नेकपामा सांसद आस्था राउतको पक्षमा उभिएः तत्काल रिहा गर्न जोरदार माग

काठमाडौं । गायिका राउतलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय आइसकेको छ । अहिले आस्था अस्पतालमा उपचाररत छन् ।

नेकपाका सांसद र नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत आस्था राउतमाथि प्रहरीले अनावश्यक ज्यादती गरेको भन्दै प्रक्रिया पूरा गरेर रिहा गर्नुपर्ने बताएका छन् ।

ती सांसद र नेताहरुले सरकारलाई बदनाम गराउने काममा प्रहरी र प्रशासनले निरन्तर यस्ता गतिविधि गरेको भन्दै आपत्ति समेत जनाएका छन् ।

पूर्वमन्त्री तथा नेकपा प्रदेश ३ का सचिव आनन्द पोखरेलले राष्ट्रिय कलाकार आस्था राउतले कमी कमजोरी महसुस गरिकेपछि पनि हिरासतमा राख्नु उचित नभएको भन्दै प्रक्रिया पूरा गरेर आजै हिरासतमुक्त गर्न माग गरेका छन् ।

दोलखाबाटै पटक–पटक निर्वाचित भएका पोखरेलकै निर्वाचन क्षेत्रकी मतदाता हुन् आस्था राउत । पोखरेलले आस्था राउतको गल्ती थुनामा राखेर अनुसन्धान गर्नुपर्ने तहको नभएको भन्दै प्रहरी प्रशासनले विवेक पुर्‍याउनुपर्ने बताएका छन् ।

त्यस्तै, नेकपा सांसद तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पनि आस्था राउतमाथि प्रहरीले अन्याय गरेको भन्दै माफी मागिसकेपछि हिरातसमा राख्नुले पटक–पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको टिप्पणी गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले पनि आस्था राउतलाई माफी मगाएर सम्झाएर घर पठाउनुपर्ने भन्दै प्रहरीले आस्थामाथि उठाएको कदममा गलत भएको बताएका छन् ।

दीपशिखाले फेसबुकमा लेखेका छन्, ‘जसरी आस्था राउतको उत्ताउलोपनसँग सहमत हुन सकिएन, त्यसैगरी पुलिसको आस्थामाथिको अतिमा सहमत हुन सकिन्न । उनको उत्ताउलोपनको माफी मगाएर, सम्झाएर घर पठाऊ ।’ नागरिक खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE