अख्तियार सरकारको लाचार छाया भएको आरोप

काठमाडौंः  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको लाचार छाया भएको आरोप लगाएको छ। प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले यस्तो आरोप लगाएकी हुन्।

हिजोमात्रै अख्तियारले कांग्रेसका उपसभापति तथा सांसद विजयकुमार गच्छदारसहितलाई मुद्दा हालेपछि कांग्रेस आक्रोशित छ। बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद–बिक्री प्रकरणमा गच्छदार मुछिएका हुन्। त्यतिबेला उनी भौतिक योजना तथा निर्माण मन्त्री थिए ।

नेपाल समयको अनुसार, संसद बैठकमा सचेतक भुषालले प्रमुख प्रतिपक्षी दलको नेतालाई राजनीतिक प्रतिशोधको आधारमा मुद्दा दायर गर्न मिल्छ ? भन्दै प्रश्न गरिन् । ‘आयोग सरकारको लाचार छाया भयो । तटस्थ भनिएको आयोगले सरकारको राजनीतिक पूर्वाग्रहमा प्रभावमा परेर मुद्दा दायर गरेको छ । यो लोकतान्त्रिक भएन । प्रतिपक्षीको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनिन् ।

उता, राष्ट्रिय सभामा पनि कांग्रेस सांसदहरूले अख्तियारकाे कदमकाे विराेध गरेका छन्। सांसद बद्री पाण्डेले भेदभावपूर्ण रूपमा मुद्दा चलाइएकाे भन्दै मुद्दा फिर्ता लिन माग गरे।

WRITE COMMENTS FOR THIS ARTICLE