काठमाडौं, ७ चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावनालाई ध्यान दिंदै सरकारले आवश्यक परे ‘लकडाउन’ समेत गर्नका लागि चारवटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ ।

संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनु पर्ने आँकलन गर्दै गृहमन्त्रालयले यस्तो गृहकार्य गरेको हो ।

त्यसअनुसार संक्रमणका विरामी भेटिए आवश्यकता अनुसार सम्वन्धित शहर वा निश्चित भूभागमा लकडाउन गर्न सकिने गरी खाका बनाउन लागिएको हो। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय बिपत् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा लकडाउन मोडालिटी बनाउने विषयमा छलफल भएको थियो ।

बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले सम्भावित संकटको सामना गर्न सबैखाले तयारी गर्नुपर्ने सुझाव दिएका थिए ।

सहभागी स्रोतका अनुसार, नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीले नेपालमा कोरोना संक्रमण नदेखिएपनि सरकारी तयारी मजबुत र व्यवस्थित बनाउन आवश्यक रहेको र त्यसका लागि लकडाउनसम्मकै कार्ययोजना बन्नुपर्ने बताएका थिए। उनले संक्रमण भित्रिन नदिन ‘नागरिकलाई सेल्टर एट होम’को रणनीति लागू गर्नुपर्ने बताएका थिए ।

बैठकमा सहभागी अधिकांशले सेनाको उक्त प्रस्ताव जायज रहेको र त्यसअनुसार नै तयारी गर्न प्राधिकरणलाई सुझाव दिएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले कोरोनाविरुद्ध सरकारी तयारी प्रभावकारी र मजबुत रहेको तर आवश्यक परे लकडाउन नै गर्ने गरी प्रतिकार्य योजना बनाउन लागिएको बताए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0