राजेन्द्र महतोमाथि मधेसमा नयाँ ‘मीर जाफर’ भएको आरोपः मधेसका एजेण्डाले अब महतोलाई लखेट्ने सम्भावना

– कुसुम भट्टराई

विगतमा संविधान निर्माण प्रक्रिया ओली र महतोजस्ता दुई अतिवादी पात्रहरुकै कारण गतिरोधको शिकार भएको थियो।मधेसका मुद्दा सुन्नै नचाहने ओली र वार्तामा पटक्कै लचकता देखाउन नमान्ने महतोको अतिवादी रवैया कारण दोस्रो संविधानसभालाई समेत संविधान निर्माण गर्न हम्मेहम्मे प¥यो।  ओली र महतोबीचको दन्तबझानबीच संविधान निर्माणको हलो अड्कीरह्यो। ओलीले मधेसीलाई युपी बिहारका भन्न थाले, महतो चाहिँ ‘पहाडमा दानापानी रोकिदिन्छौं’ भन्थे।

कुसुम भट्टराई

संविधान निर्माणताका महतो मधेस आन्दोलनका उग्र नेता थिए। संविधान जारी भएपछि चर्किएको मधेस आन्दोलनमा महतोको आक्रोशको तारो अरु कोही नभएर तत्कालीन एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली नै थिए।  संविधान निर्माणताका आफूलाई प्रधानमन्त्री बन्न सहयोग नगरेको र पछि कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकार निर्माणमा सहयोग गरेर आफूलाई सत्ताच्यूत गराएको आक्रोश ओलीले मधेसी नेताहरुमाथि पोख्दै आएका थिए।

मधेसका एजेन्डालाई यथोचित सम्बोधन नगरी ‘फाष्ट ट्रयाक’ का नाममा संविधान जारी गर्न र सत्तामा जान हतारिएको आरोप पनि मधेसवादी नेताहरुले ओलीमाथि लगाउँदै आएका थिए। त्यो बेला ओली र महतोबीच उग्र आरोपप्रत्यारोप नै चलेको थियो। ओलीले ‘समथर भूमि चाहिएको हो भने युपी विहारतिर गए हुन्छ’ भन्दै मधेसीलाई ‘भारतीय’ को संज्ञा दिएपछि महतोले पनि जवाफी हमला गर्दै ओलीलाई ‘पहाडे खस अहंकारवादी नश्लवादी’, ‘खोक्रो राष्ट्रवादी’ भनेका थिए।

तत्कालीन एमालेले मधेसको पहिचान र अधिकारको मुद्दालाई वेवास्ता गर्दै आएको गुनासो पार्टीभित्रै सुनिथ्यो। एमालेबाटै उदाएका नेताहरु जयकृष्ण गोइत, उपेन्द्र यादव, महेन्द्र राय यादव, जितेन्द्र देव आदि  एमालेसँग रुष्ट भइ मधेसमा अलग–अलग धारको नेतृत्व गरिरहेका छन्। २०५० सालमा सितान्दन रायको संयोजकत्वमा गठित कार्यदलले मधेसका समस्याबारे तयार गरेको प्रतिवेदनलाई रद्दीको टोकरीमा मिल्काएपछि एमालेलाई ‘मधेसविरोधी दल’को संज्ञा स्वयं महतोलगायतका मधेसवादी नेताहरुले दिँदै आएका थिए।

ओली र महतोको अतिवादी टक्कर, भारतले नेपालमा थोपरेको अघोषित नाकाबन्दी, त्यो नाकाबन्दीको चर्को विरोधको जगमा एकाएक निर्माण भएको ओलीको कथित राष्ट्रवादी छवी र त्यही छवी भजाएर नेकपाको दुई तिहाइ सरकार गठनसम्मका परिघटनाहरु फर्केर हेर्दा कतै ओली र महतोले कुनै निश्चित डिजाइन बमोजिम नै विपरीत ध्रुपमा रहेर अतिवादी भूमिका निर्वाह गरेका त हैनन्? भन्ने आशंकाले अहिले आएर बल पाएको छ।

