कालापानी कठिन यात्राको भावुक कथाः एक पत्रकारको हठ र जनभावना, हरेक नेपालीले एक पटक हेर्नेपर्ने (भिडियो सहित)

– सुभक महतो, कालापानीबाट फर्केपछि-

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्‍यो। त्यसको जयजयकार भयो देशैभर। तर दार्चुलाको सदरमुकाम खलंगाभन्दा माथिल्लो गाउँमा भने यसो भएन। कारण के रहेछ? मेरो मनमा कुरा खेल्न थाले। सरकारको त्यो ऐतिहासिक कदममा खलंगामाथिको गाउँ अर्थात् ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरु र तिंकरका बासिन्दाको प्रतिक्रिया कस्तो छ?

२०७२ सालमा लिपुलेक जाँदा त्यहाँका नागरिकले भनेका थिए, काठमाडौंमा कालापानीको नारा लगाउँदा हामी भोकै हुन्छौं। नारा लगाउँदा त त्यहाँका नागरिक भोकै बस्नु पर्ने अवस्था आउँछ भने सरकारले नक्सा जारी गरिसकेपछि त्यहाँका नागरिकको अवस्था के होला? त्यही प्रश्नको जवाफ खोज्न असार १० गते बिहान ७ बजे हामी अतिक्रमित क्षेत्रका विषयमा स्थलगत रिपोर्टिङका लागि कालापानीतर्फ लाग्यौँ।


शायद यतिबेला भारतद्वारा अतिक्रमित क्षेत्र जानु हाम्रो टिमका लागि जोखिमपूर्ण हठ हो। तर, भारतले नेपाली भूमि प्रयोग गरेर बनाएको मोटर बाटो उद्घाटन गर्दा नेपाली स्वाभिमानमा लात हानेको आम नेपालीले महशुस गरेकाले त्यो भूमि हेर्न, छुन र अनुभूत गर्न हामी त्यतातर्फ निस्किएका हौँ। हाम्रो यात्रा डायरी यस्तो रह्यो-

पहिलो दिन

देशैभरी कोरोना संक्रमणको दर बढ्दो छ। नेपाल-भारत सीमा नाका बन्द छन्। वर्षा, बाढीपहिरोको असार महिना। त्यसमा पनि नेपालकै बाटो भएर कालापानी पुग्नु दुस्साहस भएको थाहा थियो हामीलाई। आफ्नै मृत्यु माथि विजय प्राप्त गर्दै कालापानीको रिपोर्टिङका लागि सदरमुकाम खलंगाबाट अघि बढ्यो हाम्रो टोली। हाम्रो टिममा मसँगै काठमाडौंबाट प्रकाश गोपाली, दार्चुलाका पत्रकार नरेन्द्र कार्की र हाम्रो सरसामान, खाद्यान बोक्न सहयोग गर्नुहुने ज्ञानसिंह खत्री थिए।

महाकाली नदीको किनारै किनार हामी अघि बढ्न थाल्यौँ। पानीको बहाव महाकाली नदीमा डरलाग्दो देखियो। केही घण्टाको हिँडाइपछि हामी आइपुग्यौँ श्रीबगर। बिहानको खाजा त्यहीँ खाएर फेरि अघि बढ्यौँ। पारी भारततर्फ दुई लेनको कालोपत्र बाटो महाकाली नदीको किनारै किनार भएको देखियो। वारी अर्थात् नेपालको बाटो भने जोखिमपूर्ण। हामी जति-जति माथि हिँड्दै थियौँ, बाटो उति नै जोखिमपूर्ण हुँदै गइरहेको थियो। करिब १६ घण्टाको लगातार हिँडाई पछि साँझ सुन्सेरा पुग्यौं। सुन्सेरा ब्यास गाउँपालिकाको सदरमुकाम पनि हो।

दोस्रो दिन
रातभर विश्राम गरेपछि अर्को दिन एकाबिहानै ६ बजे फेरि हाम्रो यात्रा सुरु भयो। पहिलो दिनको तुलनामा हामी अलि थकित थियौं। बिस्तारै वारीपारीको भूभागको तुलना गर्दै हामी अगाडि बढ्दै थियौं, बाटोमा कोही भेट्यौं भने कुरा गर्थ्यौँ। ‘माथि बाटो छैन तपाइँहरु नजानुस्’, उनीहरुले हामीलाई सचेत गराउँथे, ‘ज्यानलाई खतरा छ हजुर।’

हामी हाँस्थ्यौ। फर्कने त कुरै थिएन। हिँड्दा हिँड्दै हामी पुग्यौं, दुम्लिङ। एउटा सानो होटेल देखियो, त्यसमै रात बिताइयो।

तेस्रो दिन
आज भने बिहानै ५ बजे हाम्रो यात्रा सुरु भयो। करिब दुई घण्टा हिडेपछि हामी कल्जु पुग्यौं। त्यहाँ एउटा सानो पसल पनि देखियो। पसलेलाई खाजा बनाई दिनका लागि आग्रह गर्‍यौँ। त्यहाँ थुप्रै मान्छेहरु पनि थिए, उनीहरुलाई हाम्रो उद्देश्यबारे प्रष्ट पार्‍यौँ। त्यसपछि उनीहरुले भने, माथि महाकाली नदीले नेपालतर्फको सानो पुल (काठले बनेको सामान्य पुल) बगाएको छ। तपाईहरु नजानुस् फर्किनुस्, किन मर्नका लागि जान लाग्नुभयो? माथि त देश नै छैन।

उनीहरुको प्रश्नको जवाफ केही थिएन मसँग। भनेँ, माथिको भिरसम्म तपाईँहरु जानुहुन्छ ?

त्यसपछि एक युवकले भने, ‘सर, तपाईँहरु जतिको जिद्दी मानिस आजसम्म भेटेको छैन।’ उनले रिसाउँदै भने, ‘हिँड्नुस्, मर्दाको साक्षी त हुन्छु नि म।

हामी सँगै हिँड्यौँ।

केही घण्टापछि हामी आइपुग्यौं तम्बाकु भिर। कालापानीसम्मको नेपालतर्फको सबैभन्दा खतरनाक बाटो। यहाँबाट झरेको खण्डमा सिधै महाकाली नदीमा। लाश भेटिन पनि मुस्किल।

भिर देखेरै साथीहरु बीच अगाडि बढ्ने हो कि होइन भने मत विभाजन भयो। कल्जुबाट आएका स्थानीयले हामीलाई भने, ‘जसरी भएपनि सर, तपाईहरुलाई यो भिर पार गराउँछु, तपाईहरु माथि जानुस् देश भनेको के रहेछ, ठ्याक्कै थाहा पाउनु हुन्छ।’

उनको यस्तो ऊर्जाशील कुरा सुनेपछि साथीहरु सबै जनाको मत मिल्यो र हामीले भिर पार गर्‍यौँ। तारमा झुण्डिएर।

र, साँझ हामी आइपुग्यौं दोपाखे।

चौथो दिन

बिहानको खाजा खाएर ७ बजे हामी दोपाखेबाट अघि बढ्यौं। महाकाली पारी भारतले बनाएको राम्रो बाटो र वारी हाम्रोतिर मान्छे हिँड्दा पनि चिप्लिएर महाकालीमा कति बेला पुग्ने हो त्यसको कुनै ग्यारेन्टी छैन। नदीकै छेउमै भारतले अन्तर्राष्ट्रिय कानून विपरित बाटो बनाएको देखियो।

हामी बुँदी आइपुग्यौं। त्यहाँ एउटा घर देखियो। त्यहीँ हामीले खाना बनाइदिन भन्यौं। हाम्रा दार्चुला सहकर्मी नरेन्द्र कार्की र दिपक खातीले भने, यसभन्दा उता भारतको राज छ सर। त्यसपछि मैले काठमाडौंबाट मसँग गएका क्यामेरापर्सन प्रकाश गोपालीलाई क्यामेरा झोलाबाट झिक्न भनेँ। हामी त्यो घरबेटीसँग कुरा गर्न थाल्यौं। करिब एक घन्टामा खाना पाक्यो र हामी खाना खाएर फेरि अघि बढ्यौं। भारत तर्फको बाटो र विकास हेर्दा हाम्रो सरकारले यस क्षेत्रका नागरिकलाई यातना दिएको जस्तो लाग्यो। त्यसपछि हामी आइपुग्यौं, अस्ति मात्रै नेपाली सेनाले बाटो बनाउने जिम्मेवारी पाएको ठाउँ घाँटी बगर।

भारतले पारी सडक बनाउँदा गराएको विस्फोटमा नेपालतर्फको गोरेटो बाटो पुरियो। त्यसपछि करिब ३ सय मिटर बाटो बनाउने ठेक्का नेपाली सेनाले पाएको छ। तर, बुझ्दै जादाँ मजदुरमाथि विभेद गरेको देखियो। बाटो निर्माणका लागि सदरमुकाममा प्रतिदिन २ हजारको दरले रुपैयाँ दिने सहमति भएको रहेछ। तर, त्यो ठाउँमा प्रतिदिन १३ सयको दरले मात्रै ज्याला दिएको पाइयो।

समय पनि बित्दै थियो, अझै घाटीबगरकै भिर पार गर्नु थियो, त्यही भएर हामी त्यहाँबाट पनि अघि बढ्यौं । डोरी कम्मरमा बाँधेर एक-एक जना गरी भिर पार गर्‍यौँ। र, साँझ हामी आइपुग्यौं, कालापानीको सबैभन्दा नजिकको गाउँ छाङरु। क्रमशः

महतो युट्युबमा ‘साझा कथा’ नामको च्यानलका स्टोरी टेलर हुन्। सरकारले चुच्चे नक्सा जारी गरेपछि ‘साझा कथा’ले गरेको कालापानीको स्थलगत रिपोर्टिङ युट्युब र हिमालय टेलिभिजनमा प्रसारण भइरहेको छ।

हेर्नुस् युट्युबमा रिपोर्टिङ भाग १

 

 

साभारः माइसंसार र साझा कथा

 

WRITE COMMENTS FOR THIS ARTICLE