्ट चलायौं । लाठीचार्ज गर्ने प्रहरीहरुलाई सयपत्री फूल दिन थाल्यौं । गुलाब दिन थाल्यौं र कतै न कतै उहाँहरुको मनमा सद्भाव पलाउन थाल्यो । त्योचाहिँ हामीले प्रत्यक्ष रुपमा भोगेका छौं, देखेका छौं र त्यही कारणले हाम्रो पनि आन्दोलनमा हिंसा हुन सक्थ्यो । हामी अहिंसात्मक भए पनि राज्यबाट दमन हुन सक्थ्यो । तर, प्रहरीबाट कतै पनि गोली चलाउने कार्य भएन । त्यसका लागि राज्य र प्रहरी पनि धन्यवादका पात्र हुन् । हामीले उदाहरणीय रुपमा शान्तिपूर्ण आन्दोलन अगाडि बढायौं । यहाँ निकाससम्म दिने मोडमा आइपुग्यो । त्यसका लागि राज्य, प्रहरी जनता सबै उत्तिकै धन्यवादका पात्र रहेका छन् ।

हाम्रो आन्दोलन चलिराख्दाखेरि विभिन्न किसिमका भम्रहरु सिर्जना नगरिएको होइन । कहिले मिडियामा, कहिले अनलाइनमा, कहिले चियागफमा विभिन्न भ्रम छर्ने काम स्वाभाविक रुपमा भए । कहिलेकाहीँ हामीलाई घृणाको पात्रका रुपमा देखाउने कार्य भए भने कहिले समुदाय-समुदाय लडाउने कार्य भए । तर, हामीले पटक-पटक भन्यौं । हाम्रो आन्दोलन भनेको आफ्नो अधिकारका लागि हो । कुनै समुदायको विरोधमा हुँदै होइन । हामीले पटक- पटक आफ्नो विचारबाट, आफ्नो लेखाइ, प्रेस विज्ञप्तिबाट प्रष्ट गर्दै आएका छौं । त्यतिमात्र होइन हामीले ब्यवहारबाट पनि देखाउँदै आएका छौं ।

हाम्रो सामाजिक कार्य तराईका जिल्लामा मात्रै होइन, सिन्धुपाल्चोक दैलेखलगायतका पहाडका जिल्लामा पनि पुगेको छ । भलै त्यो मिडियामा नआएको होस् । पहाडमा महाभूकम्प जाँदाखेरि हामीले तराईका जिल्लामा आम उपबासको घोषणा गर्‍यौं । ता कि तराईका जनता पहाडमा रहेका आफ्ना भाइबहिनीको भोकको पीडा आफैंले महसुस गर्न सकुन् र त्यो बराबरको अन्न दान गरेर तिनीहरुका लागि कार्य गर्न सकुन् ।

अब त्यो भ्रममा हामी नपरौं । अब यहाँ समुदाय समुदायबीच लडाउनेहरुलाई हामी कुनै स्थान नदिऔं । यो कुनै समुदाय र वर्गको विरोधमा हाम्रो आन्दोलन उठेकै होइन । हाम्रो अधिकारका लागि हो, हाम्रो समृद्धिका लागि हो । हाम्रो सुखका लागि हो । र, त्यो सबैलाई चाहिन्छ । त्यो तराईका जनतालाई पनि चाहिन्छ, पहाडका जनतालाई पनि चाहिन्छ । हुम्ला जुम्ला, झापा महोत्तरीका जनतालाई पनि उत्तिकै चाहिन्छ ।

त्यही भएर आज हामी जुन मोडमा आइपुगेका छौं । त्यसका लागि म आफ्ना समर्थक, तराईका जनतालाई धेरै धन्यवाद दिन चाहन्छु । किनकि हिंसात्मक आन्दोलन गर्न सजिलो हुन्छ । मान्छे कुट्न सजिलो छ, ढुंगा फाल्न सजिलो छ । तर, आफैंले पिटाइ खाएर बस्नचाहिँ गाह्रो हुन्छ । तर, हाम्रा कार्यकर्ताहरुले, समर्थकहरुले आफ्नो हात बाँधेर बसे । हामीमाथि जतिसुकै हिंसा गरे पनि, जतिसुकै दमन गरे पनि हामी हिंसात्मक हुदैनौं भनेर ठोस आस्थाका साथ, ठोस धैर्यका साथ उनीहरुले यो आन्दोलनलाई निरन्तरता दिए र अहिले शान्तिपूर्णरुपमा यो सम्पन्न हुँदैछ, एउटा अवतरण हुँदैछ । यसका लागि हाम्रा कार्यकर्ता उत्तिकै धन्यवादका पात्र छन् । समर्थक उत्तिकै धन्यवादका पात्र छन् ।

