कार्यदलको औचित्यमा सदस्यहरूकै प्रश्‍न

काठमाडौं, १३ फागुन । राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यको समान हैसियत हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्न गठन गरेको भनिएको कार्यदलको औचित्यमाथि प्रस्तावित सदस्यहरूले नै प्रश्न उठाएका छन् ।

कार्यदलका सदस्य भनिएका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले संशोधनको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न अस्वीकार गरेका हुन् ।

गत शनिबार साँझ बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर प्रधानमन्त्रीसमेत बनाउन मिल्ने गरी संविधान संशोधनका लागि अध्ययन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाउने प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा नेपालले मौन समर्थन जनाए भने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि असहमति प्रकट गरेनन् । अन्य सदस्यसमेत मौन बसेका थिए ।

बैठकले कार्यदल बनाउने निर्णय गोप्य राख्न चाहे पनि आइतबार दिउँसोसम्म यसबारे सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि महासचिव विष्णु पौडेलले त्यस्तो निर्णय नभएको प्रतिक्रिया दिए । ‘माइन्युट लेख्ने मान्छे मै हुँ,’ कान्तिपुरसँग उनले भने, ‘यस्तो खालको कुनै कार्यदल बनेकै छैन ।’

पौडेलले यस्तो दाबी गरे पनि सचिवालयका अन्य सदस्यले कार्यदल बनाउने निर्णय भएको बताइसकेका थिए । नेता नेपालले पनि संविधान संशोधनकै सन्दर्भलाई लिएर आइतबार बिहानैदेखि सरोकारवाला पक्षसँग छलफल थालेका थिए । ‘उहाँ छलफलको सुरुवात कार्यदल सदस्य प्रस्ताव गरिएका नेम्वाङबाट गर्न चाहनुहुन्थ्यो,’ नेपालनिकट स्रोतले भन्यो, ‘तर नेम्वाङ प्रधानमन्त्रीको जन्मदिन मनाउन तेह्रथुम गएकाले भेट हुन सकेन ।’

नेता नेपालले आइतबार साँझ सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग अहिलेको परिस्थिति र संविधान संशोधनको नाफाघाटाबारे छलफल गरेका थिए । उक्त भेटमा पोखरेलले संविधान संशोधनको विषय ठीक भए पनि व्यक्ति विशेषलाई केन्द्रमा राखेर ल्याइएको प्रस्ताव उपयुक्त नभएको धारणा राखेका थिए ।

त्यसपछि सोमबार बिहान नेपाल निवास कोटेश्वरमा भएको बैठकमा नेम्वाङ र देवकोटाले कार्यदलको औचित्यमाथि प्रश्न उठाउँदै अहिलेकै परिस्थितिमा आफूहरूले जिम्मेवारी लिन नसक्ने बताए ।

‘संविधान संशोधनजस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने हो, यो गोप्य राख्ने कुरै होइन, जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो,’ नेम्वाङले सोमबार दिउँसो सञ्चारकर्मीहरूसँग भने, ‘यस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन, त्यसमा मेरो सहमति छैन ।’

देवकोटाले पनि शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे छलफलका लागि कार्यदल बनाउन लागिएको होला भन्ने आफूले ठाने पनि विषय फरक परेको नेता नेपाललाई बताए । ‘राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नुपर्ने भएपछि मैले समर्थन जनाउन सकिनँ,’ उनले भनेका थिए । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE