पौडेल र सिटौला नआएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। बुधबार दिउँसो १ बजेलाई बोलाइएको बैठक आन्तरिक विवाद हल नभएका कारण शुक्रबारसम्मका लागि स्थगित भएको हो।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग सहमति नजुटेपछि बैठक नै स्थगित गरिएको हो । ‘वरिष्ठ नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पार्टीको विवाद समाधानको लागि छलफलमा रहेकोले आजको बैठक सारिएको छ,’ कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने, ‘अब पुस ४ गते दिउँसो १ बजे बैठक बस्नेछ।’

बुधबार दिनभर नेपाली कांग्रेसमा असन्तुष्ट समूह भनिएको पौडेल पक्षले पौडेल निवास बोहोराटारमा छलफल जारी राखेको छ। पौडेल पक्षको छलफल भनिए पनि उक्त छलफलमा नेपाली कांग्रेसमा तेस्रो पक्षको नेतृत्व गरिरहेका सिटौला पनि सहभागि छन्। सिटौला वरिष्ठ नेता पौडेलकै निमन्त्रणामा बोहोराटार पुगेका हुन्।

गत शनिबार सभापति शेरबहादुर देउवाले पनि पौडेल निवास बोहोराटार पुगेर उनलाई फकाउने प्रयास गरेका थिए। त्यसयता देउवा पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट वरिष्ठ नेता प्रकाशमान सिंहले पटकपटक छलफल गरिसकेका छन्। दुई पक्षले समाधान निकाल्न नसकेपछि सिटौला निकै सक्रिय देखिएका छन्। यसअघि दुई दिन स्थगित गरेर बुधबार दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको थियो।

पौडेल समूहले नयाँ–नयाँ माग अघि सारेपछि सहमति नभएको उनको भनाइ छ। ‘उहाँहरु कहिले के, कहिले के माग राखिरहनुभएको छ, अहिले फेरि नेविसंघ र तरुणदलको नेतृत्व मागिरहनुभएको छ’, उनले थपे। तत्काल १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै पौडेल समूहले मंसिर २६ गतेदेखिको कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ।

बोहराटारमा पौडेल र सिटौला पक्षको छुट्टै भेला

यता केन्द्रय कार्यसमिति बैठक बहिष्कार गरेको पौडेल र सिटौला समूहको भने छुट्टै बैठक बसेको छ। बुधबार दिउँसो केन्द्रीय कार्यसमितिको बैठक बोलाइएकै समयमा पौडेल निवास बोहराटारमा दुई पक्षको बैठक बसिरहेको छ।

भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेता सहभागी भएको एक केन्द्रीय सदस्यले नेपालखबरलाई बताए। मंगलबार बेलुका पौडेल समूहका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उपसभापति विमलेन्द्र निधिसहितको वार्ता भएपनि त्यसमा सहमति नजुटेपछि कांग्रेसको कार्यसमिति बैठक अनिश्चित बनेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE