कांग्रेसमा जुटेन सहमति : पौडेल–कोइरालासहितका असन्तुष्ट नेताले गरे आज पनि बैठक बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पनि केन्द्रीय समिति बैठक बहिष्कार गरेको छ । सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाउन खोजेको भन्दै पौडेल पक्षले आजको बैठक पनि बहिष्कार गरेको हो । पौडेल समूहको बहिष्कारबीच कांग्रेस बैठक सुरु भएको हो ।

महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति नजुटेपछि पौडेल पक्षले बैठकमा भाग नलिने निर्णय गरेको छ । सभापति देउवाले आज दिउँसो १ बजे बैठक बोलाएको बैठक असन्तुष्ट पक्षलाई मनाउन चार बजेसम्म स्थगित भए पनि सहमति जुटन सकेन । सोही कारण असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने जानकारी दिएपछि देउवाले बैठक अघि बढाउनु भएको हो । बैठकअघि सहमति जुटाउनका लागि उपसभापति विमलेन्द्र निधिले आज बिहान महामहामन्त्री डा. सशांक कोइराला र असन्तुष्ट पक्षका नेता प्रकाशनमान सिंहसँग वार्ता गर्नुभएको थियो तर सहमति जुटन सकेन ।

वरिष्ठ नेता पौडेल उपत्यका बाहिर भएकोले संस्थापन पक्षसँग छलफल र निर्णय लिने जिम्मा सिंहलाई दिनुभएको थियो । निधि र महामन्त्री कोइरालाबीचको छलफलमा महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेविसंघ तदर्थ समिति, तरण दलको छ महिना म्याद थप्ने विषयमा छलफल भए पनि सिंहसँगको छलफलपछि सहमति भाँडिएको थियो । निधि र सिंहबीचको छलफलमा महाधिवेशको क्यालेण्डर पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्नेमा विवाद भएपछि सहमति हुन नसकेको एक नेताले बताए ।

महामन्त्री कोइरालासहितको पौडेल समूहले पहिले महाधिवेशनको क्यालेण्डर टुंगो लगाएर अरु विषयमा प्रवेश गर्नुपर्ने अडान राख्दै आएका छन् भने देउवा नेतृत्वको संस्थापन पक्षले विभाग गठन तथा पार्टीका अन्य आन्तरिक व्यवस्थापनका विषय टुंगो लगाएपछि मात्र महाधिवेशनको क्यालेण्डर तय गर्नुर्ने अडान राखेको छ । यही विवादका कारण गत बिहीबारको बैठक पनि पौडेल र महामन्त्री कोइरालासहित असन्तुष्ट पक्षका नेता तथा सदस्यहरुले बहिष्कार गर्नुभएको थियो । केही बेर बैठक राखेर स्थगनपछि आजको बैठकमा सहमति जुटाउन देउवा आफैले पहल लिनुभएको थियो ।

उहाँले बरिष्ठ नेता पौडेलसँग छलफल गरी निधि र सिंहलाई सहमति जुटाउने जिम्मा तोकिएको थियो । हाल कायम रहेका २८ विभागको संख्या बढाएर ४५ पुर्याउने संस्थापन पक्षको प्रस्तावमा असन्तुष्ट समुहका सवै नेताहरु असहमत देखिएका छन । संस्थापन पक्षले केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा, आगामी पुस ७ देखि १६ गतेसम्म हुने पार्टीको तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, सकारको भूमिका, केन्द्रीय विभाग गठन, पार्टीका अन्तरिम संरचना गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषय प्रवेश गराएको छ । तर महाधिवेशनको एजेण्डा राख्न चाहेको छैन । विधानतः आगामी फागुनमा महाधिवेशन गर्नुपर्ने कांग्रेसको बैठक पुरानै महाधिवेशनको म्यान्डेटअनुसार भइसक्नुपर्ने विभाग गठन तथा संरचनालाई पूर्णता दिन सकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE