प्रचण्डको प्रधानमन्त्री ओलीलाई सुझावः सन्चारमन्त्रीलाई राजिनामा गराउनुस

काठमाडौंः  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसका लागि डील गरेको अडियो सार्वजनिक भएपछि उनलाई तत्काल राजीनामा गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीवार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डले यो प्रकरणले पार्टीलाई समेत क्षति पुर्‍याउने भन्दै बाँस्कोटालाई तत्काल राजीनामा गराउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

‘मन्त्रीलाई राख्ने कि हटाउने भन्ने पहिलो अधिकार प्रधानमन्त्री स्वयंको भएकाले पार्टीले नै निर्णय गरेर फिर्ता बोलाउनुभन्दा उहाँले नै राजीनामा माग्दा उचित हुन्छ भन्ने हिसाबले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिनुभएको हो,’ स्रोतले लोकान्तरसँग भन्यो ।

भेटमा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई आजै बालुवाटार बोलाएर कुरा गर्ने र त्यसपछि आवश्यक कदम चाल्ने बताएका छन् । कुराकानीपश्चात प्रचण्ड बालुवाटारबाट बाहिरिइसकेका छन् ।

मन्त्री बाँस्कोटा सुदूरपश्चिमको कञ्चनपुरमा रहेकाले उनी त्यहाँबाट फर्किँदैछन् । उनी धनगढी हुँदै आज दिउँसो करीब २ बजे काठमाडौं ओर्लिने बाँस्कोटानिकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीले आजै मन्त्री बाँस्कोटासँग कुरा गर्ने पुष्टि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले गरे ।

‘उहाँ (गोकुल बाँस्कोटा) राजधानी फर्किएपछि सिधै यहाँ (बालुवाटार) आउनुहुन्छ, मन्त्रीज्यूसँग कुरा गरेपछि नै प्रधानमन्त्रीले थप कमद चाल्नुहुन्छ,’ थापाले भने ।

प्रचण्डले राजीनामा गराउन सुझाव दिएको कुरा पनि उनले घुमाउरो पारा स्वीकारे ।

प्रचण्डले राजीनामा गराउन सुझाव दिनुभएको हो भन्ने प्रश्नमा थापाले भने, ‘प्रधानमन्त्रीलाई सुझाव आउने कुरा त भइहाल्यो, तर उहाँले सम्बन्धित मन्त्रीसँग कुरा गरेपछि नै निर्णय लिनुहुनेछ ।’

लोकान्तरले छापेको समाचार अनुसार, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका नेपालस्थित एजेन्टसँग ७० करोड घूसका लागि डील गरेको अडियो गएराति सार्वजनिक भएको थियो ।

उक्त अडियो सार्वजनिक भएपछि बाँस्कोटालाई तत्काल राजीनामा गराउन नेकपा र प्रधानमन्त्री ओलीसामु दबाब छ ।

WRITE COMMENTS FOR THIS ARTICLE