पूर्वएमाले र माकेको एकीकरण, नेकपाको सत्तारोहणका पृष्ठभूमिमा एक पात्र महतो पनि रहेछन् भन्ने विश्लेषण गर्न सकिन्छ। नेपालमा कुनै पनि संवैधानिक, प्रशासनिक, पार्टीगत या सामाजिक प्रक्रियामा भाँजो हाल्ने खालका द्वन्द्वहरु दुवै कोणका अतिवादीहरुकै कारण सिर्जना भएका हुन्छन्।
अन्ततः मधेसका माग पूरा नभए काठमाडौंमा पाइलै नटेक्ने र पार्टी कार्यालयसमेत मधेसमै कायम गर्ने उद्घोष गरेका महतोले उनै ओलीसँग हात मिलाएका छन्, जसलाई कुनै बेला उनले मधेसमै छिर्न समस्या खडा गरिदिएका थिए।

ओलीले त्यो बेला मधेसमा अभियान लिएर जाँदा भएको मुठभेडमा पाँच जना मधेसी कार्यकर्ताको मृत्युसमेत भएको थियो। टिकापुरकाण्डका आरोपी रेशम चौधरी जेल चलान भएपछि ‘प्रचण्ड र ओलीलाई पनि जेल हाल्नुपर्छ’ भन्ने महतो अब मधेसका मुद्दा छाडेर ‘मधेसविरोधी नेकपा’सँगै सत्ताको मोलमोलाइतिर लागेका छन्।

सत्तामुखी राजनीति 

अतिवादी चरित्रका यी दुई पात्रबीचको आकस्मिक गठजोड अस्वाभाविक, अपवित्र र सत्ता स्वार्थप्रेरित देखिन्छ।

प्रतिपक्षी नेपाली कांग्रेससँग सहकार्य गर्दा पनि प्राप्त हुनसक्ने राष्ट्रिय सभाको सिटका लागि राजपाले प्रदेश दुईमा सत्ता साझेदार समाजवादीलाई समेत उपेक्षा गरेर सत्तारुढ नेकपासँगै सहकार्य गर्नुका पछाडि उपसभामुख र मन्त्रीसमेत हत्याउने लोभ लालच निहित रहेको स्पष्ट छ।

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरणको वार्ता चलिरहेकै बेला महतोलाई सत्ता साझेदारीसम्मको प्रलोभन देखाएर भड्काउन सफल सत्तारुढ नेकपाको यो ‘फुटाउ र राज गर’को ‘डर्टी पोलिटिक्स’ हो। यसले एकातिर प्रतिपक्षी कांग्रेसलाई चिढ्याएको छ भने अर्कोतिर प्रतिपक्षी धु्रवलाई कमजोर बनाउन लोभीपापी समूह र व्यक्तिहरुको आडमा सत्तासीनहरु जस्तोसुकै हतकण्डा अपनाउन तयार छन् भन्ने उदाङ्गो भएको छ।

अब यसको प्रभाव सम्भवतः प्रदेश दुईको सत्ता समिकरणमा पनि देखिनेछ र त्यहाँ राजपा र नेकपाको गठबन्धन कायम हुनसक्छ। यसले मधेसमा नयाँ खालको द्वन्द्व, असन्तुष्टि र अस्थिरता ननिम्त्याउला भन्न सकिन्न। प्रधानमन्त्री ओलीले महतोलाई काखी च्यापेर मधेसवादी दलहरुबीचको एकीकरण प्रक्रियामा भाँजो हालेका छन्। समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ट्वीटरमार्फत महतोलाई ‘ओलीको दास’कै संज्ञा दिएका छन्। मधेस र मधेसका एजेण्डाका हकमा अब असली ‘मीर जाफर’ को हो त? भन्ने प्रश्न उब्जिएको छ।

मधेसको मीर जाफर को? 

मधेसको राजनीतिमा बारम्बार मीर जाफरको चर्चा सुनिन्छ। मीर जाफर बंगालका यस्ता सेनापति थिए, जसको गद्दारीका कारण अंग्रेजहरु भारतमा दुई सय वर्षसम्म कब्जा जमाउन सफल भए।

इतिहासमा उल्लेख भए अनुसार बंगालका नबाब सिराजुद्दौलाले मीर जाफरलाई हटाएर मीर मदानलाई सेनापति बनाएका थिए। जसका कारण मीर जाफर सिराजुद्दोलासँग रुष्ट थिए र उनी आफै अंग्रेजहरुसँग साँठगाँठ गरेर बंगालको नबाब बन्न चाहन्थे।

सन् १७५७ मा इष्ट इन्डिया कम्पनीले बंगालमा आक्रमण ग¥यो। नबाब सिराजुद्दोला अंग्रेज सेनासँग भिडिरहेकै थिए। यसक्रममा सेनापति मीर मदानलगायत उनका सयौं सेना मारिए। सेनापति मारिएपछि संकटमा परेका नबाबले युद्ध रणनीतिबारे पूर्वसेनापति मीर जाफरसँगै सल्लाह मागे।

मीर जाफरले नबाबलाई गलत सल्लाह दिए। उनको सल्लाह बमोजिम नबाबले तत्काल युद्ध रोके र सेना क्याम्पतर्फ फर्काउन थाले। अर्कोतिर मीर जाफरले नबाबका तर्फबाट युद्ध रोकिएको सूचना अंग्रेजहरुलाई दिए। ब्रिटिश सेना प्रमुख रोबर्ट क्लाइबले आक्रमण जारी राखे, जसका कारण अंग्रेजहरु भारतमा कब्जा जमाउन सफल भए। अंग्रेजहरुले गद्दार मीर जाफरलाई बंगालको नबाब बनाए।

संघीय समाजवादी पार्टीका नेता उपेन्द्र यादवको आलोचना गर्ने क्रममा राजपा संयोजक महतोले बारम्बार ‘मधेसको मीर जाफर’को संज्ञा दिँदै आएका थिए। यादवले मधेसका मुद्दा छाडेर ‘पहाडे नश्लवादी’ ओली पथमा हिँडेको, ओलीको प्रवक्ता भएको, मती भ्रमित भएर मधेसविरोधी अभिव्यक्ति दिएको र गद्दार मीर जाफरको जस्तो भूमिका निर्वाह गरेको आरोप महतोले लगाउँदै आएका थिए।

यद्यपी, राजपा र समाजवादी पार्टीबीच एकीकरणको पहल भइरहेकाले केही समययता महतोका वाणीहरु यादवप्रति नरम सुनिदै थियो। यादवलाई ओली पथमा हिँडेको आरोप लगाउने महतो एकाएक ओलीसँग गठजोड गर्न पुगेपछि ‘मीर जाफर’को आरोप अब महतोतर्फ नै सोझिने सम्भावना छ। मधेसको पहिचान र अधिकारको एजेण्डालाई छाडेर महतो सत्ताका लागि ‘मधेसविरोधी ओली’सँग मिलेको चर्चा मधेसमा सुरु भइसकेको छ।

मधेसका एजेण्डाले अब महतो स्वयंलाई लखेट्ने सम्भावना छ। ओली सरकारले जारी गरेको बजेटप्रति उनका कटाक्ष अब उनीतिरै सोझिनेछन्। बजेटमाथिको छलफलमा महतोले भनेका थिए, ‘यो बजेट संघीयताविरोधी छ। हामीले त समावेशी, समानुपातिक, सबैको अधिकार र पहिचान सुरक्षित हुने संघीयता खोजेको हो, थोडी ओली मार्का संघीयता खोजेको हो?’

‘ओली मार्का संघीयता’ मै मस्तराम हुन तयार भएका महतोविरुद्ध डा. बाबुरामदेखि उपेन्द्र यादवसम्मले प्रहार केन्द्रित गर्नेछन्। यसले मधेस आन्दोलनबाट एकाएक माथि उठेको उनको छवि खस्किन सक्छ। अझै पनि बन्द प्रशिक्षणहरुमा विखण्डनको नारा दिइरहेका सीके राउतदेखि महतोसम्मसँग साँठगाँठ गर्न सक्ने नेकपाको सरकारप्रति पनि मधेसमा अविश्वास घनिभूत हुनसक्छ।

मधेसमा पहिचान र अधिकारको पक्षमा संगठित र एकत्रित हुन लागेका शक्तिलाई सत्ताको ललिपप देखाएर मिल्न नदिने, मधेसवादी शक्तिहरुबीच आपसमै कटुता र विभाजनको बिउ रोप्ने र प्रमुख प्रतिपक्षसँगसमेत सौहार्द सम्बन्ध कायम गर्न नसक्ने नेकपाको सकुनी चाल निन्दनीय छ।

– काठमाडौं प्रेसबाट

WRITE COMMENTS FOR THIS ARTICLE