काठमाडौं, ९ पुस । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ। पार्टी अध्यक्षसमेत रहेका उपप्रधान एवम् कानुनमन्त्री उपेन्द्र यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनका लागि लगेको ठाडो प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकृत गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको हो।यादवले सरकारको नेतृत्व गरिरहेको दल नेकपासँग परामर्शै नगरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए।

‘संविधानका कतिपय व्यवस्था मस्यौदाका दृष्टिले परिमार्जन गर्नुपर्ने वा कतिपय व्यवस्थामा रहेको अन्तरविरोध मिलाउनुपर्ने भएको छ’, प्रस्तावमा भनिएको छ, ‘यिनै विषयमा सम्बोधन हुने गरी संवैधानिक कानुनविज्ञबाट नेपालको संविधानमा संशोधन, परिमार्जन र सुधार गर्नुपर्ने विषयमा अध्ययन गराई प्रक्रिया अघि बढाउनुपर्ने अवस्था देखिएकाले नेपालको संविधानमा गर्नुपर्ने सुधार र संशोधनका विषय चहिचान गरी संशोधनका मस्यौदा पेस गर्न एक विज्ञ समिति गठन गर्न आवश्यक छ।’

प्रधानमन्त्रीले प्रस्ताव लैजाने प्रक्रिया र विधिमाथि प्रश्न उठाउँदै अस्वीकार गरेपछि मंगलबार बिहान समाजवादी संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको हो। समाजवादीले २०७५ जेठ १४ मा भएको दुईबुँदे सहमतिअनुसारको संविधान संशोधन प्रस्तावमा सत्ताधारी दल नेकपा असहमत रहेको निष्कर्ष निकलेको छ।

पूर्वसहमतिअनुसार संविधान संशोधनमा प्रधानमन्त्री उदासीन देखिएपछि आफूहरू सरकारबाट बाहिरिने निर्णयमा पुगेको सरकारमै सहरी विकासमन्त्री रहेका र मंगलबार राजीनामा बुझाएका समाजवादीका नेता मोहम्मद इस्तियाक राईले बताए। ‘हामीले राखेको माग त्यति अप्ठ्यारो होइन तर त्यतातिर नेकपा नेतृत्व र प्रधानमन्त्री गम्भीर देखिनुभएन। त्यस कारण हामीले सरकार छोड्ने निर्णय लियौं,’ राईले भने।

मन्त्रीबाट राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको उनले बताए। ‘सरकारसमक्ष हाम्रो माग संविधान संशोधन होस् भन्ने नै छ’, उनले भने, ‘अब सरकारले हामीलाई जस्तो व्यवहार देखाउँछ हामी पनि त्यस्तै व्यवहार देखाउँछौं।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0