हाम्रो वार्तामा राज्यपक्षले पनि स्वीकार गरेको अवस्था छ कि जनअभिमतमा आधारित लोकतान्त्रिक व्यवस्थाद्वारा समस्याहरुलाई निवारण गर्ने । हाम्रो माग पनि त्यही हुँदै आएको छ । हाम्रो माग भन्दा यो फरक होइन । हाम्रो नारा नै के हो भन्दाखेरि ‘अब कि बार एक ही माग जनमत संग्रह का ।’

राज्य पक्षले जनतामा निहित रहेको त्यो सम्प्रभुतालाई स्वीकार गर्दै नेपाली जनतामा रहेको त्यो सार्वभौमसत्तालाई प्वाइन्ट नम्बर २ मा उहाँहरुले स्वीकार गर्दै हामीलाई राजनीतिक स्पेस दिनुभएको छ, कि जे चाहिन्छ, त्यो जनमतबाटै जनताले लिए हुन्छ । यहाँ जनता नै सर्वोपरी हो, जनता भन्दा ठूलो कोही पनि छैन । त्यही भएर यो राज्यको पनि जित हो । जनताको पनि जित हो । कसैले अन्यथा अर्थ लगाउने प्रयास नगरौं ।

हामी सावधान रहौं । यो सबैको जित भएको हो । त्यही भएर म समस्त पुरै देशका जनतालाई के भन्न चाहन्छु भने हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनता सार्वभौम सम्पन्न छँदैछन् । जनताले चाहृयो भने जे पनि उनीहरुले हासिल गर्न सक्छन् । त्यसका लागि संविधानममा नै पृष्ठभूमि तयार छ । वार्तामार्फत पनि राज्यले प्रतिवद्धता दोहोर्‍याएकै छ । अब त्यो जनमत प्रयोग गर्ने काम जनताको हो । त्यो जनमत प्रयोग गरेर आफ्नो अधिकार हासिल गर्ने पालो जनताको हो । अब सबै अधिकार सबै शक्ति जनताको हातमा आएको छ, जनताको हातमा निहित छ ।

अब जे हासिल गर्नुछ, जसो हासिल गर्नुछ, जस्तो व्यवस्था ल्याउनु छ जनताले आफ्नो अधिकार प्रयोग गरुन्, आफ्नो मताधिकार प्रयोग गरुन् आफ्नो जनअभिमत प्रयोग गरुन् त्यो शान्तिपूर्ण तरिकाले नै हासिल हुन्छ । समस्त देशको हित विकास र सुखका लागि त्यो हासिल गर्ने बेला आएको छ ।

म धेरै त भन्न चाहन्न । विगत ५ महिना जेल बसाइ भयो । जेल बसाइका क्रममा एउटा उपयोगी वातावरण बनाइदिने रौतहट कारागारका जेलर, भद्रबन्दी गृहका यहाँका जेलर चौकीदारसाब, नाइके भाइनाइके सहनाइकेलाई धन्यवाद दिन चाहन्छु । बिरामी हुँदा उपचारमा सघाउ पुर्‍याउने केन्द्रीय कारागारका डाक्टर र सिस्टरहरुलाई धन्यवाद दिन चाहन्छु ।

योभन्दा अगाडि ४ वर्ष अगाडि डिल्लीबजार कारागार म स्वेच्छाले गएको हुँ । स्वेच्छाले जेल जानु र अहिले जेल जानुमा धेरै नै अन्तर रहेको छ । त्यसै पनि भनिन्छ, जेल एउटा महाविद्यालय हो, ठूलो पाठशाला हो । बाहिर हामीले पढ्न नपाएका कुराहरु बाहिर अनुभूति गर्न नपाएको कुराहरु त्यो जेलमा अध्ययन गर्न सक्छौं जेलमा गएर अनुभूति गर्न सक्छौं । नेपाल सधैं स्वतन्त्र भयो होला । स्वतन्त्रतालाई हामी यति ठूलो मान दिन्छौं कि स्वतन्त्रता भनेको के हो ? त्यो हरण भएपछि के हुन्छ भन्ने कुरा सामान्य मान्छेले अनुभूति गर्न सक्दैन । तर, जेलमा पुगेपछि त्यो स्वतन्त्रता कति महत्वपूर्ण हुने रहेछ । एक दिन भए पनि स्वतन्त्र हुन चाहने रहेछ ।

हामीले संविधानमा स्वतन्त्र हुने अधिकार पाएका छौं । त्यो वैचारिक स्वतन्त्रता होस्, वा अन्य किसिमका । जति पनि स्वतन्त्रता हामीले संविधानमा पाएका छौं । त्यसको मतलव के हो भने कुरा जेल बसाइका क्रममा मान्छेलाई थाहा हुन्छ । स्वतन्त्रता अपहरित भएपछि मान्छेले अनुभूति गर्ने रहेछ कि हामीले कति ठूलो स्वतन्त्रता पाएका थियौं । स्वतन्त्रतालाई उपयोग गरेर के के कुरा हासिल गर्न सक्छौं, के के कुरा अभिव्यक्त गर्न सक्छौं भन्ने कुरा स्वतन्त्रता हामीसँग नभएका बेला मात्र थाहा हुन्छ ।

त्यही भएर यो ५ महिनाको जेल बसाइ निकै नै उपलब्धीमूलक रहृयो । यसले मलाई स्वतन्त्रता भनेको के हो, हामीले पाएको स्वतन्त्रता कसरी सदुपयोग गर्न सकिन्छ, कसरी उपयोग गरेर समस्त जनताका सुख समृद्धिका लागि उपयोग गर्न सकिन्छ भन्ने ठूलो पाठ सिकाएको छ । त्यसका लागि म नियतिलाई पनि धन्यवाद दिन चाहन्छु ।

भनिन्छ, कुनै अपराधी यदि मुक्त रुपमा हिँडिरहेको छ भने त्यो प्रहरीको असफलता हो । तर, कुनै निर्दोष व्यक्ति जेलभित्र कोचिन्छ भने न्याय व्यवस्थाको असफलता हो । त्यो सिगो राज्यको असफलता हो । किनकि हामीले राज्य स्थापना गर्दा निर्दोष व्यक्तिलाई जेलभित्र कोच्नका लागि राज्य स्थापना गरेका थिएनौं ।

राज्य भनेको कुरा आफैंमा पनि एउटा साधन मात्र हो, साध्य होइन । चाहे त्यो जैविक उत्पत्तिको सिद्धान्तमा जानुस्, करारवादी सिद्धान्तमा जानुस्, उपयोगतावादी सिद्धान्तमा जानुस् कुनै पनि सिद्धान्तले राज्य भनेको आफैमा साध्य हो । फगत राज्य बनाउका लागि बनाउने भन्ने कुरा कदापि होइन । राज्यको स्थापना नै हाम्रो सुरक्षाका लागि भएको हो । हाम्रो सुख समृद्धिका लागि हो । सबैको भलाइका लागि हो ।

हामीले जेलभित्रका कुरा गर्दा पनि हुन त प्रधानमन्त्री स्वयं १४ वर्ष जेल बसेर आउनुभएको छ । उहाँलाई जेलको अनुभूति सुनाउनु भनेको सूर्यलाई दियो देखाउने जस्तै हुनेछ । तैपनि मलाई लाग्छ, केही कुरा उहाले बिर्सनुभएको होला भनेर पुनरावृत्तिमात्र गर्न खोजेको हुँ । हाम्रो जेलको अवस्था साँच्चै नै दुरुह रहेको छ ।

अधिकांश जेलमा तीन गुणा, चार गुणा क्यापासिटीभन्दा बढी मान्छेहरु राखिएको छ । त्यहाँ भौतिक पूर्वाधारहरु विल्कुलै छैन । एउटा हलमा दुई सयजना अढाइ सयजना राख्नुपर्ने अवस्था छ । त्यहीँ टीबीको बिरामी हुन्छ, एचआइभीका बिरामी त्यहीँ हुन्छन् अरु बिरामी पनि त्यहीँ राख्नुपर्ने बाध्यता देखिएको छ । त्यही भएर यतातिर अलिकति सुधार होस् भनेर मेरो अपेक्षा रहेको छ । जेलको नुन खाएको हुनाले राख्नुपर्ने मेरो बाध्यता रहेको छ ।

र, अन्त्यमा हामी भन्न चाहन्छौं, हामीचाहिँ सकारात्मक दिशातिर एउटा सुखद गन्तब्यतिर प्रवेश गरिसकेका छौं । म समस्त पत्रकार, वुद्धिजीवि वर्ग, नागरिक समाज, राजनीतिक दल, सामाजिक संघसंस्थालाई के आग्रह गर्न चाहन्छु भने यसलाई सकारात्मक रुपमा लिएर हामी अगाडि बढौं । हामी सबै पक्षसँग सहकार्य गर्न तयार छौं । सकारात्मक कुराका लागि सहकार्य गर्न तयार छौं ।

हामी एउटा समृद्ध देश बनाउनेतिर, विकसित देश बनाउनेतिर, सबै जनताको सुख समृद्धिका लागि लागिरहेका छौं । त्यसमा सबैको साथको आवश्यकता छ । तपाईहरुले सबैले यस सकारात्मक अभियानमा साथ दिनुुहुन्छ भन्ने पूरा भरोसाका म आफ्ना दुई शब्द यहीँ टुंग्याउन चाहन्छु धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्