Logo

पैसा उठाउन दाउदको नाममा सांसदलाई धम्की



काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो ।

पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरी ५० लाख रुपैयाँ मागेका थिए । हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए । एक साताअघिदेखि धम्की आए पनि लिङ्देनले प्रहरीमा उजुरी गरेका थिएनन् । सोमबार उनले सामाजिक सञ्जाल ट्विटरमा यसबारे स्टाटस प्रहरीले छानबिन गरी पराजुलीलाई पक्राउ गरेको हो ।

पराजुली वैदेशिक रोजगार ठगीका फरार अभियुक्त भएको खुलेको छ । आफ्नो १६ लाख रुपैयाँ डुबेपछि धम्क्याएर पैसा कमाउने बाटो रोजेको उनले प्रहरीलाई बताएका छन् । ‘विदेश पठाउने भन्दै ठगी गरेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ,’ सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले भने ।

साथीको सिम प्रयोग
प्रहरीले सांसद लिङ्देनलाई धम्क्याउन पराजुलीले साथीको सिमकार्ड प्रयोग गरेको जनाएको छ । उनले हुम्लाका प्रदीप रोकायको सिमकार्ड लिएका थिए । मदिरा पिलाएर झुक्याई आफ्नो सिमकार्ड लिएको रोकायले बताएका छन् । प्रहरीले रोकायलाई पनि पक्राउ गरेको छ । सांसद लिङ्देनले पैसा नदिने बताएपछि उनले अन्य दुई व्यक्तिलाई समेत धम्क्याएका थिए । # नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्