काठमाडौंःनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार गोप्य भेटवार्ता भएको छ। प्रदेश नम्बर दुईमा पूर्व माओवादीबाट दलित कोटामा उम्मेदवार रहेका राधेश्याम पासवानलाई समर्थन गरे आफूले पनि कांग्रेसका दुई र समाजवादीका एक उम्मेदवारलाई सघाउने प्रस्ताव गरेको बूढानिलकण्ठ स्रोतले जनाएको छ।

प्रधानमंत्री ओलीसंग सभामुख चयनको विषयमा सम्बन्ध चिसिंदै जांदा नेकपा अध्यक्ष प्रचण्ड आज बिहान सुटुक्क देउवा निवास बूढानिलकण्ठ पुगेका थिए। अध्यक्ष प्रचण्ड र देउवाको सचिवालयले समसामयिक विषयमा कुराकानी भएको जनाए पनि दुई शीर्ष नेता बीच राष्ट्रीय सभाको निर्वाचनमा प्रदेश नम्बर दुईमा राजपा उम्मेदवारलाई हराउन आन्तरिक सहमति भएको स्रोतको दाबी छ।

स्रोतका अनुसार‌ नेकपा अध्यक्षले प्रदेश नम्बर दुईमा आफूलाई धोखामा राखेर प्रधानमंत्री के पी शर्मा ओलीले राजपालाई बालुवाटार भित्राएर दुई बूंदे सहमति गरेको र राजपालाई दुई सीट दिएको आरोप लगाउंदै आएका छन्। राष्ट्रीय सभा निर्वाचनमा राजपालाई शून्यमा झार्न उपेन्द्र यादव, प्रचण्ड र बिमलेन्द्र निधिले कम्मर कसेका छन्।

ओलीले सरकारमा उपप्रधानमंत्री हुंदा हुंदै पनि उपेन्द्र यादवसंग चुनावी तालमेल नगरेर राजपासंग गरेका थिए। यस गठबन्धन बारे पूर्व माओवादी नेतालाई कुनै जानकारी नभए पछि प्रचण्ड ओलीसंग झस्किएका थिए।

तर प्रचण्ड निकट श्रोतले, अध्यक्ष प्रचण्ड र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0