पूर्वमाओवादी समूहको प्रचण्डसँग छुट्टै छलफलः कुनै पनि हालतमा सभामुख नछाड्न सुझाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेका बेला दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरूको मात्रै बैठक बोलाएर गोप्य रणनीति बनाएका छन् ।

दाहालले खुमलटारस्थित आफ्नै निवासमा सोमबार पूर्वमाओवादी नेताहरूको बैठक राखेका हुन् । बैठकमा सभामुख माओवादी पृष्ठभूमि भएका सांसदलाई नै बनाउने सहमति भएको स्रोतले जनाएको छ । नेताहरूले पूर्वएमालेका नेताहरूलाई सभामुख पद नदिन दाहाललाई दवाव दिएको एक नेताले बताए ।

सभामुखमा सुवासचन्द्र नेम्वाङको चर्चा भइरहेका बेला माओवादी पृष्ठभूमि भएका नेताहरूको बैठकले सभामुख पद माओवादी पृष्ठभूमि भएकालाई नै बनाउन सुझाव दिएको छ ।

बैठकमा रामबहादुर थापा, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरूको सहभागिता रहेको थियो ।

नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेताहरू रहेका छन् । तीमध्ये अधिकांश नेताहरू खुमलटारको बैठकमा थिए ।

नेताहरूले सभामुख पद पूर्वएमालेका लागि छाडिएको हो कि होइन भनेर दाहालसँग जिज्ञासा राखेका थिए ।

दैनिक नेपालको अनुसार, अध्यक्ष दाहालले नेताहरूलाई सभामुखबारे कुनै सहमति भइनसकेको जानकारी दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE