उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १६ पुस । पश्चिमी न्यूनचापीय प्रणाली बुधबार साँझदेखि सशक्त हुनेछ । यसका कारण देशको मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।

महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली जम्मु कश्मीरबाट नेपाल भित्रिने क्रममा छ। ‘यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भई तापक्रममा गिरावट आएर चिसो बढ्ने देखिन्छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले हिमपात र चिसोको असरबाट बच्न सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। जुम्लामा मंगलबार न्यूनतम तापक्रम माइन्स चार दशमलब नौ डिग्री सेन्टिग्रेड रेकर्ड गरिएको छ ।

काठमाडौंको न्यूनतम तापक्रम मंगलबार एक दशमलब पाँच डिग्रीसेन्टिग्रेड रह्यो । महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘पश्चिमी न्यूनचापीय प्रणालीको चापका कारण बुधबार र बिहीबार देशको पश्चिमी, मध्य र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको हुने सम्भावना छ । यो प्रणालीले शुक्रबारसमेत वर्षा र हिमपात गराउने सम्भावना छ ।’

तराईका थोरै स्थानमा हुस्सु रकुहिरो लागेको महाशाखाले जनाएको छ । ‘तराईमा कुहिरोका कारण राम्रोस“ग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो हुने देखिन्छ,’ बुलेटिनमा उल्लेख छ, ‘चिसोबाट बच्ने उपाय अपनाउन, यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।’ तराईका अधिकांश स्थानमा मंगलबार बिहान सरदर तापक्रम ४ देखि ७ डिग्री सेन्टिग्रेड रहेको महाशाखाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE