प्रदेश २ सरकार परिवर्तनः फागुन ३ गतेको पर्खाइ

जनकपुरः प्रदेश सरकारको सत्ता समिकरण फेरबदलका लागि फागुन ३ गतेको पर्खाइ रहेको नेकपा स्रोतले जनाएको छ । फागुन २ गते प्रदेश सरकार गठन भएको २ वर्ष पूरा हुँदैछ । संवैधानिक प्रावधानका कारण सरकारमाथि २ वर्षअघि अविश्वास प्रस्ताव दर्ता गर्न मिल्दैन । त्यसैले फागुन ३ गतेपछि नेकपाले प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने स्रोतले जनाएको छ ।

नेकपा प्रदेश कमिटीका सचिव तथा राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले सबै विकल्प खुला रहेको बताए । ‘राष्ट्रियसभा निर्वाचनको मत परिणामले पनि सपा सरकार नैतिक रुपमा अल्पमतमा परिसकेको छ,’ प्याकुरेलले भने, ‘आउँदो दिनमा नेकपा र राजपा बीचको गठबन्धनलाई दीगो बनाउन हामी जे पनि गर्न तयार हुन्छौं । प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा भएपनि प्रदेश सरकारमा यदि राजपालाई मुख्यमन्त्री नै दिनुपर्ने स्थिति आए हामी त्यो दिन पनि तयार छौं ।’

राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव, राजेन्द्र महतो र महन्थ ठाकुर लगायत नेता राजपा–सपा समिकरण यथावत् राख्ने पक्षमा देखिएपनि भित्रभित्रै प्रधानमन्त्री ओलीसँग वार्ता र संवाद जारी नै रहेको छ । रेशम चौधरीलाई रिहा गरिदिए राजपा नेपाल संघीय सरकारमा जाने सम्भावना रहेको स्रोतले जनाएको छ ।

– लोकान्तरबाट

WRITE COMMENTS FOR THIS ARTICLE