उपसभामुखले भनिन ‘म राजिनामा दिन्न, भोलिको बैठक चलाउँछु, नेकपाद्धारा राजिनामा माग’

काठमाडौं, पुष २६: उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिने निर्णयका बारेमा आफुलाई थाहा नभएको बताउनु भएको छ । उहाले भोलीको संसदको बैठक आफैले संचालन गर्ने र राजिनामा नदिने घोषण समेत गर्नुभएको छ । नेताहरुसँग आफ्नो कुराकानी बाँकी नै रहेकाले तत्काल राजिनामा नदिने बताउनु भयो ।

नेकपाले उपसभामुखबाट तपाईंलाई राजीनामा गराउने भन्ने निर्णय गरेछ, तपाईंलाई जानकारी भयो ?

थाहा छैन मलाई। यस्तो निर्णय गर्नुभएछ ! ठीक छ, राम्रो हो।

अब नेकपाले सभामुख पाउने बाटो खुल्यो ?

बाटो त उहिल्यैदेखि खुलेकै छ नि ! बन्द कहाँ छ त ? नेकपाले निकास निकालेन । अनि बाहिर अनेकथरी चर्चा मात्रै भए।

पार्टीको निर्णय आइसक्यो, अब तपाईंको राजीनामा आउँछ त ?

भोलि म संसद बैठक चलाइदिन्छु।

भोलि बैठक चलाएर राजीनामा दिनुहुन्छ ?

त्यसपछाडि नेताहरूसँग कुरा गर्न बाँकी नै छ।

तपाईंको व्यक्तिगत कुरा गर्न बाँकी रह्यो ?

मेरो कुरा त छँदैछ नि !

नेकपा सचिवालयले निर्णय गर्नुपहिले तपाईंसँग छलफल भएको थियो ?

छैन छैन।

पार्टीले निर्णय गरेपछि भोलिको बैठक अगाडि नै राजीनामा दिने सम्भावना रहेन ?

दिन्न। भोलि बैठक चलाइदिन्छु। राजीनामा दिन्न।

त्यसोभए सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउनुहुन्छ ?

बढाउँछु।

 

उपसभामुखको राजिनामा माग्ने नेकपा सचिवालयको निर्णय

यता, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपसभामुखको राजिनामा माग्ने निर्णय गरेको छ । सभामुख चयनका विषयमा नेकपाभित्र विवाद श्रृजना भईरहेका बेला आज अपरान्ह बसेको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भन्नुभयो, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने ।’ सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन । सभामुख उम्मेदवार को बनाउने भन्ने प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘त्यो आउँछ नि ! पहिला उपसभामुखको राजीनामा आउनुपर्‍यो ।’

(कान्तिपुर)

WRITE COMMENTS FOR THIS ARTICLE