Logo

बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी



काठमाडौँ । लगातारको वर्षापछि भएको डुबान समस्याका कारण तराईका जिल्लाहरूमा सर्पको बिगबिगी देखिएको छ ।

बासस्थानमा पानी भरिएपछि सुख्खा ठाउँ खोज्दैै सर्प बाहिर निस्कँदा व्यक्तिलाई टोक्ने गरेको घटना सार्वजनिक भइरहेका छन् । सर्पले टोकाइबाट रौतहटको यमुनामाई गाउँपालिका–१ जृठरहियाका २५ वर्षीया गायत्रीदेवी साहको मृत्यु भएको छ ।

डुबान क्षेत्रमा अहिलेसम्म २० जनाभन्दा बढीलाई सर्पले डसेको प्रहरीको भनाइ उधृत गर्दै गुञ्जन एफएम, रौतहटले जनाएको छ । रौतहट जिल्ला अस्पतालमा अझैँ पनि १५ जनाले उपचार गराइरहेका छन् ।

तराईमा करेत, कोब्रा जातका र पहाडमा हरियो, कालो रङ्गका सर्प देखिन्छन् । असारदेखि असोज महिनामा मात्र सर्पको टोकाईपछि उपचारका लागि अस्पतालमा आउनेको सङ्ख्या महिनामा ५० देखि ८० को हाराहारीमा हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल अनुसन्धान इकाई संयोजक डा शेरबहादुर पुनले सीआईएनसँग बताउनुभयो । सावधानी अपाएर सर्पको टोकाइबाट जोगिन सकिने डा पुनको भनाइ छ ।

बाँकेको भेरी अस्पतालमा दैनिक कम्तिमा दसजना बिरामी सर्पदंशका आउने गरेका छन् । उनीहरू मध्ये १/२ जनाको अवस्था गम्भीर हुने गरेको उपचारमा संलग्न चिकित्सकहरूले बताउने गरेका छन् ।

रातको समयमा बाहिर निस्कनुपरेमा टर्च र लट्टी लिएर हिँड्ने, खुट्टामा लामो खालको जुत्ता लगाउने र हातमा पञ्जा लगाएर काम गर्ने, भूईँमा नसुत्ने, रातको समयमा झुलको प्रयोग गर्ने, घर वरपरको वातावरण सफा राख्ने, प्वालहरू बन्द गर्नाले पनि सर्पबाट जोगिन सकिने भेरी अस्पताल नेपालगञ्जका डा पारस पाण्डेले सीआईएनसँग बताउनुभयो ।

२०७१ देखि ७५ सालसम्मको तथ्याङ्क केलाउँदा असारदेखि असोजमा पहाडमा सबैभन्दा धेरै सर्पको जोखिम देखिन्छ भने तराईमा त्यसको एक महिना अघिदेखि नै सर्प देखिन सुरु हुन्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्का सर्प विशेषज्ञ समूहका सदस्य कमल देवकोटाका अनुसार झन्डै ७९ देखि ८२ प्रजातिका सर्प नेपालमा पाइन्छन् । चिकित्सकीय महत्वका हिसाबले करिब १८ प्रजातिका विषालु सर्प पत्ता लागेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् १९८७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा बर्सेनि २० हजार मानिस सर्पदंशबाट प्रभावित हुँदा करिब एक हजार जनाको मृत्यु हुने गरेको छ ।

#सीआईएन

प्रतिक्रिया दिनुहोस्