यौन सम्भोग, उत्तेजना, भ्रम र जान्नैपर्ने पक्षबारे थाहापाउनुहोस् !

थुप्रै मानिस यौन समस्या लिएर अस्पताल या डाक्टरकहाँ आउँछन्। खासगरी सम्भोग इच्छामा कमी आउने, विर्य छिट्टै खस्ने, उत्साह नहुने, इच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने समस्या लिएर। मानिसमा यौन उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ।

जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ। जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित तथा आनन्दित बनाउँछ।

सम्भोग इच्छा नहुने समस्या पुरुष तथा महिलामा हुने एक जटिल समस्या हो। सम्भोग इच्छा नहुँदा बाँझोपन पनि देखा पर्न सक्छ तर सम्भोग इच्छा हुँदैन भन्ने कतिपय बिरामी अन्य रोगबाट पनि अदृश्य रुपमा पीडित भइरहेका हुन्छन्। खासगरी डिप्रेसन रोगका कारण पनि सम्भोग इच्छामा कमी हुन्छ।

हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। सम्भोग मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा इच्छा बढ्ने र चिन्ता पर्दा इच्छा घट्ने हुन्छ।

राम्रो कुरा देख्दा, सुन्दा, सिनेमाका कुरा मनमा आउँदा र प्रफुल्ल हुँदा मानिसको यौन उत्तेजना सकारात्मक हुन्छ र यौनक्रियामा बढी सक्षम देखिन्छन्।

तर, तनावमा परेको वा अनेकौं जटिल समस्या दैनिक क्रियाकलापमा आउँदा यौन इच्छा एकाएक घट्छ। यौन इच्छामा उमेरको पनि ठूलो हात हुन्छ। वयस्कमा यौन इच्छा बढ्दै जान्छ भने उमेर ढल्किँदै जाँदा यौन इच्छा क्रमशः घट्दै जान्छ।

अर्को प्रसंग यौनक्रियामा विर्य छिट्टै खस्ने समस्या लिएर धेरै बिरामी आउँछन्। सामान्यतयः पुरुषमा यौन उत्तेजना छिट्टै आउँछ भने महिलामा ढिलो। सफल यौनक्रियामा पुरुष र महिलाको उत्तेजना एकैचोटी हुनुपर्छ। विर्य छिट्टै खस्ने पुरुषको यौन उत्तेजना चाँडैै हराउँछ र महिलामा यौन उत्तेजना सुरु हुन नपाउँदै यौनक्रिया समाप्त हुन्छ।

त्यसले गर्दा दम्पतीमा मतभेद आउन सक्छ। त्यसैले दुवैको उत्तेजना आउने उपाय सोच्नु जरुरी हुन्छ। खासगरी नवविवाहित दम्पतीमा यस्तो समस्या देखिन्छ।

केही बिरामी यौन इच्छा बढी भएको लक्षण बताउँछन्। यस्ता मानिस कहिलेकाहीँ मनोरोगबाट पनि पीडित हुन सक्छन्। हाइपोमोर्निया तथा मेनिया रोग एवं यौन इच्छा बढ्ने रोगका कारण यस्तो भएको हुन्छ। यस्ता मानिसमा यौन इच्छा बढी हुन्छ र धान्न नसक्दा विभिन्न समस्या आउँछ। हाम्रो समाजमा हस्तमैथुन धेरैले गर्छन् तर गोप्य राखेका हुन्छन्।

खासगरी हस्तमैथुनलाई गोप्य राख्दा किशोरावस्थामा एक मनोवैज्ञानिक असर देखा पर्छ र ‘मैले गल्ती गरेँ’ भन्ने पर्न जान्छ। त्यस्तै निद्रामा स्खलन हुने भयो र कमजोर भइयो भनेर पनि डाक्टरकहाँ आउँछन्। विर्य खस्दा रगतभन्दा खतरा हुन्छ भन्ने धारणाले गर्दा चिन्तित भई धातु रोग भनेर उपचार गर्न आउँछन्। यस बाहेक समलिंगी (पुरुष–पुरुष र महिला–महिला)बीच यौनक्रिया गर्ने आदि समस्या भएका बिरामी पनि गोप्य रुपमा डाक्टरकहाँ आउँछन्।

यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन्। रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन्। यौन समस्या भएका बिरामी सर्जन, स्त्रीरोग विशेषज्ञ, प्रहरी चिकित्सक, छाला रोग विशेषज्ञदेखि मनोरोग विशेषज्ञसम्म पुगेका हुन्छन्। डिल्युजन रोगका बिरामी आफ्नो (श्रीमान्/श्रीमती) लाई शंका गर्दछन्। अनेकौं कुरा तथा प्रमाण जुटाउन खोजीनीति गर्छन् र शंकै-शंकामा डुबेका हुन्छन्।

कति डिप्रेसन रोगका बिरामी मेरो रोग यौन रोग हो भन्दै उपाय खोज्दै हिँडेका हुन्छन्। मेनिया रोगका बिरामीमा यौन उत्तेजना बढी हुन्छ। यस्ता बिरामी उमेरै नपुगी विवाह गर्ने, बहुविवाह गर्ने वा वेश्यावृत्तिको अवस्थामा पनि पाइन सक्छ। सिजोफोर्नियाका बिरामीमा यौन उत्तेजना हुँदैन। उनीहरु यौनबारे अनेकौं गलत विश्वास लिई बसेका हुन्छन्।

यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष

-यौन एक मनोवैज्ञानिक समस्या हो। मनलाई परिवर्तन गरी यौन इच्छा बढाउन र घटाउन सकिन्छ।

-यौन अत्यन्त गोप्य राख्दा अनेकौं मनोवैज्ञानिक समस्या आउन सक्छ।

– यौन समस्या पुरुष र महिला दुवैमा पाइन्छ।

-यौनबारे वैज्ञानिक धारणा आवश्यक छ।

– उपचार गरे यौन रोग निको हुन्छ।

– यौन अंग र यसका कामबारे धेरै मानिसलाई जानकारी छैन।

– प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार मानिसको हरेक गतिविधि यौनबाट सञ्चालित हुन्छ।

– यौनबारे सम्झना गरिरहँदा मनको तनाव घट्छ।

– महिलामा १२–१३ वर्ष र पुरुषमा १४-१५ वर्षदेखि यौन अंगको विकास सुरु हुन्छ।

– विवाहपछि वंशज रक्षा गर्न वा सन्तान जन्माउन यौनक्रियाको महत्वपूर्ण भूमिका रहन्छ। यौनक्रियामा आनन्द नहुँदो हो त मानिसको वंश नै लोप हुन्थ्यो होला।

– महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन भइरहन्छ तर पुरुषमा त्यस्तो हुँदैन। जति बेला पनि चाहना बढ्ने वा घट्ने हुन सक्छ।

– सामान्यतया मन आनन्द हुन मानिसमा यौन चाहना बढ्ने र मनमा तनाव हुँदा यौन चाहना घट्ने हुन्छ।

– यौन चाहना नहुँदा श्रीमान्–श्रीमती विवाह बन्धन टुटेको धेरै उदाहरण छन्। विवाह त भयो तर सँगै नसुत्ने दम्पतीमध्ये कुनै एकमा यौन चाहना नै नहुँदा छोडपत्र भएका घटना छन्।

– यौनबारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा कतिपय मानिस एड्स, हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन्छन्। त्यसैले सुरक्षित यौन सम्पर्क आवश्यक छ।

-मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ। मनमा सोचाइ लिँदा, फिल्मका दृश्यहरु सम्झँदा यौन चाहना बढ्छ र तत्काल यौन सम्पर्क गर्न सक्षम हुन्छन्।

(नशा तथा मनोरोग विशेषज्ञ डा सिपी सेढाईं चितवन मेडिकल कलेजमा कार्यरत छन्)स्वास्थ्य खवर

WRITE COMMENTS FOR THIS ARTICLE