‘भारत र नेपाल आकारमा सानो–ठूलो देश भए पनि हैसियत बराबर’ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनुभयो । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उहाँको भनाइ छ । साथै दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताउनुभयो । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

चौधरीसँगको अन्तर्वार्ता सोमबार राति प्रशारण भएको थियो । चौधरी उनै पत्रकार हुन्, जसले केही महिना अघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीसँग उहाले पछिल्लो पटक भारत र चीनबीच प्रतिस्पर्धामा नेपालको भूमिका र भारतसँग सम्बन्ध लगायत विषयमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भने भारत र चीनबीच संवादका लागि नेपालले समन्वयकारी भूमिका खेल्न सक्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो ।

अर्को एक प्रसंगमा लद्दाख, गलवान लगायत सीमा क्षेत्रमा भारतको चीनसँग विवाद भइरहँदा नेपालले नक्सा जारी गर्नुमा आशंका रहेको भन्दै पत्रकार चौधरीले प्रश्न राख्नु भएको थियो । तर ओलीले नेपाललाई लद्दाखसँग लिनुदिनु नभएको जवाफ दिनु भएको थियो । साथै उहाले भारतसँग वार्ताको आह्वान गर्दा भारतबाट प्रतिक्रिया नआएपछि र सडक उद्घाटन गरेपछि आफूहरुले नक्सा जारी गरेको प्रतिक्रिया दिनुभयो । ‘तपाईँको कुरा भड्काउने किसिमको छ । गलवानको अर्को मुद्दा हो । तर भारतलाई वार्ताको प्रस्ताव गर्दा कुनै प्रतिक्रिया आएन । गलवानसँग नेपालको कुनै लिनुदिनु छैन ।

अर्को देशबीच विवाद हुँदा कुनै एकको साथ लिने नेपालको राजनीति हैन । नेपालको राजनीति त सन्तुलनको राजनीति हो,’ प्रधानमन्त्री ओलीले बताउनुभयो । यस्तै भारत र चीनको प्रतिस्पर्धामा नेपालले सधैँ भारतलाई नै दोष देखाउने गरेको भन्ने प्रश्नमा पनि आफूहरुले त्यस्तो नगरेको र यो गलत बुझाइ भएको भन्दै ओलीले छिमेकी देशहरुबीच समान व्यवहार र सम्बन्ध रहेको बताउनुभयो । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणको तयारी गरिरहँदा यस्तो अन्तर्वार्ता सार्वजनिक भएको हो । जी न्युज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई समर्थन गर्ने न्युज च्यानलको रुपमा पनि चिनिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE