फितलो तयारीका बीच प्रदेश २ मा भ्रमण बर्ष २०२० को सुरुवात

जनकपुरधाम। प्रदेश नं. २ सहित नेपालभरी आजबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भएको छ। तर यहाँका पर्यटकीय स्थलहरुलाई संरक्षण र बाटोको मर्मत सम्भार राम्रोसँग नगर्दा पर्यटकहरुले भने सास्ती पाउने भएका छन्। पर्यटकहरुलाई गन्तव्यमा पुर्‍याउने तयारी नै फितलो देखिएको छ।

नेपाल सरकारले राष्ट्रिय महोत्सवको रुपमा घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने उद्देश्यका साथ बुधबारदेखि विधिवत रुपमा भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशमा भव्यरुपमा भएको छ।

सोही लक्ष्य अनुरुप प्रदेश दुईमा समेत भ्रमण वर्षलाई लिएर प्रदेशका आठ वटै जिल्लामा विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष २०२० लाई स्वागत गरिएको हो । भ्रमण वर्ष २०२० को पहिलो दिन प्रदेश दुईमा कहीँ अन्तरक्रिया कार्यक्रम गरियो भने, कहीँ गोष्ठी त कहीँ पर्यटकहरुलाई स्वागत गरियो।

भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले प्रदेश समन्वय समिति बनाउनुका साथै प्रत्येक जिल्लामा समेत समन्वय समिति गठन गरिएको भ्रमण वर्ष २०२० समन्वय समितिका संयोजक मनिष झाले जानकारी दिए। ती समन्वय समितिहरुले आ–आफ्नो जिल्लामा कार्यक्रमहरुको आयोजना गरेको उनले बताए।

प्रदेशका ८ वटै जिल्लामा एक प्रमुख केन्द्र तोकेर ५÷५ वटा गणतव्य स्थल आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि तोकिएको छ। पर्यटकहरुको स्वागतका लागि प्रत्येक जिल्ला र गणतव्य स्थलमा प्रवेशद्वार बनाइएको छ।

प्रत्येक जिल्लामा भ्रमण वर्ष २०२० को सुरुवात बेग्ला बेग्लै ढंगले गरिएको छ। पर्सामा संकराचार्य गेटमा भारतीय पर्यटकहरुलाई स्वागत तथा अन्तरक्रिया, बाराको सिमरा र कलैयामा जिल्लाका पर्यटकीय स्थलतको विकास तथा समृद्धि बारे अन्तरक्रिया, रौतहटको गौर र नूनथरमा अन्तरक्रिया गरिएको छ।

यस्तै सर्लाहीको मलंगवा सोनवर्षा बोर्डर हुँदै आउने पर्यटकलाई स्वागत तथा अन्तरक्रिया, महोत्तरीको बर्दिबासमा अन्तरक्रिया र जलेश्वरमा भिठामोड बोर्डरबाट आउने भारतीय पर्यटकलाई स्वागत, धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिरमा २०२० दियो प्रज्वलन, सिरहाको लहानमा सरसफाई तथा र्याली प्रदर्शन, सप्तरीको राजविराज र छिन्नमस्तामा अन्तरक्रिया लगायतका कार्यक्रम गरिएको भ्रमण वर्ष २०२० का संयोजक झाले बताए।

प्रत्येक जिल्लामा ती कार्यक्रमहरु संचालनका लागि ५०÷५० हजार रुपैया खर्च गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले जानकारी दिएका छन्।

यस्ता छन् प्रदेश दुईका पर्यटकीय स्थलहरु

प्रदेश नं. २ मा भ्रमण वर्ष सफल बनाउनको लागि आठ वटै जिल्लामा गन्तव्य स्थलहरु तोकिएका छन्।

धनुषा जिल्लामा जनकपुरधाम स्थित रहेको जानकी मन्दिर, मिथिला आर्ट हाउस, विवाह मण्डप, नेपाल रेल्वे, गंगा सागर पोखरीलाई गन्तव्य स्थलको रुपमा तोकिएको छ।

यस्तै महोत्तरी जिल्लाको जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर, बर्दिवासको पंचधुरा माईस्थान, रौजा मजार, टुटेश्वर स्थित टुटेश्वरनाथ मन्दिरलाई गन्तव्य स्थलको रुपमा प्रदेश सरकारले तोकको छ।

त्यस्तै बारा जिल्लामा अमलेख गञ्ज स्थित चुरियामाई स्थान, सिम्रौनगढ, ंकालिनी मन्दिर, रानीवास, गढीमाईको महागढी माई मन्दिर, पर्सा नेशनल पार्कलाई पर्यटकहरुका लागि गन्तव्य स्थलको रुपमा तोकिएको हो।

पर्सा जिल्लामा रामभौरी भट्ठा स्थित दुग्धेश्वर महादेव मन्दिर, घडिअर्वा पोखरी, शंकराचार्य गेट, महुवनको पारसनाथ महादेव मन्दिर र पर्सा स्थित सुर्यगंगा आरतीलाई गन्तव्य स्थलको रुपमा राखिएको छ।

त्यस्तै रौतहटमा गौर स्थित बाराहवा ताल, नजरपुरको निन्जाधाम, शिवनगरको पशुपतिनाथ मन्दिर, बागमती स्थित नूनथर, चन्द्रनिगाहरपुरको शहीद पार्कलाई गन्तव्य स्थलको रुपमा तोकिएको छ। सर्लाहीमा सलेमपुर स्थित चमेलीमाई मन्दिर, बागमतीको हरिहर्क क्षेत्र, चन्द्रनगरको नाढिमन ताल, लालबन्दी स्थित राधाकृष्ण मन्दिर, सागरनाथको सागरनाथ वन सहितका वन क्षेत्रलाई गन्तव्य स्थल बनाइएको हो।

सप्तरीमा सखडा स्थित छिन्नमस्ता भगवती मन्दिर, भारदहको कंकालिनी मन्दिर र कोशी टप्पु, तिरहुत गाउँपालिका स्थित लहजरा ताल, राजविराजको राजदेवी मन्दिरलाई गन्तव्य स्थलको रुपमा घोषित गरिएको हो । सिरहाको बन्दीपुरस्थित बाबा ताल, महसोथाको राजा सलहेश स्थान, लहानको पकडिया गढ, ढोढनाको राजदेवी पंचवती मन्दिर र लहान स्थित सलहेश फुलबारी स्थानलाई गन्तव्य स्थल बनाइएको हो।

फितलो तयारी

प्रदेश नं. २ सहित देशभरि आजबाट भ्रमण वर्ष २०२० को शुभारम्भ भईसकेको छ तर तयारी भने अहिले पनि शुन्य रहेको छ । भ्रमण वर्षलाई सफल बनाउन विभिन्न पक्षसंग समन्वय गर्नुपर्ने अवस्था रहेतापनि समन्वय हुन नसक्दा भ्रमण वर्षको तयारी फितलो देखिएको छ।

प्रदेश दुईको मुख्य केन्द्रबिन्दु जनकपुरधाममा समेत भ्रमण वर्षलाई लिएर जुन प्रकारको उत्साह हुनुपर्ने थियो त्यस्तो नदेखिएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ का गुड्डू साहले बताए।

उनले भने, ‘जुन उद्देश्यका साथ भ्रमण वर्ष मनाउन गइरहेका छौ त्यसको लागि प्रचार प्रसारको आवश्यकता थियो त त्यस्को अभाव देखिएको छ ।’ भ्रमण वर्षको तयारी सदरमुकाम केन्द्रीत मात्र भएको उनको आरोप छ।

पर्यटकलाई भित्राउने लक्ष्य लिएकोमा यहाँ आउने पर्यटकको लागि विशेष प्याकेजको अवस्था रहेकोले त्यस्तो कुनै प्रकारको प्याकेजको बारेमा आफुलाई थाहा नरहेको जनकपुरधामकै अर्को स्थानिय अश्विन सिंहले बताए।

उनले भने, ‘यहाँ रहेको ऐतिहासीक क्षेत्रहलाई प्रचार प्रसारको आवश्यकता थियो तर त्यो देखिएन् । जनकपुरधामको वरिपरिमा पनि धेरै ऐतिहासीक क्षेत्रहरु छ तर त्यसको बारेमा धेरैलाई जानकारी नै छैन् । यस्तो अवस्थामा यहाँ आउने पर्यटक जानकी मन्दिर हेरेर फर्कने छ।’

नेपाल सरकारले नेपालमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । धार्मिक पर्यटनको हिसाबले प्रदेश दुईमा सम्भावना धेरै रहेकोले यो प्रदेश नै त्यती पर्यटक भित्राउन सक्ने नेपाली कांग्रेसका स्थानीय नेता जगदीश महासेठले बताए । यद्यपि प्रदेश सरकारकै तयारी फितलो रहेका कारण पर्यटकलाई टिकाउनु ठूलो चुनौती रहेको उनले बताए।

प्रदेश सरकारले प्रदेशका आठ वटै जिल्लामा गन्तव्य स्थलहरु तोकेपनि ती स्थलहरुमा पर्यटकहरुलाई आकर्षित गर्ने खालको कुनै तयारी नगरिएको स्थानीयवासीहरुको आरोप छ।

प्रदेश दुईको नेकपाका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले भ्रमण वर्षलाई सफल पार्ने हामी सबैको जिम्मेवारी रहेपनि प्रदेश सरकारले भ्रमण वर्षलाई लिएर हामीहरु संग शोधखबरसम्म नलिएको आरोप लगाए।

उनले भने‘यो कार्यक्रमलाई प्रदेश दुईमा कसले संयोजन गरिरहेको छ मलाई जानकारी छैन ।’ प्रदेशमा भ्रमण वर्ष सफल पार्नका लागि सबै पक्षलाई समेटेर अगाडी बढ्न उनले प्रदेश सरकारसंग आग्रह गरे।

यद्यपि प्रदेश दुईको भ्रमण वर्ष २०२०का संयोजक प्रदेश दुईमा भ्रमण वर्ष सफल रह्ने दावी गरे । यसका साथै उद्योग वन वातावरण तथा पर्यटन मन्त्री रामनरेश रायले प्रदेश सरकार भ्रमण वर्षलाई सफल पार्नका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले भने‘ प्रदेश दुईको मुख्य आर्थिक श्रोत मध्ये पर्यटन एक हो यसलाई अगाडी बढाउनका लागि प्रदेश सरकार प्रतिवद्ध छ।’

आज भ्रमण वर्षको शुभारम्भको अवसरमा जनकपुरधाम विमानस्थलमा आउने पर्यटकहरुलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने कार्यक्रम तय गरिएतापनि उनि जनकपुरधाममै रहेको प्रादेशिक अस्पताल जनकपुरमा अनुगमनको लागि गएका थिए तर स्वागतमा गएनन् । यसले पनि भ्रमण वर्षको लागि सबै पक्ष बिच हुनु पर्ने सम्वन्वयको अभाव देखिएको छ।- टुडेपाटीबाट

WRITE COMMENTS FOR THIS ARTICLE