महामारी जित्ने सार्कको प्रतिबद्धता: नेपालमा संक्रमण देखिएको छैन : ओली

काठमाडौं, ३ चैत । सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध साझा युद्ध गरी जित्ने वाचा गरेका छन्। कोभिड-१९ विरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ आयोजित ‘भिडियो कन्फरेन्स’मा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारी संयन्त्रहरू मजबुत बनाएको बताए। ‘हामीले केन्द्रदेखि स्थानीय तहसम्म तयारी गरेका छौं र राष्ट्रियस्तरमा त्यसको मैले आफैं निरीक्षण गरिरहेको छु’, प्रधानमन्त्री ओलीले भने।

भिडियो कन्फरेन्सको अगुवाइ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको इमानदार सहकार्यको खाँचो रहेको बताए। ‘महामारीको यो युद्ध हामीले सँगै लड्नु र जित्नु छ। दक्षिण एसियाली सहकार्यलाई दुनियाँमा नमुना बनाउनु पनि छ। यसमा हामी सबैको इमानदार सहकार्य खाँचो छ’, मोदीले भने।

‘सार्क लिडर्स अन कमब्याटिङ कोरोना भाइरस : सेटिङ एन एक्जाम्पल फर दी वल्र्ड’ नामक भिडियो कन्फरेन्स गर्न मोदीले गत शुक्रबार आह्वान गरेका थिए। त्यसमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले समर्थन गरेका थिए।

एक घण्टा ४० मिनेट भएको छलफलको नेतृत्व मोदीले गरेका थिए। सार्क पर्यवेक्षक मुलुक चीनको हुपै प्रान्तको वुहानबाट फैलिएको कोरोनाका कारण विश्वभर ६ हजारभन्दा बढीले ज्यान गइसकेको छ। यसविरुद्ध लड्न सहकार्य गर्नुलाई सबै सदस्य राष्ट्रले सकारात्मक रूपमा लिएका छन्।

नेपालमा संक्रमण देखिएको छैन : ओली

प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस नदेखिएको बताए। उनले संक्रमण नफैलियोस् भनेर सरकारले चालेका कदमहरूबारे सदस्य राष्ट्रलाई जानकारी दिए। उनले नेपाल भ्रमण वर्ष २०२० स्थगन, तेस्रो मुलुकका आगन्तुकलाई रोकजस्ता विषयबारे अवगत गराए।

यस क्षेत्रमा अधिक प्राकृतिक औषधि पाइने भएकाले त्यसको फाइदा लिन उनले सुझाव दिए। ‘हात मिलाउनुको सट्टा नमस्कार गर्ने हाम्रो संस्कार विश्वभर फैलिएको छ’, उनले भने, ‘यसो गर्दा भाइरस सर्न पाउँदैन।’ बिरामी परीक्षण र उपचारमा सीमा क्षेत्रका स्वास्थ्य संस्थाहरूको ठूलो भूमिका रहने उनको भनाइ थियो। महामारीविरुद्ध जित हासिल गर्न साझा पहल नै नेपालको चाहना रहेको उनले स्पष्ट पारे।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कन्फरेन्समा सहभागी ओलीले नेपालमा भेटिएका एक मात्र कोरोना संक्रमित बाहिरबाट आएका र ती व्यक्ति निको भएको स्पष्ट पारे। प्रधानमन्त्रीका साथमा उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्री थिए। पछाडि स्वास्थ्यमन्त्री, सल्लाहकार समूह र सरकारी अधिकारी थिए। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE