आम जनताको जिज्ञाशाः कोरोनाबाट बँच्न केके गर्दैछ सरकार ?

काठमाण्डौ । कोरोनाका कारण नेपालमा दिनप्रतिदिन प्रभाव बढ्दै गएको छ । अहिलेसम्म मानिसमा यसको संक्रमण नभए पनि सामाजिक र आर्थिक पाटोमा कोरोनाको प्रभाव परेको छ । सरकारले विभिन्न पाटोलाई लक्षित गरी सतर्कता अपनाइरहेको छ ।

सरकारले ‘कोविड–१९’ अर्थात् कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि सरकारीस्तरबाट भइरहेका काम कारवाहीबारे जानकारी दिएको हो । मन्त्रालयले विभिन्न तीन वटा समिति निर्माण गरी संक्रमण भित्रिन नदिन आवश्यक तयारी भइरहेको उल्लेख गरेकाभेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समयमा चिकित्सकसहित ६÷७ जनाको टोलीले विदेशबाट आउने यात्रुहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्ने र शंकास्पदलाई स्वास्थ्योपचारका लागि पठाउनेसहितको व्यवस्था गरिएको छ । यस्तै रातिको समयमा पनि विमानस्थलमा कम्तीमा ४ जनाको टोली रहने बताइएको छ । छिमेकी मुलुक भारतबाट विभिन्न १३ वटा औषधी नेपाल पठाउन रोक लगाइएको बारे सरकारको ध्यानाकर्षण भएको जानकारी दिँदै ती औषधीको पर्याप्त ‘स्टक’ रहेकाले तत्काल कुनै प्रकारको फरक नपर्ने बताइएको छ ।

दीर्घकालिन रुपमा सरकारले उक्त समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गर्ने र औषधी आयातको अवस्थालाई सामान्य तुल्याइने सरकारको दावी छ । यसअघि सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पनि नेपालमा कोरोना संक्रमित नपाइएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताएका थिए । यद्यपि सरकारले संक्रमण भित्रिन नदिन प्रभावकारी ढङ्गले काम गरिरहेको जानकारी दिँदै उनले स्थलमार्गबाट आउने यात्रुमार्फत पनि संक्रमण फैलन सक्ने भएकाले विभिन्न ३७ वटा नाकामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको बताए ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले पनि विशेष सतर्कता अपनाउने भएको छ । समितिले मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने निर्णय गरेको हो । विदेशबाट आउने व्यक्तिको स्वास्थ्य जाँचलाई थप व्यवस्थित बनाउँदै आन्तरिकरुपमा पनि स्वास्थ्य जाँच र सचेतनालाई प्रभावकारी बनाउने निर्णय भएको समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए । बैठकले छिमेकी मुलुकमा समेत फैलिएको कोभिड–१९ नेपालमा भित्रिनसक्ने जोखिम रहेकाले सबै संयन्त्र परिचालन गरेर सावधानी अपनाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण भित्रिन नदिन नेपाल–भारतमा पर्ने ३७ सीमा नाकामा पनि चेकजाँच गरिने भएको छ । बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको हो । छिमेकी मुलुकसहित विश्वका ८४ देशमा कोभिड–१९ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ जनामा रोग देखिएकामा तीन हजार २८५ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० जना उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ जना निको भएर घर फर्किसकेका छन् । – रिपोर्टस नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE