कोरोनाका बिरामीलाई बचाउन जब डाक्टर आफैं एम्बुलेन्स चालक बने‘

३ भदौंको राति । दिनभरको थकानपछि केही समय रेष्ट गर्ने तरखरमा क्वारेन्टाइनमा थिएँ । त्यही बेला कोभिड अस्पतालको आईसीयुमा रहेका एक ७४ वर्षीय वृद्धको स्वास्थ्य अवस्था बिग्रेको खबर आयो । खबर सुन्ने बितिकै क्रिटिकल केयर विशेषज्ञ डा. प्रह्लाद कार्कीलाई कृत्रिम श्वासप्रश्वास दिन भेन्टिलेटोरी सपोर्ट आवश्यक पर्न सक्छ भनी तयार हुन आग्रह गरे । क्वारेन्टाइनस्थलबाट अस्पताल झण्डै ४ किलोमिटर टाढा छ । अस्पतालतिर जाने साधन खोजे । केही भेटिन् । हुनत त्यो दिन ड्युटी अर्का चिकित्सकको भएकाले साँझको राउण्डपछि हेर्न भनेको थिए । उपचार गराइरहेका वृद्ध जसलाई प्लाज्मा थेरापी दिने तयारीसमेत गर्दै थियौं । ९ बजेदेखि नै उहाँको अक्सिजन स्याचुरेसन कम हुन थालेको थियो । त्यो जानकारी ड्युटीमा रहेका चिकित्सक डा. प्रशान्त बर्नवालले दिइरहेका थिए । उनलाई आवश्यक परामर्शसहित थप व्यवस्थापनमा लाग्न भनिरहेको थिए । तर, बिरामीको अवस्था झन—झन बिग्रदैं गयो । ‘एसपीओ२’ जति गरेपनि स्याचुरेसन न बढेको र बिरामीको अवस्था झन जटिल हुँदैं गएको खबर आयो ।

अस्पतालसम्म जाने निधो गरे । तर, साधन थिएन । एउटा एम्बुलेन्समात्र थियो । एम्बुलेन्सका चालक इमाम भर्खरै ड्युटीबाट फर्किएका थिए । उनले खाना पनि खाएका थिएनन् । त्यसैले उनलाई जाउ भन्न पनि साह्रै अप्ठ्यारो लाग्यो । रातिको १० बजिसकेको थियो । आफै एम्बुलेन्स चलाएर अस्पताल जाने निधो गरे । मनमा एकछिन डर लाग्यो । किनभने, यसअघि कहिल्यै पनि एम्बुलेन्स चलाएको अनुभव थिएन । पहिलो पटक चलाउन लागेकाले डर लाग्नु स्वभाविक पनि थियो । तर, मनमा रहेको त्यो डरलाई बिरामीको गम्भीर स्वास्थ्य अवस्थाले जित्यो । र, मलाई एम्बुलेन्स चलाउनका लागि मानसिक रुपमा तयार ग¥यो । अर्का मेडिकल अधिकृत एडी सहावुद्धिनलाई सँगै अस्पताल जानका लागि एम्बुलेन्समा बस्न आग्रह गरे ।

नारायणी अस्पतालको चिकित्सक आवासतर्फ लम्किए । केहीबेरमै तयार भएर एम्बुलेन्स लिएर अस्पतालका लागि हिडे । नारायणी अस्पतालको एनेस्थेसिया चिकित्सक डा. प्रह्लाद, डा. एडी र म अस्थायी कोभिड अस्पताल तिर लाग्यौं । ५ मिनेटभित्र स्वयं एम्बुलेन्स चलाउँदैं अस्पताल आइपुगियो । अस्पताल जाने क्रममा एम्बुलेन्स चलाउँदैं डा. उदय र साथमा उनको टिम बाटो बीचबाटैं ड्युटी डाक्टरलाई पीपीई लगाएर आईसीयुमा पुग्दैं गर्न निर्देशन दिए । हामी अस्पतालमा पुग्यौं । आवश्यक सबै रेसेसिएसन गर्दा पनि ती बिरामीको अवस्थामा सुधार आएन । हाम्रा थुप्रै प्रयासका बाबजुद पनि केही साध्य चलेन । त्यो कुरा सम्झिँदा अहिले पनि मन खिन्न हुन्छ । त्यत्रो मेहनत गरेर अस्पताल गयौं । तर, उहाँलाई बचाउन सकेनौं । हुन त उहाँ ७४ वर्षीय कोभिड संक्रमित हुनुहुन्थ्यो । र, पहिलेबाट दम, उच्च रक्तचापबाट पनि पीडित । त्यसैले अवस्था चिन्ताजनक नै थियो । जे भएपनि एउटा चिकित्सकलाई आफूले बिरामी बचाउन नसक्दा थकथकी हुन्छ नै । मलाई पनि त्यस्तै थकथकी भयो । त्यति राति डाक्टरले नै एम्बुलेन्स चलाएर उपचारका लागि आएको देखेका बिरामीका आफन्तहरुले हामीप्रति कृतज्ञता प्रकट गरिरहेका थिए ।

रातमा चिकित्सकले यस्तो अवस्थामा स्वयं एम्बुलेन्स चलाएर आफ्नो बुवाको उपचारका लागि आइदिएको भन्दैं उनका छोरा सुमन श्रेष्ठ भावुक भए । म एम्बुलेन्स चलाएर टिमसहित नै अस्पताल पुगेको थिए । सुमनले भने, ‘तपाईहरुले सकेसम्म प्रयास गर्नुभयो । म हृद्धयदेखि नै धन्यवाद दिन चाहन्छु ।’ यो प्रयासको प्रशंशा मेडिसिन विभागीय प्रमुख डा. वीरेन्द्र प्रधानले पनि गर्नुभयो । हाम्रो टिमले सकेसम्म कोरोना महामारीमा आफूले सकेजति उत्कृष्ट काम गर्ने प्रयास गरेको छ । चिकित्सक आफै एम्बुलेन्स ड्राइभ गरेर बिरामीको ज्यान बचाउन हुइँकिएको थिए । यो हाम्रो टिमको बिरामीप्रति समर्पण हो । हामी स्वास्थ्यकर्मीहरु संक्रमित भएर पनि अरुको सेवामा डटिरहेका छौं ।

महिनौदेखि घरपरिवारलाई मुख नदेखाएर क्वारेन्टाइनमा बसिरहेका छौं । यो हाम्रो समर्पणको समाज र राष्ट्रले मुल्यांकन गर्ला । कोरोना विरुद्धको लडाइमा आफ्नो जीवनको परवाह नगरी रातदिन बिरामीको सेवामा खटिएका हुन्छौं । यति गर्दागर्दै पनि जब हामी तालीको ठाउँमा गाली पाउँछौं । चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि हातपात, कुटपिट र घरबाट निकाल्नेजस्ता कार्य हुन्छन् । त्यस्ता घटनाले मनोबल मात्रै कमजोर हुँदैन्, मन नै धुरुधुरु रुन्छ । लाग्छ, यस्ता घटना कहिल्यै नदोहोरिउन, कहिल्यै नघटुन ।  साभारः हेल्थ आवाज

WRITE COMMENTS FOR THIS ARTICLE