पोखरा : निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् ।

क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उनले जानकारी दिए ।

प्रमुख मुनाकर्मीले भने, “चीनबाट आउनुभएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आउनुभएको छ । नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कनुहुन्छ ।” यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उनको भनाइ छ । उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए ।

सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए । सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले जानकारी दिए । हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १९० चिनियाँ र २८० नेपाली कार्यरत छन् । हाल देखिएको कोरोना सङ्क्रमणका कारण एक महिना राम्रोसँग काम हुन नसकेको उनको भनाइ छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले चिनियाँ कामदारको अवस्था सामान्य रहेको र थप सतर्कताका लागि मात्र १० दिन क्वारेन्टाइनमा राख्ने गरेको जानकारी दिए । हाल कोरोना भाइरस र पूर्वरोकथामको लागि १० विषयगत समिति बनाएर कार्य विवरणसहित परिचालन गरिएको डा शर्माले बताए ।

यस क्षेत्रका चार अस्पताल जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा २०, चरक मेमोरियलमा ३०, गण्डकी अस्पतालमा १५ र मनिपालमा १५ गरी कूल ८० आइसोलेसन बेड तयारी अवस्थामा रहेको जानकारी उनले दिए । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखिएको र गण्डकी प्रदेश हालसम्म सुरक्षित रहको उनको भनाइ छ ।

-एभिन्यूज खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0