दिलिप महतोको हत्याः परिवारको एकल साहाराको लठ्ठी भाँचिएपछि….

काठमाडौंः नदीजन्य पदार्थ अवैध उत्खननको विरोध गर्ने आँटिला/जोशिला दिलीप (ओमप्रकाश) महतोको हत्याले यतिबेला घरपरिवारसँगै श्रीपुर गाउँ नै शोकमा डुबेको छ। सामाजिक कार्यमा सरिक र गलत गतिविधिविरुद्ध सधैं अग्रपंक्तिमा रहने होनहार युवा थिए, दिलीप। सँगसँगै उनी आफ्नो परिवारको बिँडो थाम्ने छोरा पनि थिए। यसैकारण उनको हत्याले परिवारमा परेको पीडाको सीमा छैन।

भारतको भोपालमा विटेक इन्जिनियरिङ अन्तिम सेमेस्टरको अन्तिम परीक्षा दिएर बिदामा घर आएका २४ वर्षीय छोरा दिलीपको हत्याले धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरकी चन्द्रकला घरीघरी मुर्छा पर्छिन्। इन्जिनियरिङ पढाइ सक्नेबित्तिकै जापान पठाउँला, त्यहाँबाट पैसा कमाएपछि बाँकी ४ छोरीको विवाह गरौंला, २० लाख बाँकी ऋण तिरांैलाजस्ता सपना साँचेका दम रोगले ग्रस्त बुबा रामजीवनको आँखाबाट आँशुको भेल बगिरहेको छ।

नाति इन्जिनियर बनेपछि धेरै पैसा कमाउला र धूमधामसँग हुने उसको विवाह हेरौंला भन्ने धोको बोकेका लठ्ठी टेक्दै हिँड्ने ७५ वर्षीय हजुरबुबा श्रीराम महतो अहिले टोलाइरहन्छन्। अनि ७० वर्षीया हजुरआमा उर्मिलादेवी बेलाबेला भकानिन्छिन्।


दाइले बुबाको जिम्मेवारी बोके, अब आमाबुबाको सुखका दिन आए, दाइ इन्जिनियर बनेपछि पैसा कमाएर आफूहरूको धुमधामसँग बिहा गरिदिनुहुन्छ भन्ने ठूलो सपना थियो– दिलीपका बहिनीहरू संगम, लक्ष्मी, सिर्जना र रिंकुको। तर दाइको हत्यासँगै उनीहरूको सपना सपनामै सीमित हुन पुगेको छ। अहिले उनीहरू दाइ सम्झीसम्झी डाँको छाडेर रुन्छन्, चिच्याउँछिन्। घरका अन्य सदस्य रोएको देखेपछि दिलीपका कान्छो भाइ ७ वर्षीय ख्वाइस पनि सबैका मुख हेरीहेरी रुन्छन्। अहिले दिलीपको घरको अवस्था देख्दा कसैको आँशु थामिदैन।

दिलीपका ८ भाइबहिनी छन्। ६ बहिनी र २ भाइ। जेठी छोरी कवितापछिका सबैभन्दा जेठा छोरा थिए– दिलीप। जेठी कविता र माहिली सविताको विवाह भइसकेको छ भने अरूको बाँकी छ।

दिलीपका बुबा रामजीवनले १६ वर्षदेखि ट्याक्टर राखेका छन्। उनी आफैं ट्याक्टर चलाउँछन् र आफ्नो मात्र होइन, सामान्य भाडामा गाउँघरका अरूका खेतबारीसमेत जोत्छन्। सामान्य आर्थिक अवस्था भए पनि रामजीवनले ८ वटै छोराछोरीको शिक्षादीक्षामा कुनै कसर बाँकी राखेका छैनन्। ऋणपान गरेर भए पनि उनले आफ्ना सन्तानलाई उच्च शिक्षा दिने आँट गरेका छन्।

जेठी कविता र माहिली छोरी सवितलाई पनि उनले स्नातक तहसम्म पढाएर बिहे गरिदिएका हुन्। छोरा दिलीपलाई प्लस टु पढाइसकेपछि इन्जिनियरिङ पढ्न भारतको भुपाल पठाएका थिए। चार बर्से उक्त अध्ययनको अन्तिम समेस्टरको अन्तिम परीक्षा सकेर दिलीप घर फर्केका थिए। साहिली छोरी संगम बीबीएस चौथो वर्ष, काइँली छोरी लक्ष्मी स्तनातक दास्रो वर्षमा अध्ययनरत छन्। त्यस मुनिका छोरीहरू सिर्जना कक्षा १० मा प्राविधिक शिक्षा र रिंकु कक्षा ९ मा पढ्दै छन्। कान्छो छोरा कक्षा १ मा पढ्दै छन्।

बुबाको आँटमा आफूलाई ज्ञान भएदेखि दिलीपले पनि आफूसहित भाइबहिनीको पढाइमा जोड दिएका थिए।

