भ्रमण वर्षमा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउँछ : मुख्यमन्त्री राई

काठमाडौं । नेपाल भ्रमण वर्षमा प्रदेश नम्बर १ सरकारले मात्रै पाँच लाख पर्यटक आफ्नो प्रदेशमा भित्र्याउने भएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले साहसिक तथा पदयात्रामा रुचि भएका विदेशी पर्यटकहरुलाई प्रदेश नम्बर १ मा उक्त संख्यामा भित्र्याउने बताए ।

संघीय राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले भ्रमण वर्षमा पाँच लाख पर्यटक आफ्नो प्रदेशमा भित्र्याउने बताएका हुन् । ‘भ्रमण वर्षका लागि प्रदेश सरकारले विभिन्न तहबाट काम गरिरहेको छ । प्रदेश १ सम्भावना नै सम्भावना भएको प्रदेश हो,’ उनले भने, ‘प्रदेश १ मा १३ वटा विमानस्थल रहेका छन् । तीमध्ये विराटनगर विमानस्थलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्दैछौं ।’

संसारको सबैभन्दा अग्लो हिमाल नेपालको आफ्नै प्रदेशमा रहेकाले भ्रमण वर्षमा प्रदेश १ पर्यटकको गन्तव्य हुने मुख्यमन्त्रीको भनाइ छ । ‘यसकारण प्रदेश १ हिमालको राजधानी हो । चिया, लालीगुराँस, रुद्राक्षको राजधानीको हो,’ उनले भने, ‘अलैंची र कोशीको (सप्तकोशी) पनि राजधानी हो।’ प्रदेश १ राष्ट्रिय निकुञ्जको समेत राजधानी भएकाले पाँच लाख पर्यटक सहजै भित्र्याउने मुख्यमन्त्रीको दावी छ ।

संघीय सरकारले घोषणा गरेको १०० वटा नयाँ गन्तव्यमध्ये १६ वटा प्रदेश १ मा रहेको मुख्यमन्त्रीले जानकारी दिए । ती ठाउँ पर्यटकका लागि नयाँ र आकर्षणको केन्द्र हुने मुख्य मन्त्रीले बताए ।

प्रदेश १ भौगलिक हिसाबले भुटान र चीनसँग नजिक भएकाले त्यहाँका प्रान्तीय सरकार प्रमुखलाई भ्रमण वर्षको उद्घाटन समारोहमा निमन्त्रणा दिएको जनाइएको छ । प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति प्रदेश १ ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पूर्वको ठाउँ प्राथमिकतामा नपरे पनि सबैभन्दा अर्गानिक ठाउँ रहेको दाबी गरे ।

‘सगरमाथाबाहेक पूर्वको पर्यटकीय ठाउँ ओझेलमा परेका छन् । अब पूर्वलाई भ्रमण वर्षमा प्राथमिकता दिनुपर्छ,’ पर्यटन मन्त्री भट्टराईले भने, ‘प्रदेश १ प्रकृति र संस्कृतिका हिसाबले ‘एक’मा नै छ । यसमा सबैले हातेमालो गरौं ।’

पूर्वमा ग्रेट हिमालय ट्रेलदेखि मुन्दुम ट्रेल रहेकाले भ्रमण वर्षमा यस विषयले प्राथमिकता पाउनु पर्ने उनले जोड दिए । यसका लागि प्रदेशसँग संघीय सरकार हातेमालो गर्न तयार रहेको मन्त्री भट्टराईको भनाइ छ ।

प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुतसियतले भ्रमण वर्ष सफल र भव्य बनाउनका लागि प्रदेश सरकारले सबैसँग समन्वय गरेर काम गरिरहेको बताए । कार्यक्रममा प्रदेश १ का विभिन्न प्रतिभा भएका व्यक्तित्वलाई भ्रमण वर्षको सद्भावना दूतको रुपमा सम्मानसहित नियुक्त गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE