दीपिका पादुकोण ‘ब्याडमिन्ट क्विन’ टु ‘बलिउडकै स्टार’ कसरी बनिन् ?

बलिउड स्टार दीपिका पादुकोण आज, जनवरी ५ बाट ३४ वर्ष पुगेकी छिन्।

सन् १९८६ जनवरी ५ मा डेनमार्कमा जन्मिएकी दीपिकाको परिचय अभिनेत्रीका रूपमा मात्र चर्चामा छैन, उनी एक कुशल भारतीय राष्ट्रिय ब्याडमिन्टन खेलाडी पनि हुन्।

सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी दीपिकाले त्यसयता २५ बढी फिल्ममा काम गरिसकेकी छिन्।

ब्याडमिन्टन खेलाडीका रूपमा उदाइरहेकी दीपिकाको बलिउड डेब्युको प्रसङ्ग केही रोचक छ।

फिल्म ‘ओम शान्ति ओम’का लागि निर्देशक फराह खान अभिनेत्री खोजिरहेकी थिइन्। फराहले साथी मलाइका आरोडासँग सहयोग माग्दै शाहरुख खानसँग काम गर्न सक्ने कुनै नयाँ मोडल छन् भने सुझाउन अनुरोध गरेकी थिइन्।

साथीको सहयोगका लागि जब आरोडाले आफ्नी साथी विन्डेल रोड्रिक्सलाई यो कुरा बताइन्। रोड्रिक्स एक ड्रेस डिजाइनरका रूपमा काम गर्थिन्।

उनै रोड्रिक्सले फिल्मका लागि दीपिकाको सिफारिस गरेकी थिइन्। रोड्रिक्सले दीपिकालाई एक ‘फेसन शो’मा वाक गरेको याद गरेकी थिइन्। त्यो बेला दीपिका मोडलिङमा प्रवेश गरेको करिब दुई वर्ष भएको थियो।

दीपिका एक कुशल ब्याडमिन्टन प्लेयर भएर पनि अभिनयमा कसरी लागिन्, यो विषयमा पनि आम मानिसलाई कौतुहलता हुन सक्छ।

दीपिका जतिबेला आफ्नो बुबा प्रकाश पादुकोणको लयमा ब्याडमिन्टन खेलाडी थिइन्, उनले अभिनेत्री बन्ने सपना देखेकी थिइनन्। अनि उनले मोडलिङमा हात हालिन् र अभिनयको माहोल बन्दै गयो।

उनले दुई वर्षको मोडलिङ अवधिमा धेरै विज्ञापनमा काम गर्ने अवसर प्राप्त गरिसकेकी थिइन्।

जब फिल्मको अफर आयो, उनले आफ्नो बुबाको लय त्यागेर अभिनय क्षेत्र रोजिन्। अभिनयमा आउने उनको चाहना थिएन, यद्यपि कर्म गर्दै जाँदा पाएको अवसर उनले गुमाउन चाहिनन्।

दीपिकाले त्यो समयमा गरेको निर्णय आज आएर सुखद साबित भएको छ। हाल उनी बलिउड उद्योगकै एक उत्कृष्ट र सफल अनि चर्चित अभिनेत्रीका रूपमा स्थापित छिन्।

पछिल्लो समयको कुरा गर्ने हो भने दीपिका फिल्म ‘छपाक’को प्रमोसनमा व्यस्त छिन्। एसिड आक्रमण पीडितको वास्तविक कथामा आधारित फिल्ममा दीपिका प्रमुख भूमिकामा देखिएकी छिन्।

यसै क्रममा उनले आफ्नो ३४औं जन्मदिन पनि लखनउमा एसिड आक्रमण पीडितहरूसँग मनाउँदै छिन्।

WRITE COMMENTS FOR THIS ARTICLE