‘दाइले हामी सबै दिदीबहिनीलाई सम्झाउने गर्नुहुन्थ्यो, छोरी होस् वा छोरा सबैले पढ्नुपर्छ, आफ्नै खुट्टामा उभिन सक्ने बन्नुपर्छ, परनिर्भर हुनु हुँदैन भन्नुहुन्थ्यो,’ बहिनी लक्ष्मीले आँसु पुछ्दै सुनाइन्, ‘पढाइमा लाग्ने खर्च र ऋणको फिकर तिमीहरू नगर। म पढेर इन्जिनियर बनेपछि कमाएर सबै चुक्ता गर्छु। राम्रो घरबार खोजेर तिमीहरूको विवाह गरिदिन्छु। तर तिमीहरू मन लगाएर पढ। आत्मनिर्भर बन्ने प्रयास गर भनेर सम्झाउनुहुन्थ्यो।’

दिलीपकै प्रोत्साहनले अहिले पनि बीबीएस चौथो वर्षमा अध्ययनरत बहिनी संगम र स्नातक दोस्रो वर्षमा अध्ययनरत बहिनी लक्ष्मी ट्युसन पढाएर आफ्नो पढाइ खर्च जुटाउँछिन् र केही रकम घरका लागि पनि सहयोग गर्छिन्। ‘दाइले दिएकै आत्मबलका कारण अहिलेदेखि नै हामी दिदीबहिनी आत्मनिर्भर बन्ने प्रयास गरिरहका छौ,’ लक्ष्मी सुनाउँछिन्।

बुबा रामजीवन ६ वर्षदेखि दमले ग्रस्त छन्। चिकित्सकले उनलाई धेरै कामधन्धा नगर्न सल्लाह दिएपछि ३ वर्षदेखि दिलीपले आफ्नो पढाइ सँगसँगै घरको लेनदेन र जोरजामको जिम्मेवारी पनि सम्हालिरहेका थिए। घरको समस्या कसरी टार्ने, कहाँबाट ऋण ल्याउने, कसलाई के दिने सबै उनैले जिम्मा लिएका थिए।

‘दिलीप भारतको भुपालमा इन्जिनियरिङ पढ्न जाँदा मोबाइलबाटै घरका समस्या समाधानका उपाय सुझाउँथे, कसैसँग ऋण लिने–दिने कुरा छ भने पनि फोनबाटै निर्णय दिन्थे,’ बुबा रामजीवन सुनाउँछन्, ‘उसैको निर्देशनमा तीन वर्षदेखि घर चलिरहेको थियो।’

उनका अनुसार क्याम्पसमा बिदा भएपछि दिलीप २/३ महिनाको फरकमा घर आउँथे। आउँदा पहिले घरका समस्या समाधान गर्थे। खेतबारीका काम भने उनी खासै जादैनथे। खासगरी सामाजिक कार्यमा बढी सक्रिय हुन्थे। गाउँछेउको खोलामा अवैध रूपमा भइरहेको गिटी, बालुवा उत्खननको डटेर विरोध गर्थे। गाउँ, खेतबारी र वातावरणलाई खोला दोहनले निकै असर पार्छ, बाढीको जोखिम बढाउँछ भन्थे, उनी। त्यसैले उनी खोला उत्खननविरुद्धको अभियन्ताजस्तै बनेका थिए।

‘दिलीपको अभियानका कारण क्रसर मालिकले मलाई पटकपटक धम्की दिन्थे। छोरालाई सम्झाउनुस्, नत्र कुनै दिन तेरो छोरालाई टिपरले किचेर मारदिन्छु,’ रामजीवन भन्छन्, ‘तर यो कुरा सुनाउँदा पनि दिलीपले मानेन। अन्तमा उसको ज्यानै गयो।’

रामजीवनले छोरा दिलीपकै आँटमा आफ्ना चार छोरीलाई लेखपढ गराइ राम्रो घरबार खोजेर विवाह गरिदिने सोचेका थिए। तर दिलीपको हत्यासँग उनका सबै चाहना चकनाचुर भएको छ। ‘छोराको पढाइ सकिनै लागेको थियो। जपानमा आफ्नै एक शुभचिन्तक राम्रो पैसा कमाउँदै छन्। दिलीपलाई पनि त्यहीं पठाउने योजनमा थिएँ, जापान गएर छोराले कमाइ गरेपछि छोरीहरूको विवाह गर्ने र घर बनाएर दिलीपको पनि विवाह गर्ने मेरो सोच थियो,’ भक्कान्दिौ रामजीवन निराश हुन्छन्, ‘तर सबै चकनाचुर भयो।’

छोरा दिलीपलाई भारतमा इन्जिनियरिङ पढाउन रामजीवनले ४ वर्षदेखिको खेतीपातीको आम्दानी, गाईभैंसी बेचेर आएको रकम र ऋणसमेत गरेर झन्डै १० लाख भारु अर्थात् १६ लाख नेपाली रुपैयाँ खर्चेका थिए। विडम्बना! पढाइ पूरा गरेर इन्जिनियर बन्नै लागेका बेला छोरा दिलीप सधैंका लागि बिदा भए। दिलीपको पढाइ र घर खर्चका क्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको २० लाखभन्दा बढी रुपैयाँ ऋण दिलीपको परिवारलाई छ। तर सबै ऋणबारे रामजीवन अनभिज्ञ छन्।

‘मलाई तनाव नहोस् भनेर ३ वर्षदेखि आफ्नो र बहिनीहरूको पढाइलगायत घर खर्चका लागि ऋण लिने–दिने पनि दिलीपले नै गरिरहेका थिए। म जम्मा ऋण कति छ भनेर एकिनसाथ भन्न सक्दिनँ, तर मलाई लाग्छ– २० लाखभन्दा बढी नै होला,’ चिन्ता व्यक्त गर्दै रामजीवन भन्छन्, ‘छोरालाई दुश्मनले खोसे। म बिरामी छु । चार छोरीको विवाह गर्नुछ। मेरो घरको सहारा नै खोसियो। मेरो संसार नै उजाडिएको छ।’

हजुरबुबा श्रीराम र हजुरआमा उर्मिला आफ्नो नातिको इन्जिनियर बनेको र विवाह गरेको सपना सखाप भएको छ। दिलीपलाई दागबत्तीसमेत दिएका ७५ वर्षीय हजुरबुबा श्रीरामले भक्कानिँदै भने, ‘जीवनको अन्तिम इच्छा नाति दिलीपलाई इन्जिनियरका रूपमा हेर्न र उनको विवाह हेर्ने सपना तुहियो। नातिले इन्जिनियर बन्छु भन्थे। बाजेका लागि यो गर्छु, त्यो गर्छु भन्थे। अब कसले गरिदिन्छ?’
दिलीपको हत्याले बुबाजस्तै दिदीबहिनी साह्रै चिन्तित छन्।

‘बुबा बिरामी हुनुहुन्छ। यति धेरै ऋण तिर्नुछ। बाँकी चार बहिनीको विवाह कसरी हुन्छ, बुबाले कसरी खर्च जुटाउनु हुन्छ,’ दिदी सविताले रुँदै भनिन्, ‘हाम्रो परिवारमाथि बज्रपात भएको छ। दोषीहरूमाथि काडा कार्बाही होस्। दिलीपलाई सरकारले सहिद घोषणा गरोस्। उनले समाजकै हितमा लड्दै बलिदान दिएको हो।’

दिलीप दुई वर्ष अघिदेखि घरपूर्वको औरही र पश्चिमको बसही खोलामा हुने गरेको अवैध उत्खनन रोक्ने प्रयासमा सक्रिय थिए। खोलामा अवैध दोहन रोक्न स्थानइक्ष् युवालाई जागरुक बनाउँथे। यस्तो कार्य रोक्नुपर्छ, नत्र हाम्रो खेत र गाउँ जोखिममा पर्छ भनेर जनचेतना फैलाउँथे। युवा र गाउँलेलाई एकजुट बनाउँदै खोलातिर लम्किन्थे। बिदामा घर आएका बेला उनले यसै कामलाई प्राथमिकतामा राख्थे।

डेढ वर्ष अघि बसही खोलाको अतिक्रमण रोक्न क्रसर मालिक र प्रहरी प्रशासनको भण्डाफोर गर्न दिलीप नेतृत्वकै समूहले जनकपुरबाट पत्रकार टोली बोलाएको थियो। त्यसपछि केही दिन अतिक्रमण रोकिएको थियो। तर पछि फेरि सुरु भयो। उनी घर आएका बेला त्यो कार्य बन्द गराउन सक्रिय हुन्थे।

‘समूहमा गएर उत्खनन रोकाउँथे, कहिलेकाहीं क्रसर मालिक, टिपरवाला र प्रहरीसँग विवाद पनि हुन्थ्यो, ’ दाइ अनिरुद्धले भने, ‘त्यस क्रममा दिलीपलाई विभन्न प्रकारका प्रलोभन र धम्की पनि आए। तर ऊ केही पर्वाह नगरी विरोधमा लागिरहे। अन्तमा तस्करले दिलीपको हत्या नै गरे। हत्याराहरूलाई कडा कारबाही होस्। दिलीपलाई सहिद घोषणा गरियोस्।’

गत शुक्रबार बिहान ४ बजे औरही खोलामा अवैध उत्खनन हुँदैछ भन्ने थाहा पाएपछि साथी रोशन यादवसँगै रोक्न जाँदा दिलीपको हत्या भएको हो। पहिला रडले कोखामा प्रहार गरी टिपरले किचेर उनलाई मारियो। हत्या आरोपमा चुरियामाई प्रशोधन उद्योगका क्रसर सञ्चालक विपिन महतोसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।- नेपाल खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE