काठमाडौं, २५ पुस । देश ३ को नाम बागमती र राजधानी हेटौंडा नै हुने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलेको निवासमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

आजको बैठकबाट प्रदेशको नाम बागमती र राजधानी हेटौंडा हुने सर्वसम्मत निर्णय भएको नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।
यसअघि प्रदेशको नाममा कुनै विमती नभए पनि राजधानी हेटौंडा बनाउने विषयमा भने नेकपाका केही प्रदेश सभा सदस्यहरुले असहमति जनाउँदै आएका थिए। उनीहरुले हेटौंडा राजधानी राख्‍ने प्रस्ताव आएमा आफूहरुले फ्लोरक्रस गरेर त्यसको विरुद्धमा मतदान गर्ने चेतावनी दिएका थिए।

गत पुस १३ मा बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्न नेकपा प्रदेश ३ संसदीय दललाई निर्देशन दिएको थियो।

तर प्रदेश ३ का शीर्ष नेतृत्व पनि यसमा विभाजित भएपछि यो विषयले विवादको रुप लिएको थियो । सो प्रदेशका शीर्ष नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड महासचिव विष्णु पौडेल लगायतका नेताले सचिवालयको निर्णय कार्यान्वयन गर्न फेरि निर्देशन दिएपछि प्रदेशको नाम र राजधानीमा चलेको सबै विवाद अन्त्य हुने बाटो खुलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0