दम्पतीकाे झगडा मिलाउन गएका छिमेकीको हत्या

विराटनगर, ६ भदौ : मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ । पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलका ४३ वर्षीय धनराज लिम्बुको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।

मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते साँझमा झगडा भएको थियो । उनीहरुबीच लामो समयदेखि झगडा हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।

पत्नीसँग झगडा परेपछि रविनले भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय संजय तामाङलाई पनि बोलाएको प्रहीले जनाएको छ । पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला रविनका जेठान भाग्य तामाङले मिक्लाजुङ–७ का धनराज र ५५ वर्षीय दुर्गाबहादुर कार्कीलाई लिएर बहिनी ज्वाइँकोमा पुगेको थिए । भाग्य मासु पसल गर्ने गरेको र त्यही मासु किन्न दुर्गा र धनराज पुगेका थिए । जेठानलाईसमेत रविनले फोन गरेर बोलाएको र बहिनीको झगडा भएको मिलाउन जाउँ भनी भाग्यले त्यहाँ लिएर गएको खुलेको प्रहरीले जनाएको छ ।

श्रेष्ठकाअनुसार झगडा नगरी मिलेर बस्न पति–पत्नीलाई सुझाव दिएका धनराज र दुर्गाबहादुरलाई पारिवारिक कुरामा बाहिरका व्यक्तिहरु प्रवेश गरेको भन्दै रविन, आइतराज र संजयले दाउराले कुटपिट गरेर घाइते बनाएका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका धनराजलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो । उनको उपचारका क्रममा शनिबार राति मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए । आक्रमणमा परेर सामान्य घाइते भएका दुर्गाबहादुर उपचारपछि घर फर्किसकेको छन् । रविन, आइतराज र संजयले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE