सिद्धबाबा यसकारण भए धरौटीमा रिहा: अभियोग नै ‘कमजोर’

सुनसरीः आफ्नै महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास (कृष्णबहादुर) गिरीविरुद्ध अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गर्दै गत बिहीबार (पुस ११ गते) जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको थियो ।

पीडित महिलाको जाहेरी पछि गत मंसिर १६ गते पक्राउ परेका सिद्धबाबामाथि प्रहरीले करिब ३ साता अनुसन्धान गरेको थियो । प्रहरीले ३ साता लामो अनुसन्धान गरेपनि सिद्धबाबाले हिरासतमा १ रात पनि विताउन परेन ।

पीडित भनिएकी महिलाले प्रहरीमा उजुरी दिएको दिनदेखि नै गिरी बिरामी परेको भन्दै विराटनगरको एक अस्पताल भर्ना भएका थिए । उनले आफूलाई मुटुसम्बन्धी समस्या रहेको बताउँदै आएका थिए ।

उनको उक्त चालमा अस्पतालका चिकित्सकहरुले समेत साथ दिँदा प्रहरीले उनको बयान लिनका लागि समेत अस्पताल नै पुग्नु पर्‍यो । अनुसन्धानका क्रममा प्रहरीको निगरानीमा रहनुपर्ने सिद्धबाबाले अस्पतालको आईसीयूमा ‘आराम’ गर्ने सुविधा पाए ।

अस्पतालमै पुगेर भएपनि सिद्धबाबासँग बयान लिएको प्रहरीले पक्राउ परेको २२ औं दिन पुस १० गते जिल्ला सरकारी वकिल कार्यालयलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सिद्धबाबाविरुद्ध बलात्कार अभियोगमा अधिकत्तम १० वर्ष कैद सजायको मागदाबी गर्दै जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले सिद्धबाबाविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३)को देहाय (ङ) बमोजिम कसुर गरेको अभियोग लगाएको थियो ।

फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३)को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

तर, अदालतले भने सिद्धबाबालाई सोमबार धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ । सामान्यतः अदालतले जबरजस्ती करणीको अभियोग लागेका अभियुक्तलाई धरौटी तथा तारेखमा रिहा गर्न मान्दैन ।

पूर्व सभामुख कृष्णबहादुर महराको प्रकरणमा पीडित भनिएकी महिलाले अभियुक्त ‘निर्दोष’ रहेको भन्दै निवेदन दिँदा पनि उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको आदेशलाई उल्ट्याएन । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालतको पुनरावेदन सुनुवाईका क्रममा पीडित महिलाले मुद्दा हेरिरहेका न्यायाधीशलाई नै सम्बोधन गर्दै महरा ‘निर्दोष’ भएको निवेदन दिएकी थिइन । तर, अदालतले ‘प्राप्त प्रमाण’का आधारमा महरालाई ‘निर्दोष’ भन्न नसकिने जनायो ।

सिद्धबाबाको प्रकरणमा पनि अदालतले उनलाई ‘निर्दोष’ भनिसकेको छैन । तर, धरौटीमा रिहा गर्ने आदेशमै सिद्धबाबाविरुद्धको अभियोग (आरोप) केही कमजोर रहेको तथ्य भने अदालतले उजागर गरिदिएको छ ।

सिद्धबाबालाई धरौटीमा छाड्नुपर्ने विषयलाई पुष्टि गर्न जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले जारी गरेको आदेशमा भनिएको छ– ‘पीडिता भनिएकी जाहेरवालीले एकतर्फी रुपमा प्रतिवादी सिद्धबाबालाई गरेको करिब १ वर्षसम्म ५३ थान मुख्य अंश रहेको आपत्तिपूर्ण प्रेम जस्ता म्यासेजहरु हाल अन्यथा हुन नसकेको परिवेशमा प्रस्तुत वारदातलाई जबरजस्ती करणी भनि मुद्दाको पुर्पक्ष गर्नका लागि प्रतिवादी सिद्धबाबालाई थुनामा राखी कारबाही गर्नु औचित्यपूर्ण रहँदैन ।’

मुद्दाको प्रारम्भिक सुनुवाईका क्रममा प्रतिवादी पक्ष (सिद्धबाबा)का तर्फबाट पीडित भनिएकी महिलाले सिद्धबाबालाई पठाएका भनिएका म्यासेज पनि ‘दशी प्रमाण’का रुपमा पेश गरिएको थियो ।

ती म्यासेजमा पीडित भनिएकी महिलाले सिद्धबाबालाई उनको प्रेममा रहेको देखाउनेजस्ता ‘उत्तेजक’ शब्दहरु पठाएको देखिएको छ ।

अदालतमा मुद्दा पेश गर्दा उक्त मुद्दासँग सम्बन्धित केही व्यक्तिले सिद्धबाबालाई ‘सफाइ’ दिनुपर्ने भन्दै गरिएको कागज व्यहोरालाई समेत अदालतले मुद्दा ‘कमजोर’ रहेको तथ्यका रुपमा आदेशमा उल्लेख गरेको छ ।

आदेशको शुरुमै अदालतले मुद्दाको सन्दर्भमा बुझिएका व्यक्तिले प्रतिवादी (सिद्धबाबा)लाई सफाइ दिनुपर्छ भनी कागज गराएको व्यहोरा उल्लेख गरेको छ ।

अदालतले मुद्दाको सन्दर्भमा बुझिएका व्यक्तिहरुको कागज, अनुसन्धान र अभियोगपत्रमा उल्लेखित मिसिल, प्रमाण तथा पीडित महिलाले पठाएको म्यासेजका आधारमा सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा पठाउन नसकिने ठहर गरेको देखिन्छ ।

३ लाख धरौटी तिराउने त्यो अडियो

अदालतले सिद्धबाबालाई थुनामा पठाउन अस्वीकार गरेपनि उनलाई साधारण तारेखमा भने रिहा गर्न मानेन । अर्थात्, बलात्कारको अभियोगमा सिद्धबाबा निर्दोष रहेछन् भनि भन्न मिल्ने अवस्था नरहेको अदालतको ठहर छ ।

मुद्दासँगै प्रस्तुत गरिएको एउटा प्रमाणको विषयलाई उल्लेख गरेर अदालतले सिद्धबाबालाई दोषी भन्न नमिल्ने ठहर गरेको हो ।

त्यो प्रमाण हो, सिद्धबाबाले पीडित महिलासँग व्यक्त गरेको ‘क्षमायाचनासहितको अडियो’ । अदालती बयानकै क्रममा सिद्धबाबालाई उक्त अडियो सुनाइएको थियो । जुन अडियोमा सिद्धबाबाले आफूबाट गल्ती भएको स्वीकार गर्दै पीडित महिलासँग माफी मागेका छन् ।

बयानका क्रममा सिद्धबाबाले उक्त अडियोको आवाज आफ्नो नभएको भन्दै इन्कार गरेका थिए । तर, परीक्षण प्रतिवेदनमा उक्त अडियोको आवाज सिद्धबाबाको आवाजसँग मिल्ने गएको भनी उल्लेख गरिएको पाइएपछि अदालतले उनीसँग ३ लाख धरौटी माग गरेको हो ।

सिद्धबाबासँग धरौटी माग गरिएको आदेशमा अदालतले भनेको छ– प्रस्तुत वारदात सन्भर्दमा प्रतिवादी सिद्धबाबाले व्यक्त गरेको क्षमायाचनासहितको अडियो रेकर्डलाई निज प्रतिवादी सिद्धबाबाले आफ्नो आवाज हैन भनी इन्कार गरेता पनि सोको परीक्षणबाट निज प्रतिवादी सिद्धबाबाको आवाजसँग मिल्न जाने भनि दिएको परीक्षण प्रतिवेदन हाल अन्यथा हुन नसकेको अवस्थामा निज प्रतिवादी निर्दोष रहेछन् भनि मान्न मिल्ने अवस्थाको नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी सिद्धबाबा रामकृष्ण वैश्णव कृष्णदास भन्ने कृष्ण बहादुर गिरीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम, सोही दफा ७२ बमोजिम समेतलाई विचार गरी रु ३ लाख धरौटी माग गरी निजले नगद धरौट तथा सो बराबरको जेथा जमानत दिए तारेखमा राखी र उक्त धरौटी दिन नसकेमा कानून बमोजिम थुनामा राखी मुद्दाको कारबाही अगाडि बढाउनु भनि सोही संहिताको दफा ७९ बमोजिम आदेश गरिदिएको छ । – खबर हबबाट

WRITE COMMENTS FOR THIS ARTICLE