प्रदेश २ः सांसद प्रदिप यादवको प्रश्न सहिद परिवारलाई ५० लाख कहिले दिने? मुख्यमन्त्री र मन्त्रीले भने ५० लाख दिने पैसा छैन !

वीरगञ्जः पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पनि सहिदका परिवारलाई ५० लाखको घोषणा गरेर २५ हजार रुपैयाँ मात्रै दिएर टारिएको भन्दै प्रदेश सरकारको आलोचना गरे । समाजवादी पार्टी पर्साका नेता समेत रहेका उनले भने, ‘५० लाख दिन्छौँ भनेर घोषणा गरियो, तर अहिले त २५ लाख रुपैयाँ दिएर टारिएको छ ।’ कार्यक्रममा उपस्थित मुख्यमान्त्री, मन्त्रीहरुलाई लक्षित गर्दै यादवले भने, ‘मधेसमाम मधेसी दलकै सरकार छ, अहिले सत्तामा हुँदाका बेला नदिए कहिले दिने हो ? प्रदेश सरकारले सहिदका परिवारलाई ५० लाख तुरुन्त दिओस् । मेरो जोडदार माग छ ।’ प्रदेश सरकारले एक ठाँउमा पनि मधेसी सहिदको शालीक बनाउन नसकेको भन्दै यादवले मधेस आन्दोलनको उपेक्षा भएको टिप्पणी गरेका थिए ।

५० लाखको खोजी

कार्यक्रममा मधेस आन्दोलनका समयमा ज्यान गुमाउनेलाई दिने भनिएको ५० लाख र पार्टी एकताको प्रशंग नेताहरुले कोट्याए ।

सांसद प्रदीप यादवले प्रदेश सरकारले बलिदानी दिवस वीरगञ्जमा मनाउनु स्वागतयोग्य भए पनि समन्वय नगरी कार्यक्रम भन्दै असन्तुष्टि जनाए । उनले प्रदेश सरकारले सरकारी कार्यक्रम गरेको बताए ।

‘मधेस आन्दोलनको रणभूमि हो, अन्यत्र फेल हुँदा पनि वीरगञ्जले मात्रै इज्जत धानेको हो, नगरसभागृहमा ३ सय मानिसको बीचमा होइन, बलिदानी दिवस घण्टाघरमा २० औं हजार जनताको बीचमा हुनुपर्ने थियो’ उनले भने ‘समन्वय गरेको भए हजारौं मानिस लाठी भाटा लिएर मधेस आन्दोलनमा जस्तै गरी आउने थिए । समन्वय नहुँदा सरकारी कार्यक्रमजस्तै भएको छ ।’

मधेस आन्दोलनको १३ वर्ष पूरा हुँदा ११७ जना घाइते भए । सयौं घाइते र हजारौंले मुद्दा झेलिरहेको बताउँदै यादवले सम्पूर्ण घाइतेलाई परिचयपत्र दिएर जिविकोपार्जनका आधार-प्रदान गर्न आग्रह गरे ।

सहिद परिवारलाई आजीवन जीविकाको व्यवस्था मिलाउन माग गर्दै सांसद यादवले प्रश्न गरे, ‘सहिदलाई ५० लाख कहिले दिने ?’ हलबाट तालीको गडगडाहट आयो । सांसद यादव अझै अगाडि बढे, ‘सहिदलाई २५ हजार मिलेको छ, त्यो ठिकै छ । पहिला पनि दियो क्यारे । सहिद परिवारका सदस्यलाई जीविका चल्ने गरी मासिक रकम घोषणा गर्नुपर्छ, सरकारमा छौं आज नगरे कहिले गर्ने ?’

सांसद यादवले अझै थपे, ‘तत्कालीन समाजवादी फोरम र राजपा गठबन्धनका नेताले मधेस आन्दोलनमा सहिद हुनेलाई ५० लाख दिन्छु भने, अहिले २५ हजार मिलिरहेको छ । यसरी काम चल्छ ? ५० लाख कहिले दिने ? ५० लाख दिने घोषणा तत्काल गर्न मुख्यमन्त्रीसँग आग्रह गर्छु । त्यतिमात्र होइन, प्रदेश सरकारले हरेक सहिद परिवारलाई एउटा घर बनाएर दिनुपर्छ ।’

तिलावे पुलमा सहिदको दाहसंस्कार गरेको स्थानमा प्रदेश सरकारले पार्क र स्मारक बनाउने भनेर शिलान्यास गरे पनि नबनाएको यादवको थप गुनासो थियो ।

मुख्यमन्त्रीको जवाफ

जवाफमा मुख्यमन्त्री लालबाबु स्ट्याचु बनाएर मात्रै सहिदको सम्मान नहुने बताए । उनले प्रदेश नं २ सरकारले पहिलो बैठकबाट प्रदेश सरकारले सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेको र त्यसलाई पूरा गरेको दाबी गरे ।

‘प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको छैन, पहिलो वर्षमा लाहानमा बलिदानी दिवस मनायौं, सबै घाइतेलाई ३ लाख, २ लाख, १ लाख गरेर सहयोग गरेका छौं, बीच बीचमा पनि दिइरहेका छौं,’ उनले भने ‘योग्यता, दक्षता अनुसार सहिद परिवारलाई जागिर पनि दिएका छौं । सीप नभएकाहरु कार्यालय सहयोगी पनि भएका छन् । प्रदेश लोक सेवा आयोग गठनपछि उनीहरुलाई स्थायी गर्छौं ।’

मधेसी सहिद प्रतिष्ठान गठन गरेर कोष खडा गरी सहिद परिवारलाई स्थायी परिचयपत्र र घाईतेको जीविकोपार्जनको व्यवस्था मिलाउने मुख्यमन्त्री राउतले आश्वासन दिए ।
‘मधेसी सहिदको योगदानकै बलमा प्रदेश सरकारमा पुगेको कुरा हामीले भुलेको छैन, त्यसैले मधेसीका छोराछोरीलाई रोजगार दिलाउन प्रहरी ऐन, निजामति सेवा ऐन, प्रदेश लोक सेवा ऐन अपना स्वास्थ्य, शिक्षा, कृषि, सिंचाई नीति ल्याउन खोजिरहेको छ’ मुख्यमन्त्रीले अगाडि भने, ‘म धेरै भन्न चाहान्न, मधेसी सहिदलाई ५० लाख हैन, त्योभन्दा बढी सम्मान दिन्छौं । त्यो भन्दा बढी गरेर देखाउँछौं । उनीहरुलाई जागिर दिन्छौं, परिवारप्रति हरेक क्षण संवेदनशील बन्छौं । ज्यँूदा सहिदलाई समेत रोजगारी दिन्छौं, जिविकोपार्जनको व्यवस्था मिलाउँछौं । शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्छौं, परिवार जहाँ जान्छन्, यातायातका साधनमा सिट, सम्मान र पहिचान दिलाउँछौं । हरेक मधेसी सहिदको शालिक बनाउँछौं ।’

मधेस आन्दोलनकै देनमा उपमेयर, मेयर, प्रदेश सांसद, सांसद बनेको कुरालाई नभुल्न आग्रह गर्दै मुख्यमन्त्री राउतले मधेसी सहिद र योद्धाको सम्मान सबैले गर्नुपर्ने बताए ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकारले ५० लाख कसरी दिने ? भनी प्रश्न गरे । मधेसीको दुश्मन मधेसी नै भएको बताउँदै उनले भने ‘मधेसीको दुश्मन मधेसी नै हुन् । एउटा भाइ काम गर्छ, अर्को भाइ अख्तियार दगुर्छ । प्रदेश सरकारको आर्थिक स्थिति पनि त हेर्नुपर्छ । सहिदलाई ५० लाख कसरी दिने ?’

पार्टीका जिम्मेवार नेताहरुबीच नै जुहारी चलिरहेको सुनेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदलाई दिने भनिएको ५० लाखका बारेमा बोलेनन् । बरु प्रदेशको नाम ‘मधेस प्रदेश’ नराखेको भन्दै मुख्यमन्त्रीतर्फ हेरेर व्यंग्य गरे ।

११७ सहिद तर ५२ लाई मात्रै नगद र सम्मान

पहिलो, दोश्रो र तेश्रो गरी तीन पटकको मधेस आन्दोलनमा मारिएका ११७ जनालाई सहिद घोषणा गरिए पनि आइतबारको बलिदानी दिवसमा ५२ सहिदका परिवारलाई मात्र प्रदेश सरकारले जनही २५ हजार रुपैयाँ प्रदान गरेको छ ।

मुख्यमन्त्री कार्यालयका अधिकृत सुरेन्द्र कर्णले भने, ‘मन्त्रिपरिषदबाट ५२ जना सहिद परिवारको मात्रै सूची हामीलाई आएको हो, त्यसमध्ये आजको कार्यक्रममा ४२ जनाले मात्र नगद रकम बुझेका छन्, बाँकी १० जनालाई मुख्यमन्त्री कार्यालयबाटै रकम उपलब्ध गराइने छ ।’ मन्त्री सोनलले भने ५२ बाहेक अन्य अरु नै प्रदेशको भएकाले प्रदेश २ का मात्रै सहिद परिवारलाई सम्मान र रकम वितरण गरेको बताए ।

‘५० लाख दिन प्रदेश सरकार सक्षम छैन’

कार्यक्रममा प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले भने सहिदका परिवारलाई ५० लाख दिन प्रदेश सरकार आर्थिक रुपमा सक्षम नभएको बताए । ‘आन्दोलनका बेला सहिद परिवारलाई ५० लाख दिने त भनियो तर दिने कसरी ! प्रदेश सरकार आर्थिक रुपमा सक्षम नै छैन, त्यती बजेट पनि छैन,’ मन्त्री साहले भने ।

अनलाइन खबर/अन्नपूर्ण पोष्टबाट

WRITE COMMENTS FOR THIS ARTICLE