प्रदेश २ः मन्त्री पद धरापमा पर्ने देखेपछि राजपाका मन्त्रीद्धारा राजपा र सपाबीच ‘एकताको राग’

जनकपुरः मन्त्री पद धरापमा परेपछि प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर शाहले राजपा र समाजवादी पार्टीबीच एकताको विषय पुनः उठाएका छन् । नेकपा र राजपाबीच दिर्घकालिन गठबन्धन बनाएर जाने आन्तरिक तयारी भई रहेको बखत मन्त्री साहले एकताको आवश्यकता रहेको बताएका हुन ।

समाजवादी पार्टी नेपालका सूचना तथा सञ्चार विभाग उपप्रमुख विश्वदीप पाण्डेसँग जनकपुरमा बुधबार भएको भेटमा दुई पार्टीबीच एकताको आवश्यकता रहेको उपप्रमुख पाण्डले उल्लेख गरेका छन् ।

उपप्रमुख पाण्डेले मन्त्री शाहसँग भएको छलफल सकारात्मक भएको जानकारी दिए । ‘प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहसँग सकारात्मक छलफल भयो । उहाँले समाजवादी र राजपाबीच पार्टी एकता आजको आवश्यकता रहेको बताउनुभयो,’ पाण्डेले भने ।

प्रदेश २ मा राजपा र समाजवादीको गठबन्धन सरकार छ । समाजवादीका लालबाबु राउत मुख्यमन्त्री छन् । पच्छिलो समय प्रदेश २ मा राजपाबाट मन्त्री भएका मध्ये सामाजिक विकास मन्त्री नवल किशोर शाह आलोचित बन्दै आएका छन् ।

यता, फाल्गुण ३  पछि प्रदेश २ को सरकार परिवर्तन हुने खबर चर्चामा रहेको छ । राष्ट्रिय सभामा राजपा र नेकपाबीच भएको सहमती अनुसार अब प्रदेश सरकारमा पनि राजपा र नेकपाबीच गठबन्धन गरेर जाने संकेतहरु देखा परेको छ ।

केही दिन अगाडि प्रदेश २ का समाजवादी पार्टीका एक मन्त्रीले राजपाका मन्त्रीहरुको गतिविधिले प्रदेश सरकार बढी आलोचित हुनु परेको भन्दै बर्खास्त हुन सक्ने बताएका थिए ।

प्रदेश २ सरकारबाट गत आर्थिक बर्षमा लगभग ८० करोड भन्दा बढी रकम उपभोक्ता समितिको भुक्तान हुन सकेको छैन । जसमध्ये सबैभन्दा बढी भुक्तान हुन बाँकी रहेको रकम भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन मन्त्रालय रहेको छ ।

प्रदेश २ मा राजपाबाट मन्त्री भएका मन्त्रालयबाट उपभोक्ता समुहको भुक्तानी हुन नसक्दा पार्टीका आफ्नै सांसद र कार्यकर्ताद्धारा आलोचित बन्दै आएका छन् ।

यसैबीच राजपाबाट प्रदेश २ मा राज्यमन्त्री रहनु भएकी डा. डिम्पल झाले असन्तुष्टि जनाउँदै हिजो पदबाट राजिनामा दिएकी छन् । उनको राजिनामा पछि प्रदेश २ सरकारका मन्त्रीहरु झनै अतालिएको बुझिएको छ ।

यस अघि पनि राजपाबाट राज्यमन्त्री रहनु भएका युवा नेता सुरेश मण्डलले आफ्नै पार्टीका मन्त्रीहरुको सामाजिक सन्जालमा आलोचना गर्दै आएका छन् ।

फोटोः नयाँ पत्रिका दैनिकबाट

WRITE COMMENTS FOR THIS ARTICLE