कांग्रेस विवाद सहमति नजिक: लेनदेनमा दुवै पक्षबीच मोटामोटी सहमति

काठमाडौं, २ पुस । कांग्रेसभित्रको जारी आन्तरिक विवाद मिलाउन भइरहेका छलफल सहमति नजिक पुगेको छ। १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समयावधि थपसँगै समितिलाई पूर्णता दिन छलफल सकारात्मक बन्दै गएको नेताहरूले बताए।

सहमति निर्माणका लागि संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदल बैठक दिनहँु बसे पनि टुंगोमा पुग्न सकेको छैन। मंगलबार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको दाबी नेताहरूले गरेका छन्। बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि ठोस सहमतिमा पुग्न सकिने विश्वास उनीहरूको छ। ‘चारवटै विषयमा छलफल भएको छ। छलफल सकारात्मक छ,’ पौडेल समूहबाट कार्यदल सदस्य हृदयराम थानीले भने, ‘कुरा बिग्रेन भने बुधबारसम्म सहमतिमा पुगिन्छ।’

कार्यदलबीच नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा करिब डेढ घण्टा छलफल चलेको थियो। महाधिवेशन कार्यतालिकाबारे दुवै पक्षबीच विवाद छैन। संस्थापन समूह अर्काे वर्ष फागुनसम्म महाधिवेशन गर्ने अडानमा छ भने पौडेल समूहले मंसिरभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ।

यसअघि संस्थापन समूहले पार्टीको सांगठनिक संरचनालाई पूर्णता दिएपछि मात्र महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने अडान राख्दै आएको थियो। असन्तुष्ट समूहले महाधिवेशन कार्यतालिका नल्याए केन्द्रीय समिति बैठकमा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ। बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा पौडेल समूह अनुपस्थित हुँदै आएको छ। सोमबारको बैठकमा पनि पौडेल समूह नआएपछि सभापति देउवाले सहमतिका लागि भन्दै दुई दिन बैठक स्थगित गरेका थिए।

‘आन्तरिक विवाद सहमतिपूर्वक टुंगिने वातावरण निर्माण भएको छ। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सानेपामै थप छलफल गर्ने समझदारी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफल सकारात्मक रूपमा अगाडि बढेको छ। सबै विषयमा आज टुंगो लाग्छ।’

महाधिवेशन कार्यतालिकामा सहमति नजिक भए पनि तरुण दल र नेविसंघ गठनमा भने दुवै समूह आआफ्नै अडानमा छ। संस्थापन समूह नेविसंघमा चार महामन्त्रीसहित विधानअनुसार केन्द्रीय समिति गठन गर्नुपर्ने पक्षमा छ भने पौडेल समूहले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यक्षसहितको पूरा कमिटी ल्याउनुपर्नेमा जोड दिएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE