काठमाडौं, २ पुस । २० पुसमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले तालिका निकालेको छ ।

१७ पुसमा भने मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुनेछन् । थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।

दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने र निर्वाचन चिह्न प्रदान गरिनेछ ।

सरकारले यसअघि नै मतदानको मिति ९ माघ तय गरिसकेको छ ।

राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना  गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0