सन् २०२० को पहिलो महिना ६६ हजार पर्यटक मात्र नेपाल भित्रिए

काठमाडौं । भ्रमण वर्ष सुरु भएको पहिलो महिनामै नेपाल आउने पर्यटकको संख्या घटेको छ ।

अघिल्ला दुई वर्षको तुलनामा जनवरीमा पन्ध्र हजारको हाराहारीमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्यामा कमी आएको हो ।

नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा पहिलो महिनाको तथ्यांकले धक्का दिएको छ ।

अंग्रेजी वर्ष–२०२० को पहिलो महिना अर्थात् जनवरीमा ६६ हजार पर्यटक मात्र नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०१९ को जनवरीमा ८१ हजार २ सय ७३ पर्यटकले आफ्नो भ्रमणको गन्तव्य नेपाललाई बनाएका थिए ।

त्यो भन्दा अघिल्लो वर्ष–२०१८ को पहिलो महिनामा ७३ हजार १ सय ८७ पर्यटक आएका थिए । यही तथ्यांक कायम नै रहे सरकारले राखेको २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यमा धक्का लाग्ने शंकाहरु गर्न थालिएको छ ।

यो वर्षको सुरुमै देखिएको कोरोना भाइरसका कारण नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको सरोकारवाला निकायहरुले बताउन थालेका छन् ।

सन् २०२० मा करीब ४ लाखको हाराहारीमा चिनियाँ पर्यटक नेपाल घुम्न आउने प्रक्षेपण गरिएको थियो । तर, सन् २०२० को सुरुमै चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या घटेको छ ।

भ्रमण वर्षको लक्ष्य पूरा गर्न प्रत्येक महिना १ लाख ५० हजार भन्दा बढी पर्यटक भित्र्याउन आवश्यक छ । तर यस महिनामा मात्र ६६ हजार पर्यटक भित्रिनुले भ्रमण वर्ष सफल पार्नु थप चुनौतीपूर्ण बनेको छ ।

अन्नपूर्णको हिमपहिरोमा हराएका पर्यटकको खोजी गर्न नसक्नु, दामनको रिसोर्टमा भारतीय पर्यटकको मृत्यु जस्ता कारणले पनि नेपाल आउने पर्यटकलाई प्रभाव पारेको बताउन थालिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE