Logo

सिक्किममा पवन चाम्लिङको साम्राज्य ढल्योः २५ बर्ष पछि नयाँ दलद्धारा बहुमत हासिल



काठमाडौं : भारतमा यसपटकको लोकसभा चुनावको परिणामले छुट्टै लहड पैदा गरेको छ । सिक्किमका राजा मानिने पवन चाम्लिङ पनि यसपटक आराम गर्ने छन् । २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका चाम्लिङको सत्ता यस पटक पल्टिएको छ ।

लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो ।

सिक्किममा रहेका ३२ वटा विधानसभा क्षेत्रमध्ये एसकेएमले १७ सिटमा जित हात पार्दै सरकार बनाउने भएको छ भने एसडीएफ १५ सिटका साथ २५ वर्षपछि विपक्षमा बस्ने पक्का भएको छ ।

मुख्यमन्त्री पवनकुमार चाम्लिङ लगातार छैटौँ कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री बन्ने दाउमा रहेका थिए । तर उनको पार्टीलाई पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले विपक्षमा धकेलिदिएको छ ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् ।

कुनै बेला चाम्लिङकै पार्टीमा रहेका गोलेले अहिले सिक्किमले परिवर्तन चाहेको बताएका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।

भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी भने सबै क्षेत्रमा पछाडि रहे पनि एसडीएफलाई सत्ताबाट विपक्षको बाटो देखाउन भने सहयोगी भूमिका खेलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्