एनआईसी एसिया बैंकले श्रमशोषण गरेको आरोप, बैंक भन्छ- सबै निराधार

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा नाफामा उल्लेख्य सुधार गर्दै एनआईसी एसिया बैंक वाणिज्य बैंकहरुमा बढी नाफा कमाउनेको सूचीमा तीन नम्बरमा आइपुगेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रको नबिल बैंकभन्दा अरु सबै बैंक अधिकांश आर्थिक सूचकमा एनआईसी एसियाभन्दा पछाडि छन् ।

एनआईसी एसिया बैंक २०७६ मंसिर गते साउथ एसियन फेडेरेसन अफ अकाउन्टेन्टस् (साफा)ले प्रदान गर्ने वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट पनि सम्मानित भएको छ । सन् २०१८ का लागि नेपाल चार्टड एकाउन्टेन्ट्स (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पनि यही बैंकले हात पारेको छ ।

बैंकका तीन हजारभन्दा बढी कर्मचारीले करिब करिब १९ लाख ग्राहकलाई सेवा दिइरहेका छन् । नाफा आर्जनमा द्रुत प्रगति गरेको यो संंस्थाले साढे तीन सय अन्य संस्थासँग सहकार्य गरेको छ । शाखा विस्तारलाई तीव्रता दिएको यो बैंकका शाखा हालै जनता बैंकलाई आफूमा गाभेको ग्लोबल आईएमईको भन्दा बढी छ । ग्लोबल आईएमईका शाखा ३ सय हाराहारी छन् भने एनआईसी एसियाका ३१० शाखा रहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डे बताउँछन् । उनका अनुसार देशभर बैंकका ३९९ एटिएम, ९३ एक्सटेन्सन काउन्टर र ४४ शाखारहित बैंकिङ इकाइ छन् ।

विभिन्न अफर र सुविधा दिएर ग्राहक लोभ्याइरहेको बैंकको प्रगति लोभलाग्दो छ । गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत लाभांश बाँडेको कम्पनीले प्रतिसेयर आम्दानी बढाएर ४१.५६ प्रतिशत पु-याएको छ । दुःखको कुरा, वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बन्ने प्रणसहित प्रगतिको पथमा लम्किँदै गरेको बैंकका केही गतिविधि भने अत्यन्तै निराशाजनक छन् ।

कर्मचारीको शोषण
सबै सूचकमा प्रगति गर्दै देशका कुना–कुना पुग्न सफल एनआईसी एसियाको भित्री पाटो भने सन्तोषजनक छैन । मौका पाउनासाथ बैंकका कर्मचारी समयमा तलब नपाएको गुनासो गर्छन् । एक कर्मचारीले नाम नबताउने सर्तमा भनिन्, ‘बैंकको जागिर के के नै होला भनेर आइयो, परिवारले छोड्न पनि दिँदैन, कसरी फुत्किने भन्ने पीरमा छु ।’ कर्मचारीलाई मध्यरातसम्म राखेर टेलिमार्केटिङ गर्न लगाउने गरेको उनले बताइन् ।

बैंकमा कार्यरत करारका कर्मचारीको झन् विजोग रहेको उनले खुलासा गरिन् । ‘करारका कर्मचारीलाई राति १०-११ बजेसम्म राखेर काममा लगाउँछन्,’ मेरो नाम झुक्किएर लेख्नुहोला है भन्दै उनले थपिन्, ‘कामको बोझले किचिने करारका कर्मचारीलाई पारिश्रमिकमा पनि विभेद गरिएको छ ।’ ‘एनआईसी एसिया बैंक पीडित समूह’ नाम राखेर फेसबुकमा ग्रुप नै बनेको छ ।

ग्राहकमा असन्तुष्टि
एनआईसी एसिया बैंकसँग ग्राहक पनि खासै सन्तुष्ट छैनन् । ग्राहक संख्या ठूलो भए पनि यथोचित कर्मचारी नराख्दा नगद राख्न या झिक्नुपरे २ घण्टासम्म लाग्ने उनीहरुको गुनासो छ । आठ महिनाअघि ‘टोकन लिएको डेढ घण्टासम्म पालो नआएको’ भन्दै जनकपुरका नवीनकुमार महतोले नयाँ बानेश्वर शाखाका प्रबन्धक प्रकाश थपलियासामु गुनासो पोखे । थपलियाले शाखा एक्सपान्सन गर्ने कार्यलाई तीव्रता दिइएकाले अब चाँडै ग्राहकले गुनासो गर्ने अवस्थाको अन्त्य हुने भन्दै आश्वस्त तुल्याए । ‘तर आठ महिनापछि पनि अवस्था उस्तै छ,’ उनले भने, ‘केही कम भएको हो तर एक घण्टाअघि पालो आएको थाहा छैन ।’

एनआईसी एसियामा नगद जम्मा गर्न गएका भक्तपुरका अभिषेक खड्का पनि पालो पाउन घण्टौं कुर्नुपर्ने बताउँछन् । ‘एनआईसी एसियामा धेरै समस्या छ, ग्राहकको समयको कुनै भ्यालु छैन,’ उनले भने, ‘कति समय मिलाएर बल्ल बैंकमा पुगिएको हुन्छ, कुर्दा-कुर्दा हैरान भइन्छ ।’

