Logo

साढे १५ खर्बको बजेट आउँदै, कर्मचारीको तलब २२ प्रतिशत र वृद्ध भत्ता सात सय वृद्धि हुँदै



काठमाडौं, जेठ १५ :  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको चर्को दवावमा परेका अर्थमन्त्री डा. युवराज खतिवडाले लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याउने भएका छन्। आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आज अपराह्न संघीय संसदमा पेश हुदै छ।

आज अपराह्न ४ बजे दोस्रो बजेट पेश गर्न लागेका अर्थमन्त्री खतिवडाले बृद्धाभत्ता, युवा रोजगार कार्यक्रम, कर्मचारीको तलव बृद्धि, कृषकलाई विशेष कार्यक्रमहरु समावेश गरेका छन्। बजेटमा राजनीतिक कार्यक्रमका नारालाई बढी जोड दिइएको जनाएको छ।

सांसदको दवाव थेग्न नसकेका अर्थमन्त्री खतिवडाले निर्वाचन क्षेत्र कार्यक्रमको लागि ६ करोड रुपैयाँ दिने गरी बजेट तयार पारेका छन्। यसअघि सांसदको कार्यक्रममा चार करोड रुपैयाँ पाउँदै आएका थिए। उनीहरूले भने प्रति सांसद १० करोड रुपैयाँ हुनुपर्ने माग गरेका छन्।

अर्थमन्त्री खतिवडाले ८ प्रतिशत आर्थिक बृद्धिको महत्वकांक्षी लक्ष्य समेत बजेटमा राख्ने भएका छन्। बजेटमार्फत कर्मचारीको तलव २२ प्रतिशतसम्म बढाएको अर्थमन्त्रायल स्रोतले जानकारी दिएको छ। त्यस्तै, बृद्धभत्ता सात सय हाराहारी बढाएको छ।

लोकप्रिय कार्यक्रम राख्न बाध्यभएपछि अर्थमन्त्री खतिवडाले मंगलबार मात्रै राष्ट्रिय योजना आयोगको सिलिङ तोडेर बजेट १५ खर्ब ७७ अर्ब पु¥याएका थिए। बजेट पनि सोही हाराहरीको आकारमा आउने अर्थमन्त्रालय स्रोतको दावी छ। यद्यपी मंगलबार रात्री अन्तिम रुप दिइएको बजेट १५ खर्ब ५५ अर्ब हाराहरीमा ल्याएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ। योजना आयोगले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ पेश गरेको थियो।

ठूला पूर्वाधारमा पुरानै कार्यक्रमलाई निरन्तरता दिएको बजेटमा यसवर्ष खुद्रा कार्यक्रमले बढी प्राथमिकता पाएको समेत अर्थमन्त्रालय स्रोतले जनाएको छ। बजेटमा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रलाई आधार बनाएर तयार पारिएको छ। गत वर्ष अर्थमन्त्रीले घोषणापत्रलाई वेवास्था गरेर बजेट ल्याएको भन्दै अर्का अध्यक्ष पुष्पकलम दाहाले पुरक बजेट ल्याउने समेत जनाएका थिए।

सरकारले आगामी आर्थिक वर्षमा १० खर्ब ८० अर्बभन्दा बढी राजश्व संकलनको लक्ष्य बजेटमा लिइने भएको छ। त्यस्तैगरी पुँजीगत खर्च तर्फ पनि चार खर्बभन्दा बढी खर्च गर्ने लक्ष्य बजेटमा राखिएको छ । भने चालु खर्च पनि बढेर १० खर्ब ५० अर्ब पुर्‍याएको अर्थस्रोतको दावी छ।

यता बैदेशिक ऋणको लक्ष्य दुई खर्ब ५० अर्ब रुपैयँको अनुमान आगामी बजेटमा गरिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ। आन्तरिक ऋण पनि २ खर्ब उठाउने गरी लक्ष्य निर्धारण भएको दावी समेत अर्थमन्त्रालय स्रोतले दिएको छ। त्यस्तै अनुदान तर्फ ५० अर्ब रुपैयाँ मात्रैको लक्ष्य राखिएको छ।

सरकारले आगामी आर्थिक वर्षमा नयाँ कुनै पनि ड्रिम प्रोजेक्टको रुपमा अगाडी नबढाउने भएको छ। पुराना राष्ट्रिय गौरवका आयोजनाहरुका प्रयाप्त बजेट विनियोजन गरिने भएको छ। सडक निर्माणमा मात्रै आगामी आर्थिक वर्ष एक खर्ब बजेट छुट्याइएको छ। #काठमाडुप्रेस बाट

प्रतिक्रिया दिनुहोस्