काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बिहीबार पनि बसिरहेको छ । दुई दिनदेखि जारी बैठक पार्टी कार्यालय बालकुमारीमा आज पनि सुरु भएको हो। आजको बैठकमा जसपाले शेबरहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको छनोट गर्न सक्ने बताइएको छ।

यसअघि नै कार्यकारिणी समिति बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो। तर मन्त्रीका आकंक्षी धेरै भएपछि त्यसबारेमा आजको बैठकमा पनि छलफल हुने भएको हो।

ad
जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार दलको नेताको निर्वाचन भने केही दिनमा हुने छ। देउवा नेतृत्वको सरकारमा जसपाले ६ वटा मन्त्रालय चाहिने अडान राखेको छ। यदि ६ वटा मन्त्रालय पाएमा जसपाले आज या भोलिसम्म सरकारमा जाने तयारी गरेको छ।

ad
जसपाले डिल्ली बजार जेलमा रहेका टीकापुर नरसंहारका दोषी निलम्बित सांसद रेशम चौधरीलाई पनि समेटेर ३६ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति बनाएको छ। बुधबारको बैठकले निर्वाचन आयोगमा सनाखतका क्रममा तटस्थ बसेका चौधरीसमेत समेट्ने निर्णय लिएको थियो।

हिजोको बैठकले पार्टी एकताका क्रममा आएका शिवलाल थापा मगरलाई पनि केन्द्रीय कार्यकारिणीमा मनोनित गरेको छ। जसपाले यससँगै निर्वाचन आयोगमा आफ्नो पक्षमा सनाखत गरेका ३४ जना तथा चौधरी र थापालाई समेटेर केन्द्रीय कार्यकारिणी ३६ सदस्यीय बनाएको छ।

यसअघि तत्कालीन राजपा र सपाबीच एकता हुँदा जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय थियो। तर निर्वाचन आयोगमा महन्थ ठाकुरको पक्षमा सनाखत गरेका १६ जना अब जसपाबाट कानुनी रुपमै विदा भएका छन्।

नेपालखबरबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0