‘खाता नखोल्दा रेमिट्यान्स पाइन्न’
बैंकमा खाता नखोल्दा रेमिट्यान्स रकम नै नपाइएको भन्दै सामाजिक सञ्जालमै लेख्ने गरेको पाइन्छ । कैलालीको बर्दगोरियाको बौनियामा रहेको शाखाले खाता नखोली रेमिट्यान्स रकम नदिएको भन्दै धर्मराज जोशीले लेखेका छन्, ‘एनआईसी एसिया बैंकका कर्मचारी र बैंकको कुनै नियम कानुन छैन, बैंकमा खाता नखोलेसम्म रेमिट्यान्सको पैसा दिँदैन, रेमिट्यान्सको पैसा नदिने भए किन प्रभु मनी ट्रान्सफरको आधिकारिक एजेन्सी लिएको होला ?’

बैंकको यस्तो छ प्रस्टीकरण
एनआईसी एसिया बैंकका जनसम्पर्क अधिकृत अर्जुनराज खनिया यी सबै आरोप निराधार भएको बताउँछन् । ‘अहिलेको समयमा बैंकमा कार्यरत कर्मचारी मास्टर्स पढेका थुप्रै हुन्छन्, कम्तीमा स्नातक गरिरहेका हुन्छ,’ उनले भने, ‘त्यो तहमा कर्मचारी शोषित भयौं भनेर कसरी बसिरहन सक्छन् ? त्यस्तो हामीबाट झन् हुँदै हुँदैन ।’

पारिश्रमिकको सवालमा पनि कुनै भेदभाव नरहेको उनको स्पष्टोक्ति छ । ‘श्रम ऐनसँग नबाझिने गरी कम्पनीले पोलिसी र मापदण्ड तय गरेको हुन्छ, त्यही मापदण्डभित्र रहेर हामी अगाडि बढेका हुन्छौं,’ जनसम्पर्क अधिकृत खनियाँले भने, ‘कतिपयलाई प्रोमोसन नभएको रिस हुनसक्छ, कतिपयलाई के रिस हुनसक्छ तर कम्पनीले सबै कर्मचारीलाई बराबर ढंगले हेरेको हुन्छ ।’

अहिले बैंक सर्भिस क्वालिटी बढाउनेमा बढी केन्द्रित भइरहेको उनले बताए । हामीले सेवा छिटो प्रवाह गर्न धेरै शाखा एक्सपान्सनको काम पनि गरेकै हौं,’ एउटा ट्रान्जेक्सनका लागि अझै पनि किन एक घण्टाभन्दा बढी कुर्नुपर्छ ? भन्ने न्युज कारोबारको प्रश्नमा उनले भने, ‘शाखा एक्सपान्सन गरे पनि नम्बर अफ कस्टमर बढेकाले छिटो सेवा दिन सकेका छैनौं ।’ छिटो सेवा दिने विषयमा कम्पनी गम्भीर भएर लागेको जनसम्पर्क अधिकृत खनियाँको भनाइ छ ।

रेमिट्यान्स लिन बैंकमा खाता खोल्नुपर्ने विषयमा पनि कुनै सत्यता नरहेको उनले प्रस्ट पारे । ‘रेमिट्यान्स लिन खाता खोल्नुपर्ने व्यवस्था छैन तर ग्राहकलाई ‘खाता खोल्नुभयो भने रेमिट्यान्स रकम लिन बैंक धाउनै पर्दैन, सिधै खातामा जान्छ भनेर आग्रहसम्म गरिन्छ,’ उनले भने, ‘ग्राहकलाई अनावश्यक झन्झट दिएर, त्यसलाई कन्डिसनको रुपमा राखेर रेमिट्यान्स कारोबार गरेबापत आउने निश्चित कमिसन गुमाउन कुनै कम्पनीले चाहन्छ भन्ने मलाई लाग्दैन ।’ यद्यपि, बैंकका कतिपय सेवा सुविधामा सुधार गर्नैपर्ने अवस्था रहेको उनले स्वीकार गरे ।

के भन्छ राष्ट्र बैंक ?
नेपाल राष्ट्र बैंकले भने श्रम शोषण गैरकानुनी भएको बताएको छ । कसैले श्रम ऐनविपरीत काममा लगाएमा सम्बन्धित निकाय र राष्ट्र बैंकमा समेत नाम खुलाएर वा नखुलाईकन पनि उजुरी गर्न सक्ने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘उजुरी पाउनासाथ हामी एक्सन लिइहाल्छौं,’ उनले भने, ‘यस्ता कार्य कानुनतः दण्डनीय हुन्छन् ।’

बैंकहरुले रेमिट्यान्स या अरु कुनै पनि बहानामा कसैलाई खाता खोल्न दबाब दिन नसक्ने उनले स्पष्ट पारे । ‘कुनै पनि बहानामा कसैलाई पनि खाता खोल्न दबाब दिएको पाइए कारबाही हुन्छ,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE