सिमेन्टमा परनिर्भरता हट्यो, मागभन्दा धेरै आन्तरिक उत्पादन

सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत सिमेन्टलाई प्रमुख निर्यातक प्रमुख वस्तु बनाउने घोषणा गरेको छ । मुलुकमा ठूलो स्केलका सिमेन्ट उद्योग स्थापना भएपछि हौसिएको सरकारले आन्तरिक माग पूर्ति गरी निर्यातसमेत गर्ने योजना बनाएको हो । तर, सरकारी योजनाअनुसार सिमेन्ट निर्यात नभए पनि आयात भने ठूलो अनुपातमा घट्दै गएको छ ।

ठूला आयोजना र अग्ला-अग्ला भवनमा निर्माणमा नेपाली सिमेन्टको प्रयोग बढ्दै गएपछि भारतलगायत तेस्रो मुलुकबाट सिमेन्ट क्लिंकर आयात घट्दै गएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा ३० अर्ब २० करोडको सिमेन्ट क्लिंकर आयात भएकोमा गत वर्ष ११ अर्ब ६७ करोड रुपैयाँको मात्र आयात भएको छ, जुन ६१.३ प्रतिशत कम हो ।

आव २०७४/७५ को तुलनामा गत वर्ष सिमेन्ट आयात भने १६.६ प्रतिशतले बढेको थियो । अघिल्लो आवमा १ अर्ब १२ करोड ६० लाखको सिमेन्ट आयात भएकोमा गत वर्ष १ अर्ब ३१ करोडको आयात भएको छ ।

चालू आवको पहिलो चार महिनामा भने सिमेन्ट र सिमेन्ट क्लिंकर दुवैको आयात उल्लेख्य घटेको छ । केन्द्रको तथ्यांकअनुसार चार महिनामा ७८.३ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो चार महिनामा ६ अर्ब २१ करोड रुपैयाँको क्लिंकर आयात भएकोमा यो वर्ष जम्मा १ अर्ब ३४ करोड ९९ लाख रुपैयाँको मात्र क्लिंकर आयात भएको छ ।

त्यस्तै सिमेन्ट आयातमा पनि ३८ प्रतिशत गिरावट आएको छ । गत आवको पहिलो चौमासमा ३७ करोड ३४ लाख रुपैयाँमा सिमेन्ट भित्रिएकोमा समीक्षा अवधिमा २३ करोड १६ लाख रुपैयाँको मात्र सिमेन्ट भित्रिएको छ ।

नेपाल सिमेन्टमा आत्मनिर्भर : उद्योगी
देशभर पूर्वाधार, परियोजना तथा भवन निर्माणमा स्वदेशी सिमेन्टको प्रयोग बढेपछि विदेशी सिमेन्टको आयातमा कमी आएको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार सिमेन्ट उत्पादनका लागि मुख्य कच्चा पदार्थ नेपाली चुनढुंगाको प्रयोग बढेकाले भारतलगायतका मुलुकबाट क्लिंकर आयात ह्वात्तै घटेको छ । ‘नेपालमा सिमेन्ट क्लिंकर आयात दुई वर्षयता नै कम हुँदै आएको छ,’ जगदम्बा सिमेन्टका वरिष्ठ ब्रान्ड प्रबन्धक जगन्नाथ दाहाल भन्छन्, ‘सिमेन्ट उत्पादन गर्ने कम्पनी नेपालमा धेरै छन्, मागअनुसार उत्पादन पनि भइरहेको छ र नेपाली सिमेन्ट उद्योगले नेपालकै कच्चा पदार्थको प्रयोग बढाएका छन् ।’

नेपाली सिमेन्टले आन्तरिक माग धान्न नसक्दा विगतमा विदेशी सिमेन्टको आयात बढेको भए पनि अब ठप्पै हुने उनको विश्वास छ । ‘सुरुमा थोरै उद्योग थिए, तिनले आन्तरिक माग नधान्दा विदेशी सिमेन्टको भर पर्नुपथ्र्यो, अब त्यस्तो स्थिति छैन,’ उनले भने, ‘नेपालमा जुनसुकै निर्माण प्रयोजनका लागि नेपाली सिमेन्ट पर्याप्त छ तर कसैले कुनै अन्य प्रयोजनका लागि विदेशी नै प्रयोग गर्ने गरेका छन् ।’

व्यापारिक कारोबारका लागि ओपीसी, पीपीसी भारतीय सिमेन्टको आयात अघिल्लो वर्षदेखि नै शून्य रहेको व्यवसायीको दाबी छ । सिमेन्ट उद्योगीले अहिले कोइलामात्र बाहिरबाट ल्याइरहेको र त्यसबाहेकका सबै कच्चा पदार्थ नेपालमै उपलब्ध रहेको शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु बताउँछन् । ‘सिमेन्ट उत्पादनका लागि भारतलगायतका मुलुकबाट कोइलाबाहेकका कुनै कच्चा पदार्थ आयात हुँदैन,’ उनले भने, ‘नेपालमा प्रशस्त चुनखानी छन्, चुनखानी उत्खनन् सुरु भएयता सिमेन्टमा नेपाल आत्मनिर्भर बनेको छ ।’ नेपालमा अहिले वार्षिक १ करोड १५ लाख टन सिमेन्ट उत्पादन भइरहेको र ९० लाख टन मात्र खपत भइरहेको तथ्यांक उनले प्रस्तुत गरे ।

सुरुमा सरकारी स्वामित्वका एकाध उद्योगबाहेक भारतबाट आयातीत कच्चा पदार्थ क्लिंकर पेलेर निजी क्षेत्रबाट सञ्चालित नेपाली उद्योगले ‘भिएसके’ प्रणालीबाट सिमेन्ट उत्पादन गर्थे । ‘अहिले स्वदेशमै उपलब्ध चुनढुंगाबाट क्लिंकर उत्पादन गरी रोटोरी प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने गरिएको छ,’ शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारुले भने ।

नेपाल-भारत सीमानजिकैका भूभाग र चुरे क्षेत्रमा रहेका चुनढुंगा खानीलाई आधार बनाएर नेपालमा ठूल्ठूला सिमेन्ट उद्योग सञ्चालनमा आएपछि सिमेन्टमा नेपालको परनिर्भरता घटेको उनले बताए । तर, सरकार ठूला पूर्वाधार तथा विकास निर्माणका कार्यमा बजेट खर्चिन नसक्दा सिमेन्ट व्यवसायीले बढी लाभ लिन सकेका छैनन् । ‘राज्यले नीतिगत योजना बनाएर पुँजीगत खर्च गर्ने हो भने सबैलाई फाइदा हुन्थ्यो,’ उनले भने । लोडसेडिङ हटेका कारण उद्यागी व्यवसायीलाई ठूलो राहत मिलेको छ ।

नेपालका ठूला सिमेन्ट उद्योग लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित छन् । लुम्बिनी करिडोरमा सिद्धार्थ सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, ब्रिज सिमेन्ट, सुप्रिम सिमेन्ट, पाठक सिमेन्ट, अम्बुजा सिमेन्ट, अग्नि सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट सञ्चालनमा छन् । नवलपरासीमा सिजी, सर्वोत्तम र बुटवल निर्माण सिमेन्ट उद्योग सञ्चालनमा छन् । उद्योग विभागका अनुसार नेपालमा दर्ता भएरै सञ्चालनमा आएका ७५ वटा सिमेन्ट उद्योग छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE