देशभर अविरल वर्षा : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, ८ असोज । आज पनि देशका विभिन्न स्थानमा झरी पर्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । केही दिनयता जारी वर्षा शनिबारसम्म कायम रहने र त्यसपपछि भने क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको पूर्वानूमान शाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रह देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति पनि सबै प्रदेशमा झरी पर्ने सम्भावना छ । धेरै भारी वर्षाको सम्भवना रहेका स्थानहरुका नदीको पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।

यसैवीच नारायणी, तिनाउलगायतका नदीमा जल–सतहले खतरा तह पार गरेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । रुपन्देहीको तिनाउ नदीमा बाढी आएर जलसतहले खतरा तह पार गरेको हो । तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा ठाउँमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै नारायणी नदीमा बाढी आएको छ । देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको साथै बढ्दो अवस्थामा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, रूकुम भएर बग्ने साना नदीमा आकस्मिक बहावका साथै आसपास पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE