सीमा विवाद बारे भारतद्धारा नेपालाई ‘नो रेस्पोन्स’

काठमाडौं, ३ पुस । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा मिचिएको विषयमा भारतले तत्काल परराष्ट्र सचिव स्तरमा वार्ता नगर्ने भएको छ। नेतृत्व आन्तरिक राजनीतिक मामिलामा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र परिवर्तन भएको र भारतीय राजदूतको कार्यकाल पनि सकिन लागेको कारण देखाउँदै भारतले सचिवस्तरीय वार्ता अघि नबढ्ने संकेत दिएको परराष्ट्र अधिकारीले बताएका छन्।

भारतीय विदेश सचिव विजय गोखलेको कार्यकाल डेढ महिनापछि र काठमाडौंमा राजदूत मञ्जिभसिंह पुरीको कार्यकाल दुई सातापछि सकिँदै छ। सरकारले सीमाका विषयमा एक महिनाअघि दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक पत्र पठाए पनि भारतीय पक्षबाट जवाफ आएको छैन। ‘राजदूत नीलाम्बर आचार्य लगातार प्रयासमा हुनुहुन्छ। विभिन्न भेटघाट भइरहेका छन्। तर पनि वार्ता मिति तय भएको छैन,’ दूतावासका प्रवक्ता एवं राजनीतिक मामिला हेर्ने हरि ओडारीले टेलिफोनमा भने, ‘हामी सकारात्मक जवाफको प्रतीक्षामा छौं।’

कूटनीतिक च्यालनबाट वार्ता अघि बढ्न नसकेपछि सरकारले राजनीतिक दूत पठाउने तयारी गरेको थियो। तर कर्मचारीतन्त्रबाट असहयोग भएपछि विशेष दूत पठाउन नसकिएको कूटनीतिक स्रोतले बतायो।

भारतको जवाफ नआएपछि नेपाली पक्ष भारत र चीनको सीमा अवलोकनमा जुटेको छ। सरकारले ट्र््याक वान/टु मात्र होइन अन्य धेरै ‘ब्याक च्यानल’ प्रयोग गर्नपर्नेमा सीमा घुम्ने र हल्ला गर्ने नीति लिएको भन्दै राजनीतिक नेतृत्व असन्तुष्ट बनेको छ। एक अधिकारीले भने, ‘टोली खटाउनु भनेको राजनीतिक खपत मात्र हो।’ भारत र चीनतर्फ हेर्ने सीमा अनुगमन टोली बनाउँदै सचिव शंकरदास बैरागी सचिवस्तरीय वार्ता गर्ने जिम्मेवारीबाट हट्न खोजेको ती अधिकारीले बताए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE